
काठमाडौं महानगरपालिकाका एक कर्मचारीविरुद्ध जबर्जस्ती करणी मुद्दा दायर भएको छ। महानगरपालिकाको वातावरण विभागमा कार्यरत ५३ वर्षीय सरोज पुजारीविरुद्ध शुक्रबार मुद्दा दायर भएको हो।
वातावरण विभागमा जागिर माग्न गएकी एक किशोरीलाई होटेलमा लगेर बलात्कार गरेको अभियोग उनीमाथि छ। गत २१ जेठमा जागिरमा लगाउने आश्वासन दिई बालाजुको सुकुल होटेल एन्ड रेस्टुरेन्टमा लगेर बलात्कार गरेको पीडितको जाहेरी छ। प्रहरी वृत्त बालाजुले उनलाई पक्राउ गरी अनुसन्धान गरेर सरकारी वकिल कार्यालयमार्फत मुद्दा दायर गरेको हो। अदालतबाट थुनछेक आदेश भइनसकेको बालाजु वृत्तका डिएसपी ज्ञानबहादुर बिष्टले बताए।