
२७ चैत ०६४ मा रौतहटको राजपुर फरहदवामा भएको विस्फोट र इँटाभट्टामा जिउँदै मान्छे जलाएको घटनामा प्रमाण नभेटिएको भन्दै पूर्वमन्त्री एवं कांग्रेस नेता अफ्ताब आलमलाई उच्च अदालत वीरगन्ज इजलासले जब सफाइ दियो, दुनियाँ चित खायो । जिल्ला अदालत रौतहटले सुनाएको जन्मकैदको फैसला उच्चले उल्ट्याइदिएपछि पीडितलाई खाटा बसेको घाउ पनि चहर्याउन थाल्यो । हो, फरहदवा नरसंहारमा घाइते भएर बल्लतल्ल बाँचेका भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमार शरीरका खतैखत बोकेर घटनाको फेहरिस्त बताउन काठमाडौं आइपुगेका छन् ।
बमले दुवै कान उडाइदियो । अनुहार, घाँटी र छातीमा गम्भीर चोट लाग्यो । धन्न घाइते अवस्थामा केही पर भाग्न सफल उनी जिउँदै इँटाभट्टामा झोसिनबाट जोगिएका थिए । कसैले भारतमा पुर्याइदिएपछि उपचार गरेर बाँच्न पनि सफल भए । कसैले देख्नेबित्तिकै आङ सिरिंग पार्ने डरलाग्दा खतका कारण उनी कान, टाउको, अनुहार र घाँटी गम्छाले ढाकेर हिँड्छन् । जिल्ला अदालत रौतहटले आलमलाई जन्मकैद फैसला सुनाएपछि थोरै भए पनि न्यायको महसुस गरेका गौरीशंकरको सुकिसकेको घाउ पनि त्यतिवेला चहर्यायो, जब उच्च अदालतले उनीसहित सबै दोषीलाई निर्दोष साबित गरिदियो ।
‘म गरिब मान्छे । उपचार गर्दा साढे तीन लाख भारु सकियो । जिल्ला अदालत रौतहटको फैसलापछि क्षतिपूर्ति पाउने आशा थियो, तर पाइएन । तैपनि अदालतले ती दोषीहरूलाई जन्मकैदको फैसला गरेकोमा पनि चित्त बुझाएर बसेको थिएँ,’ उनले भने, ‘तर, अहिले उच्च अदालतले विस्फोट नै नभएको भन्दै घटनामा संलग्न सबैलाई सफाइ दिएपछि मलाई छटपटी भयो । निको भइसकेको घाउ पनि चहर्याएको अनुभूति भयो । बमले दुवै कान कसरी उडायो र अनुहारदेखि शरीरसम्म खतैखत कसरी भयो भनेर मलाई पीडा पोख्न मन छ । त्यसैले सितामढीबाट काठमाडौं आइपुगेको छु ।’
गौरीशंकर त्यतिवेला गाउँमा चलेका इँटा बनाउने मिस्त्री थिए । गौरीशंकरको सिप थाहा पाएका अफ्ताब आलमका भाइ महताबले सितामढी गएर उनीसहित स्थानीय नरेश राम र मुनिस रामलाई ०६४ पुसमा इँटा बनाउन राजपुर ल्याए । महताबले तीनैजनालाई सोही इँटाभट्टामा काम गर्न लगाए । मजदुरलाई प्रत्येक साताको अन्तिम दिन ज्याला दिने चलन थियो ।
२७ चैत ०६४ को दिन पनि साताको ज्याला बुझ्ने दिन थियो । गौरीशंकर, नरेश र मुनिस ज्याला लिन महताबको घरतर्फ लागे । साँझ ठिक ६:३० बजे शेख इद्रिशको गोठनजिक पुगे । गोठमा अचानक बम विस्फोट भयो । विस्फोटबाट निस्केको बारुदका छर्रासहित आगोको लप्काले गौरीशंकरको छातीमा गम्भीर चोट लाग्यो । घाँटी जलायो । दुवै कान उछिट्टिए ।
‘म इँटा बनाउने मिस्त्री हुँ । मलाई त्यसवेला महताबले राजा इँटाभट्टामा काम लगाइदिएका थिए । प्रत्येक साताको अन्तिममा ज्याला दिने चलन थियो । २७ चैत पनि ज्याला बुझ्ने दिन थियो । त्यसैले हामी ज्याला लिन महताबको घर जाँदै गर्दा शेख इद्रिशको गोठमा बम विस्फोट भएको थियो,’ उनले त्यो घटना सुनाए, ‘घाँटी, छाती र अनुहारमा पनि गम्भीर चोट लाग्यो । दुवै कान त्यही विस्फोटमा गुम्यो ।’
गौरीशंकरलाई मात्रै होइन, बारुदको छर्रा उनीसँगै गएका नरेश र मुनिसलाई पनि लागेको थियो । तर, उनीहरूलाई चोट कम थियो । त्यसैले उनीहरू घटनास्थलबाट सजिलै भाग्न सफल भए । गौरीशंकर पनि लरखराउँदै घटनास्थलबाट केही पर पुगे । त्यहाँ पानीको सानो पोखरी थियो, त्यहीँ हामफाले । पानीले शरीरमा बलिरहेको आगो निभायो । तर, जलन खासै मत्थर पार्न नसकेपछि उनी त्यहीँ बेहोस भएर ढले । आँखा खुल्दा गौरीशंकरले एकैचोटि आफूलाई सितामढीस्थित सदर अस्पतालको बेडमा पाए ।
‘म घाइते भएँ । सँगै गएका साथीहरू भागिसकेछन् । म पनि लर्खराउँदै भागेँ । गहुँबारीनजिक पुगेपछि सानो पोखरी रहेछ । म त्यहीँ हामफालेँ । शरीरको आगो निभ्यो । केहीबेरमा म त्यहीँ ढलेछु । होस खुल्दा त सितामढीस्थित अस्पतालको बेडमा रहेछु ।’
गौरीशंकरका अनुसार उनले पर्समा सधैँ सानो डायरी बोक्थे । डायरीमा परिवारका सदस्यको फोन नम्बर लेखेका थिए । पोखरीबाट उनलाई राजपुरका स्थानीयले उद्धार गरे । डायरीमा भेटेको नम्बरमा फोन गरिदिएपछि परिवारका सदस्य राजपुर आएर गौरीशंकरलाई सितामढी लगेका थिए ।
‘त्यसवेला सानो डायरी खल्तीमा बोक्ने मेरो बानी नै थियो । परिवारका सदस्यको फोन नम्बरहरू उक्त डायरीमा टिपेको थिएँ । म बेहोस भएपछि उद्धार गर्नेले खल्ती खोतलेछन् । डायरी भेटेछन् । त्यहाँ भेटेको नम्बरमा फोन गरिदिएपछि परिवारका सदस्यले थाहा पाएछन् र राजापुर आएर सितामढी अस्पताल पुर्याएका रहेछन् ।’
उपचारपछि उनी ठिक भए, तर जीवनमा शान्ति आएन । बम विस्फोटको घटनामा संलग्नविरुद्ध अस्पतालमा मुद्दा चल्दै थियो । गौरीशंकर घटनाको जीवित चस्मदित गवाह (प्रत्यक्षदर्शी) थिए । त्यसैले उनको मुख बन्द गराउन अफ्ताबका तर्फबाट करिब चार वर्ष लगातार ज्यान मार्ने धम्की आयो । सीमा कटेर नेपाल नआउन उनलाई बारम्बार धम्की दिँदै भित्रिएमा कुनै न कुनै मुद्दामा फसाइदिने चेतावनी दिन्थे ।
‘मलाई चार वर्षसम्म लगातार ज्यान मार्ने धम्की आयो । नेपाल आए कुनै न कुनै मुद्दामा फसाइदिने धम्की दिन्थे । विभिन्न अपरिचित नम्बरका फोन आउँथ्यो । म डराएँ, नेपाल छिर्न सकिनँ, चुपचाप घरमै बसेँ,’ गौरीशंकरले भने ।
जब घटनाको १२ वर्षपछि रौतहट जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख एसपी भूपेन्द्र खत्रीले फाइल खोले । त्यसपछि गौरीशंकरलाई खोज्दै प्रहरी नै सितामढी पुग्यो । प्रहरीले उनीसँग सोधपुछ लियो । गौरीशंकरले घटनाको वृत्तान्त बताइदिए । शरीरमा लागेको चोटको फरेन्सिक परीक्षण गर्न उनलाई महाराजगन्जस्थित प्रहरीको विधि विज्ञान प्रयोगशाला ल्याइयो । प्रयोगशालमा उनको शरीरमा लागेको घाउको खत परीक्षण भयो । परीक्षणको नतिजा आयो, ‘जाँच गरिएको शरीरको मेडिकल जाँच र उनको अस्पताल रेकर्डको विश्लेषणका आधारमा शल्यक्रिया र छाला प्रत्यारोपण गरिएका चोटपटकको सम्भावित कारण विस्फोटले पुर्याएको चोट हो ।’
१८ वर्षअघि आलो घाउ जति चहर्याएको थियो, अहिले मन त्योभन्दा धेरै चहराएको बताउँछन् गौरीशंकर । जिल्ला अदालत रौतहटले फैसला सुनाउँदा केही मलम लागेको महसुस गरेका उनी जिल्लाको फैसला उल्ट्याउने उच्च अदालत वीरगन्जको फैसलापछि छटपटाएका छन् । बम विस्फोटमा मारिएका त्रिलोकप्रताप सिंह (पिन्टु)का बुबा श्रीनारायण सिंहले फैसला गर्ने न्यायाधीशद्वय डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनविरुद्ध उजुरी दिएको खबर उनले सितामढीमै सुने । न्यायपरिषद्ले दुवै न्यायाधीशलाई छानबिनका लागि तानेको खबर पनि थाहा पाए । तर, पनि उनलाई त्यति ठुलो जघन्य अपराधको जिउँदो प्रमाण भएर पनि चुप बस्न मन लागेन । त्यसैले २७ चैत ०६४ को घटना सुनाउन उनी काठमाडौं आइपुगेका छन् ।
‘म नेपालको मिडियासामु २७ चैत ०६४ को घटना बताउन चाहन्छु । सोही उद्देश्य बोकेर म काठमाडौं आइपुगेको छु । सबै मिडियासम्म पुग्न मेरो पहुँच छैन । न म पत्रकार सम्मेलन गर्ने हैसितयको छु । तर, म सबैसमक्ष त्यो जघन्य अपराध बताउन चाहन्छु,’ गौरीशंकरले भने ।
भारतको सीतामढीबाट काठमाडौं आइपुगेका गौरीशंकर राम चमारले भने–बमले दुवै कान कसरी उडायो र अनुहारदेखि शरीरसम्म खतैखत कसरी भयो भनेर पीडा पोख्न मन छ, त्यसैले सीतामढीबाट काठमाडौं आइपुगेको छु
म गरिब मान्छे । उपचार गर्दा साढे तीन लाख भारु सकियो । जिल्ला अदालत रौतहटको फैसलापछि क्षतिपूर्ति पाउने आशा थियो, तर पाइएन । तैपनि अदालतले ती दोषीहरूलाई जन्मकैदको फैसला गरेकोमा चित्त बुझाएर बसेको थिएँ । तर, अहिले उच्च अदालतले विस्फोट नै नभएको भन्दै घटनामा संलग्न सबैलाई सफाइ दिएपछि मलाई छटपटी भयो । निको भइसकेको घाउ पनि चहर्याएको अनुभूति भयो । बमले दुवै कान कसरी उडायो र अनुहारदेखि शरीरसम्म खतैखत कसरी भयो भनेर मलाई पीडा पोख्न मन छ । त्यसैले सीतामढीबाट काठमाडौं आइपुगेको छु ।
बम विस्फोटमा घाइते भएपछि म लर्खराउँदै भागेँ । गहुँबारीनजिक पुगेपछि सानो पोखरी रहेछ । म त्यहीँ हामफालेँ । शरीरको आगो निभ्यो । केहीबेरमा म त्यहीँ ढलेछु । होस खुल्दा त सीतामढीस्थित अस्पतालको बेडमा रहेछु ।
मलाई चार वर्षसम्म लगातार ज्यान मार्ने धम्की आयो । नेपाल आए कुनै न कुनै मुद्दामा फसाइदिने धम्की दिन्थे । विभिन्न अपरिचित नम्बरका फोन आउँथ्यो । म डराएँ, नेपाल छिर्न सकिनँ, चुपचाप घरमै बसेँ ।