
नेता बिपी कोइरालाको विचार र सिद्धान्तलाई बिर्सँदा नेपाली कांग्रेस विचलित भएर कमजोर बन्न पुगेको विचार मोरङका कांग्रेस नेताहरूले व्यक्त गरेका छन्।
बिपी कोइरालाको ४३औँ स्मृति दिवसमा मंगलबार विराटनगरमा नेपाली कांग्रेस मोरङले आयोजना गरेको कार्यक्रममा नेताहरूले बिपीको आदर्श, सिद्धान्त र विचारलाई आत्मासात गरेर अगाडि नबढे कांग्रेस अझै कमजोर हुने बताए।
कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले बिपीले अघि सारेको राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्तलाई कांग्रेसले भुलेकै कारण पार्टी विचलित र व्यक्तिवादी प्रवृत्ति हाबी हुँदै गएको बताइन्। गरिबको जीवनस्तर उठाउन बिपीले देखेको सपना अझै साकार नभएकाले कांग्रेसले बिपीको सिद्धान्त र विचारलाई आत्मसात गरेर अगाडि बढनुको विकल्प नभएको उनले प्रस्ट्याइन्।
केन्द्रीय सदस्य अमृत अर्यालले बिपीले अघि सारेका आदर्श, विचार र सिद्धान्तलाई मात्रै आत्मसात गरे कांग्रेसले जुनसुकै निर्वाचनमा पनि सहज रूपमा जित हासिल गर्ने दाबी गरे। कांग्रेसलाई हराउन कांग्रेसले नै लाग्दा पार्टी आफैँ कमजोर भएको उनले स्पष्ट पारे। अर्का केन्द्रीय सदस्य भीम पराजुलीले बिपीले प्रतिपादन गरेका सिद्धान्तलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए।
कार्यक्रममा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले पार्टीभित्र अनुशासनहीनता मौलाउँदै गएको चर्चा गरे। उनले प्रजातन्त्र स्थापना भएको ७ दशक पूरा हुँदासमेत बिपीले देखेको सपना पूरा नहुनु विडम्बना भएको बताए।
कांग्रेस मोरङका वरिष्ठ नेता वसन्त भट्टराई, मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बू, उपसभापति भक्तिनाथ माझी, सचिव मोदराज घिमिरे, पूर्वकोषाध्यक्ष गोपाल थापा, महिला संघकी अध्यक्ष शान्ता रिजाल, विराटनगर कांग्रेसका सभापति दीपक चापागाईं, वडा नम्बर ६ का सभापति राम ढकाल, प्राध्यापक मनोज साहलगायतले बिपीले देखाएको बाटोमा हिँडाउन सके कांग्रेसले जित सुनिश्चित गरेर सबैभन्दा ठुलो पार्टी बन्न कसैले रोक्न नसक्ने विचार व्यक्त गरे।