
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका महासचिव मोहन वैद्यको स्वास्थ्यमा सुधार भएको छ। लामो समयदेखि दमको समस्याबाट पीडित रहेका उनी छातीमा संक्रमण भएपछि अस्पताल भर्ना भएका थिए।
१० दिनसम्म आइसियूमा बसेर उपचार गरेका ७९ वर्षीय नेता वैद्य स्वास्थ्यमा सुधार भएपछि घरमा बसैर स्वास्थ्यलाभ गरिरहेका छन्।
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्त र पूर्वसभामुख ओनसरी घर्तीले बिहीबार किरणलाई भेटेर उनको स्वास्थ्यलाभको कामना गरेका छन्। टोखा हाइटस्थित वैद्यनिवास पुगेर स्वास्थ्य अवस्थाबारे उनीहरुले जानकारी लिएका हुन्।
नेता पुनका अनुसार वैद्यको स्वास्थ्य अवस्थामा चामत्कारिक सुधार देखिएको छ। ‘स्वास्थ्य अवस्था धेरै राम्रो भएको रहेछ। पहिला नियमित अक्सिजन लगाउनुपर्नेमा अहिले अक्सिजन नलगाई बस्न सक्ने हुनुभएछ,’ पुनले भने, ‘बिहान बेलुका हल्का हिँड्न पनि थालेको छु भन्नुहुन्थ्यो।’ पुनदम्पती आफ्नो स्वास्थ्य अवस्था बुझ्न आएकोमा वैद्यले खुसी व्यक्त गरे। आफूहरूबिच राजनीतिकभन्दा स्वास्थ्य र पारिवारिक सम्बन्धबारे कुराकानी भएको पुनले उल्लेख गरे।
वैद्य तत्कालीन नेकपा (माओवादी) को पूर्वी केन्द्रीय कमान्डको इन्चार्ज हुँदा पुन सोही कमान्डको दोस्रो वरीयताको नेतासहित सैन्य फाँटका इन्चार्ज थिए। ०६१ सालमा पुनदम्पतीको दोस्रो सन्तानका रूपमा छोरा जन्मिँदा उनीहरू सँगै थिए। ‘हाम्रो बिचमा धेरै गहिरो भावनात्मक सम्बन्ध छ। हाम्रो छोराको नाम उत्सव उहाँले नै राखिदिनुभएको थियो। करिब ६ महिना सुष्मा भाउजू (वैद्यपत्नी) ले हाम्रो बाबुको स्याहार र संरक्षण गर्नुभएको थियो। हामीले ती कुराहरू पनि सम्झियौँ।’