
नेकपा(एमाले)का नेता महेश बस्नेतविरुद्ध बलात्कार तथा भ्रुणहत्याको मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णयविरुद्ध रिट दर्ता गर्न उच्च अदालत, पाटनले आदेश दिएको छ। पीडित भनिएकी एक महिलाले दायर गरेको रिट निवेदनमा उच्चका न्यायाधीशहरू टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको इजलासले बिहीबार रिट दर्ता गर्न भनेको हो । यसअघि उच्च अदालतका रजिष्ट्रारले यससम्बन्धि रिट दरपिठ गरिदिएका थिए। दरपिठविरुद्ध परेको निवेदनमा यस्तो आदेश भएको हो ।
एक महिलाले नेता बस्नेतले आफुलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंमा डेढ वर्षअघि उजुरी गरेकी थिइन् । तर, सबुत प्रमाण नपुगेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले तामेलीमा राखेको थियो । त्यसविरुद्ध उनले दायर गरेको रिट उच्चका रजिष्ट्रारले गत ४ बैशाखमा दरपिठ गरेका थिए। ‘प्रस्तुत रिटमा इजलासबाट विचार हुुनुपर्ने देखिएको हुँदा’ भन्दै दरपिठको आदेश बदर भएको हो । यससँगै सरकारी वकिल कार्यालयको निर्णयविरुद्ध रिट दर्ता हुने भएको छ । एमालेकै एक पूर्वनेतृले नेता बस्नेतमाथि बलात्कार, भ्रणहत्या, डाँका लगायत आरोप लगाउँदै आएकी छिन्।