१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 25 June, 2025
शिवहरि घिमिरे काठमाडाैं
Invalid date format ११:५७:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

उपत्यकाका अधिकांश स्थानीय तहले ल्याए बजेट

५४ करोडदेखि सात अर्ब ४७ करोडसम्म उपत्यकाको बजेट

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:५७:oo
  • मेयर बालेन शाह, उपमेयरसहितका अन्य प्रतिनिधि र कर्मचारीबिच विवाद हुँदा काठमाडौं महानगर नीति–कार्यक्रम र बजेटविहीन  

काठमाडौं उपत्यकाका अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । कानुनअनुसार मंगलबार नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । काठमाडौं महानगरपालिका तथा कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाले भने बजेट ल्याउन सकेनन् । कागेश्वरी मनोहरा र गोकर्णेश्वरमा मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

ललितपुरको ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिका तथा बागमती, कोन्ज्योसोम र महांकाल गाउँपालिकाले बजेट ल्याएका छन् । काठमाडौंका टोखा, दक्षिणकाली, कीर्तिपुर, नागार्जुन, चन्द्रागिरि, बुढानीलकण्ठ र शंखरापुरा नगरपालिकाले पनि बजेट ल्याएका छन् । भक्तपुर, सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाले बजेट ल्याएका छन् । भक्तपुर नगरपालिकाले ८ असारमै दुई अर्ब ४७ करोडको बजेट ल्याएको हो । मध्यपुरथिमि नगरपालिका तीन अर्ब ३५ करोड, सूर्यविनायक नगरपालिकाले दुई अर्ब २५ करोड, चाँगुनारायण नगरपालिकाले एक अर्ब ८४ करोड ५६ लाख बजेट प्रस्तुत गरेको छ ।

काठमाडौंको चन्द्रागिरि नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार, सम्पदालाई प्राथमिकतामा राख्दै दुई अर्ब ९३ करोड ल्याएको छ । कागेश्वरी मनोहराले मंगलबार नीति तथा कार्यक्रम मात्रै पेस गरेको छ । वडामा दिने बजेटमा विवाद भएको भन्दै मंगलबार बजेट प्रस्तुत हुन सकेन । शंखरापुर नगरपालिकाले एक अर्ब ५२ करोड र टोखा नगरपालिकाले एक अर्ब ८० करोडको बजेट ल्याएको छ । टोखाले शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी, खेलकुदलगायतलाई प्राथमिकता राखेको छ ।

दक्षिणकाली नगरपालिकाले ८९ करोडको बजेट ल्याएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो । नगरपालिकाले स्वास्थ्य, शिक्षालगायत एक वडा एक पार्क कार्यक्रम, प्रशासनिक भवन निर्माणलाई प्राथमिकतामा राखेको उपप्रमुख वसन्ती तामाङ डंगोलले बताइन् ।

नागार्जुन नगरपालिकाले दुई अर्ब ३९ करोड ७१ लाख ६८ हजारको बजेट ल्याएको छ । बजेटले शिक्षा, स्वास्थ्य, रोजगार, कृषिलगायतलाई प्राथमिकतामा राखेको नगरपालिकाले जनाएको छ । बजेटमध्ये चालूतर्फ ९१ करोड र अन्य पुँजीगत बजेट रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले बताए ।

ललितपुर महानगरपालिकाले आगामी वर्षका लागि सात अर्ब ४७ करोड ४१ लाख ४७ हजारको बजेट ल्याएको छ । मंगलबार महानगरको सातौँ नगरसभामा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले शिक्षा, स्वास्थ्य, सम्पदा, रोजगारलगायत क्षेत्रलाई प्राथमिकता दिइएको आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरिन् ।

गोदावरी नगरपालिकाले दुई अर्ब सात करोडको बजेट ल्याएको छ । बजेटमा कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य र बाढी पहिरो न्यूनीकरण र राहतलाई प्राथमिकता राखेको मेयर गजेन्द्र महर्जनले जानकारी दिए । बागमती गाउँपालिकाले ६२ करोड ७३ लाख, कोन्ज्योसोम गाउँपालिकाले ४५ करोड ५९ लाख र महांकाल गाउँपालिकाले ५४ करोड बजेट ल्याएको छ । 

ललितपुर महानगरमा उधारो बजेट 
ललितपुर महानगरपालिकाले आगामी वर्षका लागि सात अर्ब ४७ करोड ४१ लाख ४७ हजारको बजेट ल्याएको छ । तर, बजेटको स्रोत भने उधारो रहेको पाइएको छ । महानगरले हचुवाका भरमा बजेटको आकार ठुलो बनाएको छ । तर, स्रोत सुनिश्चितता भने गरेको छैन । बजेट थप परिपक्व नबनाई पेस भएको उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बताइन् । उनले शिक्षा, स्वास्थ्य, सम्पदा, रोजगारलगायत क्षेत्रलाई प्राथमिकता दिइएको बताइन् । बजेटको स्रोत व्यवस्थापनतर्फ संघीय सरकारबाट एक अर्ब ४१ करोड २७ लाख ९४ हजार र बागमती प्रदेश सरकारबाट १८ करोड २७ लाख ७२ हजार अनुदान प्राप्त हुने उपप्रमुख शाक्यले बताइन् । तर, यसमा कति अनुदान आउने हो, निक्र्योल हुन सकेको छैन ।

महानगरले आगामी वर्ष आन्तरिक राजस्व, मालपोत रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर आदिबाट तीन अर्ब ७१ करोड ४६ लाख ९१ हजार संकलन गर्ने लक्ष्य राखेको छ । तर, लक्ष्य राखिएको अंक बजेटमा जोडेर ठुलो आकार देखाउन खोजिएको हो । विकास निर्माणमा जनसहभागिताबापत आठ करोड ५० लाख प्राप्त हुने अपेक्षा गरिएको छ । आगामी आर्थिक वर्षमा महानगरलाई अन्तरसरकारी अख्तियारीबाट ९५ करोड १५ लाख प्राप्त हुने अपेक्षा लिइएको उपप्रमुख शाक्यले बताइन् । त्यस्तै, विनियोजन बजेटका लागि नपुग हुने एक अर्ब १२ करोड ७३ लाख ९० हजार नगद मौज्दातबाट व्यहोरिने बताइएको छ । बजेटको स्रोत सुनिश्चितताबारे वडाध्यक्षहरूले समेतले विमति जनाएका छन् । 

भक्तपुरको बजेटमा शिक्षा, स्वास्थ्य र सम्पदालाई प्राथमिकता
भक्तपुर नगरपालिकाले ८ असारमै दुई अर्ब ४७ करोडको बजेट ल्याएको हो । यसपटकको बजेटमा शिक्षा, स्वास्थ्य र सम्पदालाई प्राथमिकतामा राखिएको मेयर सुनील प्रजापतिले बताए । उनका अनुसार आगामी आर्थिक वर्षका लागि पुँजीगततर्फ ८० करोड ४८ लाख र चालूतर्फ एक अर्ब ५२ करोड बजेट विनियोजन भएको छ । 

गोदावरीको प्राथमिकतामा बाढीपहिरो न्यूनीकरण र राहत
ललितपुरको गोदावरी नगरपालिकाले दुई अर्ब सात करोडको बजेट ल्याएको हो । बजेटमा कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य र बाढीपहिरो न्यूनीकरण र राहतलाई प्राथमिकता राखेको मेयर गजेन्द्र महर्जनले बताए । ‘यस क्षेत्रमा गत वर्ष बाढीले क्षति पारेको थियो, त्यसैले हामीले बजेटमा यसपटक बाढी पहिरो र रातहको विषयलाई पनि ध्यानमा राखेका छौं,’ उनले भने, ‘शिक्षा, स्वास्थ्य र पूर्वाधार पनि हाम्रो प्राथमिकतामा छ ।’ 

टोखाको दुई करोड बजेट घट्यो 
टोखा नगरपालिकाले एक अर्ब ८० करोडको बजेट ल्याएको छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी, खेलकुदलगायतलाई प्राथमिकता राखेको छ । तर चालू वर्षभन्दा आगामी वर्ष दुई करोड बजेट घटेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले बताए । उनका अनुसार केन्द्र र प्रदेशबाट आउने अनुदान घटेपछि बजेटको आकार पनि स्वतः घटेको हो । 

दक्षिणकालीको कमजोर बजेट 
दक्षिणकाली नगरपालिकाले ८९ करोडको बजेट ल्याएको छ । बजेटमा स्वास्थ्य, शिक्षालगायत एक वडा एक पार्क कार्यक्रम, प्रशासनिक भवन निर्माणलाई प्राथमिकतामा राखेको उपप्रमुख बसन्ती तामाङ डंगोलले बताइन् । उनका अनुसार हाल नगरपालिका चारवटा भाडाको घरमा बसेको छ ।

काठमाडौंको बजेट र नीति तथा कार्यक्रम अन्योल 
काठमाडौं महानगरपालिकामा भने नीति तथा कार्यक्रम र बजेट कहिले पेस गर्ने अझै टुंगो लागेको छैन । मेयर बालेन्द्र शाह बालेन र अन्य जनप्रतिनिधिबिच सम्बन्ध चिसिएका कारण बजेट मंगलबार आउन नसकेको हो । महानगरका प्रवक्ता नवीन मानन्धरले नीति तथा कार्यक्रम र बजेट तयारी पूरा भइनसकेको बताए । ‘हामीले नीति तथा कार्यक्रम कहिले ल्याउँछौँ, अझै पत्तो छैन । हरेक विभाग र शाखा–महाशाखाहरूले तयारी गरिरहेका छन्, तर बजेट र नीति तथा कार्यक्रम कसरी र कहिले पेस हुन्छ पत्तो छैन,’ उनले भने, ‘मेयरसाबले यसबारे बैठकसमेत बोलाउनुभएको छैन, एक्लै तयारी गरेको भए थाहा भएन ।’