
जिल्ला आयुर्वेद चिकित्सालयले हिमाली तथा दुर्गम पहाडी जिल्ला रसुवामा आयुर्वेद चिकित्सा पद्धतितर्फ आमसर्वसाधारणको आकर्षण बढेको बताएको छ ।
धुन्चेमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा चिकित्सालयकी डा. रोजिना ताम्राकारले गत साउनदेखि असार तेस्रो हप्तासम्म ६ हजार ४८२ स्थानीय बासिन्दाले आयुर्वेदिक स्वास्थ्य उपचार सेवा लिएको जानकारी दिइन्। आयुर्वेद पद्धतिको बहिरंग सेवाअन्तर्गत चार हजार ४९२ जनालाई उपचार एवं परामर्श सेवा प्रदान गरिएको डा. ताम्राकारले बताइन्
आउँ, झाडापखाला, पिनास, दम, गानुगोला, बाथ तथा स्त्रीरोगलगायत विविध समस्याका बिरामी औषधोपचारका लागि अस्पताल आउने गरेको उनले बताइन् ।
यसरी चिकित्सालय आउने बिरामीमध्ये एक हजार १८४ लाई पञ्चकर्मबाट, ८० जनालाई योगका माध्यमबाट र ३८३ जना ज्येष्ठ नागरिकलाई आयुर्वेदिक पद्धतिबाट स्वास्थ्य उपचार सेवा प्रदान गरेको डा. ताम्राकारले जानकारी दिइन् ।
रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार ‘एलोपेथिक’ पद्धति अपनाउनुपर्नेबाहेक अन्य प्रकृतिका स्वास्थ्य समस्या समाधानका लागि आयुर्वेदतर्फ आमसर्वसाधारणको आकर्षण बढेको देखिन्छ ।