
कपिलवस्तु जिल्लास्थित कृष्णनगर र सुठौली भन्सारले गएको आर्थिक वर्ष ०८१/८२ मा सवा ६ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेका छन्।
भन्सार विभागका तथ्यांकअनुसार उक्त दुई भन्सारबाट कुल ६ अर्ब २६ करोड ८५ लाख ८३ हजार रुपैयाँ राजस्व उठेको हो। सरकारले दुवै भन्सारका लागि ६ अर्ब १३ करोड ३४ लाख रुपैयाँ वार्षिक लक्ष्य तोकेकोमा लक्ष्यभन्दा बढी संकलन भएको छ।
कृष्णनगर भन्सारको लक्ष्य ९८ प्रतिशत पूरा
देशका प्रमुख १० भन्सारमध्ये कृष्णनगर भन्सारले एक वर्षमा पाँच अर्ब २३ करोड २० लाख २५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यो भन्सार नाकालाई गत वर्ष पाँच अर्ब ३२ करोड ५६ लाख ९० हजार रुपैयाँको लक्ष्य दिइएको थियो।
कृष्णनगर भन्सारका सूचना अधिकारी लेखनाथ भट्टराईका अनुसार कार्यालयले ९८.२५ प्रतिशत लक्ष्य पूरा गर्न सफल भएको जानकारी दिए। जुन अघिल्लो वर्षको तुलनामा १३.५ प्रतिशतले बढी हो। कृष्णनगर नाकाबाट सिमेन्ट उद्योगका लागि कोइला, जिप्सम, स्पन्ज आइरन, लेटराइट आइरन ओर, चामल, फलफूल तथा वियर उद्योगका कच्चा पदार्थ आयात हुने र सिमेन्ट, क्लिंकर, जडीबुटी, हस्तकलालगायतका वस्तु भारत निर्यात हुने गरेको छ।
भन्सारमा अवैध रूपमा भित्र्याइएका सामग्री पक्राउ गरी लिलाम गरेर एक करोड १२ लाख रुपैयाँ राजस्व संकलन भएको भट्टराईले बताए।
सुठौली भन्सारमा १२९ प्रतिशत लक्ष्य प्राप्त
सात वर्षअघि स्थापना भएको सुठौली भन्सारले पनि लक्ष्यभन्दा अत्यधिक राजस्व संकलन गर्न सफल भएको छ। सुठौली भन्सारका प्रमुख नारायणप्रसाद गैरेका अनुसार कार्यालयले एक अर्ब तीन करोड ६५ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। जुन लक्षित रकम ८० करोड ७ लाख ७१ हजारको १२९.४५ प्रतिशत रहेको उनले बताए।
सुठौली भन्सारबाट सिमेन्ट उद्योगका लागि खरानी, जिप्सम, कोइला, बिटुमिन, खाद्यान्न, धान, चामल, फलफूल र तरकारी आयात हुने गरेको छ।
प्रमुख गैरेका अनुसार क्वारेन्टिन स्थापना, उद्योगिक कच्चा पदार्थको सहज आपूर्तिले राजस्व संकलनमा उल्लेखनीय वृद्धि भएको र चालू आर्थिक वर्षदेखि सुठौलीमा धर्मकाँटा सञ्चालनमा ल्याइएको बताए।
चोरी तस्करी नियन्त्रणमा कडाइ : प्रजिअ तामाङ
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जिल्लामा भन्सार राजस्व संकलनमा देखिएको उल्लेखनीय वृद्धिको श्रेय भन्सार कर्मचारी तथा सुरक्षा निकायको सक्रियता र चोरी–तस्करी नियन्त्रणका लागि गरिएको कडाइलाई रहेको बताएका छन्। पछिल्ला वर्षहरूमा कपिलवस्तुमा अवैध कारोबार नियन्त्रण गर्न सुरक्षाकर्मीहरूले निगरानी तथा कारबाहीलाई तीव्र पारेको बताउँदै उनले त्यसको प्रत्यक्ष प्रभाव भन्सार राजस्वमा देखिएको बताए।
जिल्लामा राजस्व चुहावट नियन्त्रण गर्न थप प्रभावकारी कदम चालिएकाले पनि भन्सार कार्यालयहरूलाई लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सहयोग पुगेको उल्लेख गरे।