
नेपालबाट प्रतिनिधित्व गरेको हेल्प नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियन्स लिग २०२५ मा तेस्रो जित निकालेको छ । हेल्प नेपालले सोमबार बलियो काजकस्तानको जेटेएचके भलिबल क्लबलाई ३–२ को सेटमा हराएको हो । हेल्प नेपाल चार खेलबाट ६ अंक बटुलेको छ । यसअघि नेपाली लिग च्याम्पियन हेल्प नेपाल आफ्नो तेस्रो खेलमा कीर्गिस्तानको बिस्केक क्लबसँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित भएको थियो ।
यसपटक भने हेल्प नेपालले दोस्रोपटक पाँच सेटमा बाजी मार्न सफल भयो । हेल्प नेपालले महŒवपूर्ण दुई अंक बटुल्दै फाइनलको आशा जीवितै राखेको हो । यसअघि पहिलो खेलमा हेल्प नेपालले घरेलु टोली धिवेही सिफाइन्स क्लबलाई ३–२ ले हराएको थियो । दोस्रो खेलमा आयोजक माल्दिभ्सकै क्लब एचडिसीलाई ३–१ ले पाखा लगायो ।
हेल्प नेपालविरुद्ध अन्तिम सेटमा पराजित काजकस्तानको क्लबले एक अंक बटुलेको छ । नेपाली टोलीसँग पराजित भए पनि यो टोली शीर्ष स्थानमै छ । अंकतालिकाको शीर्ष दुई स्थानमा रहने टोली सीधै फाइनलमा पुग्नेछन् । हेल्प नेपाल साबिक उपविजेता टोली हो । काठमाडौंमा भएको फाइनलमा हेल्प नेपाल भारतीय प्राइम भलिबल लिग क्याम्पियन क्यालिकट हिरोजसँग पराजित भएको थियो ।
उत्सव खड्काको प्रशिक्षणमा रहेको हेल्प नेपालले पाकिस्तानबाट उस्मान फर्याद अली, मुराव जेहान र मोहम्मद कासिफ नभिदलाई अनुबन्ध गरेको छ । नेपाल पुलिस क्लबबाट सफल विश्वकर्मा, रविन नगरकोटी, रवीन्द्र चन्द र एपिएफका लिबेरो विनोद चन्द हेल्प नेपालमा आबद्ध छन् ।
सन्तोष राई, चिरञ्जीवी खड्का, सुवास कुँवर, मनीष मानन्धर, यमबहादुर भण्डारी र विष्णुबहादुर क्षेत्री हेल्प नेपालको प्रतिनिधित्व गरिरहेका छन् । सेन्ट्रल एसियन भलिबल एसोसियन (काभा)को आयोजनामा भइरहेको प्रतियोगिता एकल राउन्ड रोबिनका आधार खेल सञ्चालन भइरहेको छ । काभा च्याम्पियन्स लिगको विजेताले सन् २०२६ को एसियन क्लब च्याम्पियनसिप खेल्ने अवसर पाउनेछ ।
१७ देखि २३ जुलाईसम्म चल्ने प्रतियोगितामा सेन्ट्रल एसियाका पाँच राष्ट्रको सहभागिता रहेको छ । राउन्ड रोबिन लिगको शीर्ष दुई टोलीबिच उपाधि भिडन्त हुँदा तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् ।
लगातार दुई खेल पाँच सेट
शीर्ष स्थानमा रहेको काजकस्तानको टोलीविरुद्ध हेल्प नेपालले उत्कृष्ट प्रदर्शन गर्यो । निर्णायक तथा पाँचौँ सेटमा सम्हालिएर खेल्दा हेल्प नेपालले महŒवपूर्ण अंक जोड्न सफल भयो । चार सेटको समाप्तिसम्म दुवै टोलीले २–२ को बराबरी गरेका थिए । त्यसपछि पाँचौँ सेटबाट विजेताको छिनोफानो भयो । जसमा हेल्प नेपालले १५–११ ले बाजी मार्यो । पाकिस्तानी खेलाडीहरूको उत्कृष्ट प्रदर्शनमा हेल्प नेपालले सर्भिस, रिसिभ र डिफेन्स बलियो पकड बनाएको थियो । काजकस्तानको टोलीले पहिलो सेटमा चुनौती प्रस्तुत गरे पनि हेल्प नेपाल २५–२२ ले विजयी भयो ।
पहिलो सेटमा खासै गल्ती नगरेको हेल्प नेपालले त्यसपछिका दुई सेटमा कमजोर प्रदर्शन गरेको थियो । एकपछि अर्को गल्ती गर्दैै जाँदा हेल्प नेपालले दोस्रो सेट १८–२५ को अन्तरमा गुमायो । उत्कृष्ट पुनरागमन गरेको काजकस्तानको टोलीले तेस्रो सेट जित्न कडा मिहिनेत गरेको थियो । यस सेटमा हेल्प नेपालले निरन्तर रूपमा विपक्षीमाथि दबाब राखेको थियो । यद्यपि, अन्तिममा सामान्य गल्ती गर्न पुग्दा उसले २३–२५ ले सेट गुमाएको थियो ।
लगातार दुई सेट गुमाएको हेल्प नेपाललाई खेलमा टिकिरहन चौथो सेट जित्नुपर्ने दबाब थियो । योजनाअनुरूप हेल्प नेपालले यसपटक कुनै पनि गल्ती गरेन । कोर्टमा संगठित रूपमा प्रतिस्पर्धा गरेको हेल्प नेपालले चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्यो । यस सेट हेल्प नेपाल २५–१८ ले विजयी भयो ।