
अर्थ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई १० अर्ब ऋण उठाउन दिएको सहमति ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमै अड्किएको छ । २ असारमै अर्थ मन्त्रालयले प्राधिकरणलाई १० अर्ब अल्पकालीन ऋण उठाउन दिने सहमति दिएको थियो । त्यसलगत्तै ऊर्जा मन्त्रालयमा पठाइएको सहमतिपत्र त्यहाँबाट अझै विद्युत् प्राधिकरणमा पुगेको छैन ।
प्राधिकरणले चालू आर्थिक वर्ष ०८१/८२ भित्रै ऋण लिएर आफ्नो दायित्व भुक्तानी गर्ने लक्ष्य लिएको छ । चालू आव सकिन अब ११ दिन मात्रै बाँकी छ । तर, ऊर्जा मन्त्रालयले अझै प्राधिकरणलाई ऋण उठाउने सहमतिपत्र ‘फरवार्ड’ नगरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालले ऋण उठाउने सम्बन्धमा सरकारी सहमतिको पत्र प्राप्त नभएको बताए । ‘अर्थ मन्त्रालयले ऋण लिन सहमति दिने निर्णय गरेको भन्ने त जानकारी पाएका छौँ । तर, पत्र आइसकेको छैन,’ उनले भने ।
अर्थ मन्त्रालयले आफूमातहतको संस्था नभएका कारण सीधै प्राधिकरणलाई यस्तो पत्र पठाउन मिल्दैन । त्यसमा तालुक मन्त्रालय ऊर्जा मन्त्रालयमार्फत पठाउने हो । यस्तो विषयमा ऊर्जा मन्त्रालयले सामान्य औपचारिक निर्णय गरेर अर्थ मन्त्रालयको निर्णय कार्यान्वयन गर्न प्राधिरकणलाई पत्र पठाउनुपर्ने हो । तर, दुई साता बितिसक्दा पनि त्यो काम नभएको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार अतिरिक्त लाभ (कमिसन) पाउने अवस्था नदेखिएपछि ऊर्जामन्त्री दीपक खड्काले प्राधिकरणलाई पत्र पठाउन आनाकानी गरेका छन् । अर्थ मन्त्रालयले प्रतिस्पर्धाबाट ऋण उठाउनु भन्दै सहमति दिएको छ । ऊर्जाको निर्णयअनुसार अब प्राधिकरणले ब्याजदरमा प्रतिस्पर्धा गराई सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्न बैंकबाट ऋण लिनुपर्ने हुन्छ ।
तर, मन्त्री खड्का भने प्रतिस्पर्धा नगराई कुनै निश्चित बैंकबाट सीधै ऋण लिने तयारीमा थिए । त्यसबापत अतिरिक्त लाभसमेत लिने उनको योजना थियो । कर्जाको माग बढ्न नसक्दा अहिले बैंकहरूमा तरलता थ्रुपिएको छ । एकैपटक सरकारी निकायमा १० अर्ब रुपैयाँ कर्जा प्रवाह गर्न पाउँदा बैंकका लागि पनि आकर्षक लगानी हुन्थ्यो । तर, अर्थ मन्त्रालयले ब्याजदरमा प्रतिस्पर्धा गराई ऋण लिनु भन्ने सहमति दिएपछि त्यो ‘च्याप्टर क्लोज’ भएको छ । त्यसपछि ऊर्जा मन्त्रालयले अर्थ मन्त्रालयले पठाएको ‘सहमतिपत्र’ प्राधिकरणलाई पठाउन पनि आनाकानी गरेको छ । ‘यो पत्र प्राधिकरणमा आउन निकै नै ढिला भयो । सायद, अरू कुनै विकल्प खोजिएको हो कि,’ प्राधिकरणका एक कर्मचारीले भने । ऊर्जामन्त्री दीपक खड्काको आर्थिक सल्लाहकारमा अमित श्रेष्ठ छन् । जो नबिल बैंकका कर्मचारीसमेत हुन् । ऊर्जामन्त्री खड्का प्रतिस्पर्धाविनै नबिल बैंकबाट सोझै कर्जा लिने दाउमा थिए ।
मन्त्रालयका प्रवक्ता सागरराज गौतमले प्राधिकरणलाई १० अर्ब ऋण उठाउन अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको बताए । यद्यपि, उक्त पत्र प्राधिकरणमा पठाइनसकेको उनले स्वीकार गरे । ‘अर्थ मन्त्रालयबाट आएको पत्र निर्णयको प्रक्रियामा छ । निर्णय भएपछि प्राधिकरणमा पठाउनेछौँ,’ उनले भने, ‘यसबारे थप जानकारीका लागि भने बुझ्नुपर्छ ।’
११ चैतमा सरकारले राजनीतिक प्रतिशोधमा तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । आफ्नो स्वार्थमा सहयोग नगरेपछि कुलमानलाई हटाउन ऊर्जामन्त्री खड्का लागिपरेका थिए । नेतृत्वमा आएपछि खड्काकै योजनाअनुरूप कार्यकारी निर्देशक शाक्यले असार ०८१ सम्म ४६ अर्ब ४७ करोड रुपैयाँ सञ्चित नाफा र चालू आवको फागुनसम्म थप नौ अर्ब ४८ करोड रुपैयाँ नाफामा रहेको प्राधिकरणलाई थप ह्रासकट्टीको दाबी गर्दै पाँच अर्ब २६ करोड रुपैयाँ नोक्सानीमा देखाए । १९ वैशाखमा यस्तो दाबीसहित शाक्यले प्राधिकरणको श्वेतपत्र जारी गरे । श्वेतपत्रमा देखाइएको नोक्सानी लेखा परीक्षणबाट पुष्टि हुन भने बाँकी छ । त्यसलगत्तै कार्यकारी निर्देशक शाक्यले प्राधिकरणमा नगद प्रवाह नरहेको र ठेकेदारको भुक्तानी बाँकी ११ अर्ब ६१ करोड रहेको भन्दै १० अर्ब अल्पकालीन कर्जा लिने योजना अघि बढाए । यद्यपि, प्राधिकरणको केन्द्रीय मौज्दात पनि १० अर्ब १० करोड रुपैयाँ थियो । तैपनि, उनले ऋण उठाउन सरकारको सहमति मागेका थिए । त्यसमा अर्थ मन्त्रालयले प्रतिस्पर्धाका आधारमा ऋण उठाउन सहमति दिएको थियो । तर, ऊर्जा मन्त्रालयले त्यो ‘फाइल’ दुई सातादेखि अड्काएको छ ।
वर्षान्तको चापमा प्राधिकरणका कर्मचारी सरुवा गर्दै ऊर्जामन्त्री
यतिवेला आर्थिक वर्षान्त (असार मसान्त) कारण सबै सरकारी निकायहरूमा ‘क्लोजिङ’को चाप छ । नेपाल विद्युत् प्राधिकरणमा पनि सोही अवस्था छ । तर, यस्तो वेलामा समेत ऊर्जामन्त्री दीपक खड्का प्राधिकरणका कर्मचारी सरुवा गर्ने तयारीमा छन् । विशेष गरी शाखा कार्यालयका प्रमुखहरू सरुवा गर्ने उनको तयारी छ ।
मन्त्री खड्का प्राधिकरणको सञ्चालक समिति अध्यक्षसमेत हुन् । उनी सुरुदेखि नै आफूअनुकूल प्राधिकरणको कर्मचारी सरुवा गर्न चाहन्थे । तर, त्यसमा तत्कालीन कार्यकारी निर्देशक घिसिङले सहयोग गरेनन् । उनलाई बर्खास्त गर्नुको पछाडि एउटा कारण यो पनि थियो । प्राधिकरणमा शाक्य आएपछि दुईपटक उच्च तहका कर्मचारीको सरुवा भइसकेको छ । ‘अहिले असार मसान्तका कारण कर्मचारीमा कामको चाप छ । तर, यही वेला मन्त्री खड्काले कर्मचारी सरुवा गर्न निकै नै हतारो देखाएका छन्,’ स्रोतले भन्यो, ‘यसमा उहाँको केही स्वार्थ हुन सक्छ ।’