मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 23 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:४९:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मंगलबार दिउँसो मात्रै विद्याले भनेकी थिइन्–चुप लागेर बस्दिनँ, माझकिराँतकी छोरी हुँ, खुट्टा कमाउँदिनँ

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:४९:oo

एमाले केन्द्रीय कार्यालय च्यासलमा मूलत: विधान महाधिवेशनकेन्द्रित एजेन्डामा छलफल चलिरहँदा पूर्वराष्ट्रपति विद्या भण्डारीले भंगालस्थित निजी निवासमा मंगलबार अचानक ‘मिडिया ब्रिफिङ’ गरिन् । पार्टी अध्यक्ष केपी ओली र उनको समूहले भण्डारीको सक्रिय राजनीति रोक्न सम्पूर्ण शक्ति लगाइरहेका वेला उनले च्यासललाई फेरि आफ्नो ‘कमब्याक’ योजनाको प्रस्ट सन्देश दिएकी छिन् । 

करिब दुई घण्टा लामो संवादमा उनले एमालेभित्रको शक्तिसंघर्ष, आफ्नो भूमिकामाथि उठेका शंका र अध्यक्ष ओलीको रणनीतिविरुद्ध मुखर रूपमा धारणा राखिन् । उनले ‘माझकिराँतकी छोरी हुँ, खुट्टा कमाउँदिनँ’ भनेर ओली अवरोधसँग आवश्यक संघर्षको नीति पनि सार्वजनिक गरिन् । यी सबै घटनाक्रमले ओलीसँग लामो सम्पर्क र संवादमै रहेकी भण्डारी बैठक चलिरहेकै बिचमा किन मुखर रूपमा प्रस्तुत भइन् ? भन्ने प्रश्न जन्माएको छ । 

आगामी २०–२२ भदौसम्म डाकिएको विधान महाधिवेशनको तयारीका लागि एक सातादेखि सचिवालय, पोलिटब्युरो हुँदै दुई दिनदेखि केन्द्रीय कमिटी बैठक जारी छ । यही सेरोफेरोमा ओली र भण्डारी समूहबिच शीतयुद्ध चलेको छ । च्यासलको बैठकमै हलचल मच्चिने गरी भण्डारीले पोखेको पीडाले आगामी दिनमा एमालेभित्रको शक्तिसंघर्ष थप पेचिलो हुने जनाउ दिएको छ ।

मंगलबार पौने १ देखि करिब साढे दुई बजेसम्मको लामो कुराकानीमा भण्डारीले राष्ट्रपतिबाट अवकाशपछिका घटनाक्रम, एमालेमा पुनरागमनका लागि लिइएको निर्णय र त्यसपछिको क्रिया–प्रतिक्रियाबारे शृंखलाबद्ध ब्रिफिङ गरिन् । ओलीसँग च्यासल कार्यालयमा भएको पछिल्लो भेटवार्ता, बैठकहरूमा ओलीको प्रस्तुति र उनको योजनाबारे सुरुमै सञ्चारकर्मीहरूले पृष्ठभूमिसहित जिज्ञासा राखेपछि भण्डारीले कालो चिया पिउँदै ब्रिफिङ सुरु गरेकी थिइन् । 

उपस्थित सञ्चारकर्मीहरूका अनुसार राष्ट्रपति बन्ने आफ्नो योजना नभए पनि ओलीको आग्रह र पार्टीको हितलाई समेत मध्यनजर राखेर रोजाइभन्दा पनि बाध्यताले पद सम्हाल्न पुगेको विषयबाट उनले ब्रिफिङ सुरु गरेकी थिइन् । ‘राष्ट्रपति बन्ने मेरो योजना थिएन, तर पार्टीको आग्रह र परिस्थितिको बाध्यतामा पद सम्हालेकी हुँ,’ उनले भनिन् । राष्ट्रपतिमा रहँदा पार्टी नीतिको सम्मान गर्दै इमानदारीपूर्वक भूमिका निभाएको दाबी गर्दै उनले थपिन्, ‘त्यति वेला नेताहरूले मलाई प्रतिस्पर्धी ठानेर आँखाको कसिंगर बनाएका थिए ।’

भण्डारीको थप भनाइ थियो, ‘एउटा शक्तिशाली कम्युनिस्ट पार्टीको महिला अध्यक्ष भएर इतिहास बनाउने मौका थियो नि त्यो । तर, मैले पार्टीको आवश्यकता र नेताहरूको सहजतालाई बुझ्नुपथ्र्यो । मैले त्यही हिसाबले निर्णय लिएकी हुँ ।’ 

उनले शुभेच्छुक नेता–कार्यकर्ताले मात्र होइन परिवारका सदस्यहरूले समेत जननेता मदन भण्डारीको सपना साकार पार्नका लागि पनि राष्ट्रपति पदभन्दा पनि सक्रिय राजनीतिमै रहन सुझाव दिँदादिँदै ओलीको सुझाव ग्रहण गर्दै राष्ट्रपति बनेको प्रसंग सुनाइन् । ‘जननेता मदन भण्डारीको सपना साकार पार्नका लागि पनि तपाईंले पार्टीकै नेतृत्व गर्नुपर्छ, अहिले सक्रिय राजनीति छोड्ने उमेर र समय दुवै होइन भनेर छोरीहरूले पनि सुझाव दिएका थिए । तर, मैले पार्टी निर्णयलाई शिरोपर गरेर अन्तत : राष्ट्रपति बन्ने निर्णय लिएँ,’ उनको ब्रिफिङ थियो । 

आफ्नो ब्रिफिङमा भण्डारीले राष्ट्रपतिको कार्यकालपछि राज्यबाट प्राप्त कुनै सेवा–सुविधा नलिएको र ओलीकै जानकारीमा दुई वर्षअघि नै पार्टी सदस्यता नवीकरण गरेको सुनाइन् । तर, पछिल्ला घटनाक्रमले ओली सशंकित भएको उनले जनाइन् । पार्टी सदस्यता नवीकरणसँगै आफ्नो देश दौडाह, नयाँ वर्षको शुभकामना सन्देशपछि भने ओली सशंकित बनेको आशयसहित उनले ब्रिफिङ सुनाइन् । 

पोलिटब्युरो बैठक चलिरहेकै बिचमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमबाट आफ्नो सदस्यता ‘पेन्डिङ’मै रहेको तथा पार्टी विधानले नयाँ सदस्यता लिनुपर्ने व्यवस्था गरेको ब्रिफिङ गरेपछि आश्चर्यचकित भएर तत्काल अध्यक्षसँग टेलिफोन संवाद गर्ने प्रयास गरेको उनको भनाइ थियो । ‘अध्यक्षसँग सम्पर्क भएन, पछि उहाँसँग कुराकानी भएपछि उहाँले बालुवाटारमै बोलाउनुभएको थियो । तर, मैले पार्टी कार्यालय नआएको लामै समय भयो, त्यहीँ भेटौँ भनेपछि उहाँ पनि राजी हुनुभयो,’ भण्डारीको ओलीसँग च्यासलमा भएको भेटको पृष्ठभूमि सुनाइन् । 

त्यसपछि भण्डारीले ओलीको गतिविधिको प्रतिवाद मात्रै गरिनन्, आफू पछि नहट्ने गरी एमालेको राजनीतिमा फर्किएको सन्देश दिँदै जवाफ पनि फर्काइन् । र, आफ्नो भावी रणनीतिबारे सुनाइन्– ‘जुनसुकै परिस्थितिमा पनि खुट्टा कमाउँदिनँ ।’ 

भण्डारीले ओलीसँगको सम्बन्धमा कहाँबाट दरार आयो भन्ने पनि खुलासा गरिन् । उनका अनुसार नयाँ वर्षका अवसरमा शुभकामना सन्देश दिएदेखि बिस्तारै सम्बन्ध टाढिँदै गएको उनले बताइन् । ‘म राष्ट्रपति हुँदा नै सक्रिय राजनीतिमा आउने भन्थेँ, राष्ट्रपतिबाट हटेपछि एमालेका नेताहरू निवासमा आउने र तपाईं अघि बढ्नुपर्छ भनिरहेका थिए, म पनि सक्रिय राजनीतिमा फर्कने योजनामा थिएँ,’ भण्डारीले भनिन्, ‘नयाँ वर्षमा शुभकामना दिएँ, त्यसले ओलीजी चिढिनुभयो । त्यसपछि असार १४ गते मदन भण्डारीको जन्मजयन्तीको अवसरमा मैले सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी हुँ ।’ पछिल्लो घोषणा ओलीको जानकारीमै भएको उनले बताइन् । 

भण्डारीले ओलीले जननेता मदन भण्डारीको हीरकजयन्ती कार्यक्रमलाई समेत अवरोध गरेको आरोप लगाइन् । ‘वरिष्ठ उपाध्यक्ष (ईश्वर पोखरेल) लाई हीरकजयन्ती कार्यक्रमको संयोजक बनाउनुपर्‍यो भनियो, तर अध्यक्षजीले पदाधिकारीको पार्टीमै काम हुन्छ, अन्य काममा लगाउन हुन्न भन्ने जवाफ दिनुभयो । त्यसपछि डोरमणि पौडेलको नेतृत्वमा समिति बनाइएको हो । उहाँले जनसंगठनका मानिस पनि हीरकजयन्ती मनाउने समितिमा बस्न हुँदैन भन्नुभयो,’ भण्डारीले भनिन् ।

भण्डारीले ओलीको नेतृत्वशैलीप्रति गम्भीर आपत्ति जनाइन् । ‘पार्टीमा अब अरूले केही चलाउन सक्दैनन् भन्ने भ्रम उहाँमा छ । अरू सबै केटाकेटीजस्ता लाग्न थालेको छ,’ उनले भनिन् । उनले दुई कार्यकाल र ७० वर्षे सीमा आफैँले ल्याएर अहिले त्यही सीमालाई लत्याउने प्रवृत्ति देखिएको आरोप लगाइन् । ‘पार्टीको विधानले व्यवस्था गरेको दुई कार्यकाल र ७० वर्षे उमेरहद उहाँले पहिला लोकतान्त्रिक हिसाबले प्रस्तावका रूपमा ल्याउनुभयो, तर नेतृत्वमा पुगेपछि आफ्नै विचार बिर्सिनुभयो,’ भण्डारीले भनिन् । 

भण्डारीले सक्रिय राजनीतिमा फर्कने निर्णय पहिल्यै ओलीसँगको समन्वयमा लिएको जनाइन् । आफू पार्टीमा फर्किने र सक्रिय रूपमा राजनीतिमा आउने भन्नेबारे यसअघि नै पटक–पटक अध्यक्ष ओलीसँग कुरा भए पनि अहिले आएर उहाँले दिएका प्रतिक्रियाप्रति अचम्म लागेको उनले सुनाइन् । उनले १४ असारमा पनि राष्ट्रिय सभागृहमा पार्टी सदस्यता नवीकरणबारे सार्वजनिक रूपमा बोल्दै सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्नेबारे भन्दै छु भन्नेसमेत जानकारी गराएको बताइन् । ‘त्यो वेला उहाँले हुन्न भन्नुभएन । नकारात्मक कुरा गर्नुभएन । ठिकै छ, भन्नुभएको हो,’ उनले भनिन् । 

जबजको मर्म र भावनाअनुसार पार्टी नचलेको बताउँदै वडादेखि प्रदेश, केन्द्र र मन्त्री एवं राजदूतसम्म पुग्नेले जबजको भावनाअनुसार काम गर्नुपर्ने धारणा राखिन् । उनले विचारलाई बलियो बनाउनुपर्नेमा त्यसो हुन नसकेको गुनासो गरिन् । ‘सफ्ट पावर भनेकै विचार हो । कुनै हुरी, बतास उडेर आउँदा पनि उभिने भनेको विचारले हो,’ भण्डारीले भनिन्, ‘विचार भनेको त बन्दुकको नालले पनि ढल्दैन । हामीले कार्यकर्तालाई विचारले सुसज्जित गर्दै जानुपर्छ ।’ विधानले गरेको व्यवस्थालाई संशोधन गरेको बारेमा भण्डारीले सबै नेताहरू ७० वर्षे उमेरनजिक पुगेकाले उनीहरू चुप लागेको बताइन् । 

संवादको समापनमा एमाले विचार र जबजको मर्मबाट विचलित हुँदै पद र पैसाको बाँडफाँटमा सीमित भएको सुनाइन् । र, भनिन्, ‘पद र पैसा बाँडेर कतिन्जेल पार्टी चल्छ ? विचार गुमेपछि पार्टी पनि गुम्छ । म अब चुप लागेर बस्दिनँ । म राजनीतिमा अघि बढेँ, माझकिराँतकी छोरी हुँ, खुट्टा कमाउँदिनँ । ’