मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 22 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मेलम्ची रोकिएपछि उपत्यकामा खानेपानी अभाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:oo:oo

मेलम्ची खोलाको खानेपानी बन्द गर्दा काठमाडौैं उपत्यकाको खानेपानी वितरणमा समस्या देखिएको छ । मौसम प्रतिकूलता तथा निरन्तर वर्षाका कारण मेलम्चीको पानी वितरण पूर्ण रूपमा बन्द गरिएको छ । 

दैनिक २० करोड लिटर पानी मेलम्चीबाट आउने गरेकोमा १५ असारदेखि नै मेलम्ची खोलाको पानी पठाउन बन्द गरिएको हो । लेदो र गेग्रानसहितको पानी आएपछि टनेल ढोका बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । 

यद्यपि, मेलम्ची खोलाको पानी वितरण बन्द गरिए पनि नजिकै रहेको रिबर्मा खोलाबाट भने दैनिक ६ करोड लिटर सोही टनेलबाट वितरण भइरहेको मेलम्ची खानेपानी विकास समितिका प्रमुख रत्न लामिछानेले बताए । ‘मेलम्ची खोलाको पानी पूर्ण रूपमा धमिलो आयो, त्यसपछि नजिकै रहेको रिबर्मा खोलाको पानी मेलम्चीकै टनेलबाट पठाएका छौँ, तर त्यो पुग्दो छैन, दैनिक ६ करोड लिटर पठाउने गरेका छौँ,’ उनले भने, ‘हामीले ट्रिटमेन्ट गरेर पानी पठाएका छौँ, सुन्दरजलीसम्म हामी हेर्छौँ, त्यसपछि केयुकेएलले हेर्छ, सुन्दरीजलमा रहेको ट्रिटमेन्ट प्लान्टबाट पानी प्रशोधन गरेर मात्रै पठाउँछौँ, धमिलो पानी पठाइएको छैन ।’ 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले मेलम्चीबाट आउने पानीको मात्रा घटेको र धमिलो पानी आउने अवस्थाका कारण केही स्थानमा पानी वितरण बन्द भएको छ । केयुकेएल ललितपुर शाखाले सूचना जारी गर्दै खुमलटार ट्यांकीमार्फत वितरण हुने पानी आपूर्ति अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराएको छ । ‘मौसम सुधार भई पानीको प्रवाह पुन: नियमित भएपछि प्रणाली स्थिर भई मात्र आपूर्ति पुन: सुरु गरिनेछ,’ केयुकेएल ललितपुरले जारी गरेको सूचनामा भनिएको छ, ‘असुविधाका लागि हामी विनम्रतापूर्वक क्षमाप्रार्थी छौँ र सेवाग्राही महानुभावहरूको समझदारी तथा सहकार्यका लागि हार्दिक अनुरोध गर्दछौँ ।’