मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 22 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o५:५o:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : नयाँ गुँड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o५:५o:oo

एउटा रुखमा ढुकुरका जोडी एक पुरानो गुँडमा बस्थे । गर्मी सकिएर जाडो सुरु हुने समय आउन लागिसकेको थियो । त्यसैले, दुवै भालेपोथीले सल्लाह गरेर जाडोको समयमा समस्या नहोस् भनेर सोही रुखको अर्को हाँगामा एउटा नयाँ, बलियो र न्यानो गुँड बनाउने निश्चय गरे । 

भोलिपल्ट बिहान उठ्नासाथ पूर्वनिर्धारित योजनाअनुसार नै ढुकुरका भालेपोथी नजिकैको खेतमा पुगेर मसिना झिँजामिजा संकलनमा व्यस्त भए । दुवैले दिनभर खुब मिहिनेत गरे र साँझसम्ममा एउटा सानदार गुँड तयार गरे । आफ्नो परिश्रम सफल भएकोमा उनीहरू दंग परे । दुवैलाई पुरानो गुँडको पनि निकै माया थियो । त्यसैले, उनीहरूले अन्तिमपल्ट त्यो रात पुरानै गुँडमा बिताउने सल्लाह गरेर पुरानै गुँडमा सुते । भोलिपल्ट बिहानै उनीहरू आफ्नो पुरानो गुँड छाडेर नयाँमा सर्ने निश्चयसाथ नयाँ गुँडतिर गए । तर, त्यहाँ पुगेपछि आफ्नो नयाँ गुँड देख्दा उनीहरू झस्किए । कुनै अर्कै दुष्ट पक्षीले उनीहरूको त्यति सुन्दर गुँड भत्काएर तहसनहस पारिदिएको थियो । त्यो देख्दा ढुकुरका जोडीका आँखा एकसाथ रसाए । एकछिनको मौन सन्नाटापछि भालेले भन्यो, ‘अब त्यो धुन्धुकारी पक्षीलाई खोजेर सजाय दिनैपर्छ, बुझ्यौ प्रिये ?’ पोथीले भालेको मुखतिर हेरेर भनी, ‘बेकारमा आफ्नो ऊर्जा त्यो दुष्टको खोजी गरेर र झगडा गरेर किन सिध्याउनु ? 

बरु दुवै मिलेर हिजोभन्दा बढी परिश्रम गरौँ, त्योभन्दा राम्रो गुँड साँझसम्म बनिहाल्छ नि ! एउटा असफलताबाटै त अर्को सफलताको ढोका खुल्छ होइन र ?’ भालेलाई पनि पोथीको तर्क ठिक लाग्यो । दुवैले पहिलो दिनभन्दा बढी नै परिश्रम गरे । अन्त्यमा दिन नढल्दै उनीहरूले अघिल्लो दिनको भन्दा पनि आकर्षक, बलियो र न्यानो गुँड तयार गरे र त्यसै दिनदेखि नयाँ गुँडमा सरे ।