१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १२ बिहीबार
  • Thursday, 26 June, 2025
नवराज मैनाली काठमाडौं
२o८२ असार १२ बिहीबार २३:४२:oo
Read Time : > 1 मिनेट
समाचार

बाल यौन दुराचार मुद्दामा दोषी ठहर भएका राष्ट्रसंघका पूर्वउच्च अधिकारी बन्दीप्रत्यक्षीकरणको मुद्दामा जेलमुक्त 

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १२ बिहीबार २३:४२:oo

बाल यौन दुराचारको अपराधमा दोषी ठहर भएका संयुक्त राष्ट्रसंघका पूर्वउच्च अधिकारी पिटर जोन डाल्गरिश बन्दीप्रत्यक्षीकरणको जेलमुक्त भएका छन्। जेष्ठ नागरिक भएको आधारमा सर्वाेच्च अदालतले उनलाई जेलमुक्त गर्न परमादेश दिएको हो । 

करिब सात वर्षदेखि नेपालको जेलमा रहेका क्यानेडिन नागरिक डाल्गरिश तीन तहकै अदालतबाट दोषी ठहर भएका थिए । गत २ असारमा सर्वाेच्च अदालतले बन्दीप्रत्यक्षीकरणको मुद्दामा परमादेश जारी गरेको हो ।  

सर्वाेच्च अदालतको आदेशअनुसार जिल्ला कारागार, काभ्रेपलाञ्चोकले मंगलबार उनलाई रिहा गरेको हो । ‘जेष्ठ नागरिकले पाउने सुविधा अन्र्तगत उनलाई जेलमुक्त गर्न सर्वाेच्च अदालतले आदेश दिएको हो,’ कारागार कार्यालय, काभ्रेपलाञ्चोकका जेलर नङन्द्र पौडेलले भने,‘सर्वाेच्चको फैसलाबारे जिल्ला अदालतबाट आएको पत्रका आधारमा हामीले मंगलबार उनलाई अध्यागमन विभागको जिम्मा लगाएका छौं ।’ सर्वाेच्च अदालतले १५ दिनभित्र उनलाई देश निष्काशन गर्न भनेको छ । 

सर्वाेच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले बन्दीप्रत्यक्षीकरणको मुद्दामा परमादेश जारी गरेको हो । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले डाल्गरिशलाई २४ चैत २०७४ मा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ बाट पक्राउ गरेको थियो । 

उनी चिरिकाजी महर्जनको जग्गा लिजमा लिएर त्यहाँ घर बनाई बस्दै आएका थिए । नजिकै घर भएका बालबालिकालाई आफ्नो घरमा बोलाएर उनले यौन दुराचार गर्दै आएको खुलेको थियो । पैसा र खानेकुरा दिनेदेखि विदेश लैजाने आश्वासन दिएर उनले त्यसरी यौन दुराचार गर्दै आएको सिआइबीको अनुसन्धानमा खुलेको थियो । 

दुई बालकमाथि लामो समयदेखि यौन दुराचार गर्दै आएको  दाबीसहित सिआइबीले सरकारी वकिल कार्यालयमार्फत उनलाई पक्राउ गरी जिल्ला अदालत, काभ्रेपलाञ्चोकमा मुद्दा दायर गरेको थियो । 

२३ असार २०७६ मा जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले उनलाई दोषी ठहर गरी नौ वर्ष कैद सजाय सुनाएको थियो । 

त्यसविरुद्ध उनी उच्च अदालत गएकोमा उच्चले ९ माघ २०७६ मा एक वर्ष  कैद सजाय घटाई ८ वर्ष कैद सजाय सुनाएको थियो । त्यस्तै, सर्वाेच्च अदालतले पनि २१ कात्तिक २०८१ मा उच्च अदालतकै आदेश सदर गरी आठ वर्ष कैद कायम गरेको थियो । जसअनुसार उनको कैद सजाय करिब नौ महिना बाँकी थियो ।  सर्वाेच्चबाट पनि दोषी ठहर भएपछि उनले आफुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए । जसमा सर्वाेच्चले उनलाई बाँकी कैद छुट दिएको हो । 

जेष्ठ नागरिकसम्बन्धि ऐन २०६३ को दफा १२ मा ६५ देखि ७० वर्ष उमेरका बृद्ध नागरिकलाई जुनसुकै मुद्दामा २५ प्रतिशत कैद सजाय छुट हुने प्रावधान छ । तर, विदेशीको हकमा सो कानून आकर्षित हुने किन नहुने अन्योलता छ । यसअघि कुख्यात अपराधी चाल्र्स शोभराजले पनि यही कानूनअनुसारको सुविधा पाएर छुटेका थिए । शोधराजको मुद्दाको समेत नजिरका आधारमा डाल्गरिशले पनि कैद छुट पाएका हुन् ।  

लामो समय राष्ट्रसंघका विभिन्न उच्च पदमा काम गरेका उनी पछिल्लो समय स्ट्रिट किड्स इन्टरनेशनलमार्फत सामाजिक गतिविधिमा थिए । उनले क्यानडा सरकारले आफ्ना नागरिकलाई दिने दोस्रो ठूलो सम्मान ‘अर्डर अफ क्यानडा’ समेत पाएका थिए। उनी नेपालमा पक्राउ परेका विश्वका चर्चित सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका थिए।