
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राज्यले प्रतिशोध साधेको भन्दै बेल्जियमका प्रवासी नेपालीले हस्ताक्षर अभियान चलाएका छन्।
रास्वपाको तेस्रो स्थापना दिवसको अवसरमा प्रवास सम्पर्क विभाग बेल्जियमले सोमबार बेल्जियमको ल्युभेनमा बृहत सभा गरी अभियान शुभारम्भ गरेको हो। प्रतिशोधविरुद्धको अभियानमा सहभागी हुन बेल्जियमका ८ प्रदेश तथा युरोपका विभिन्न देशहरुबाट नेपालीहरु भेला भएको प्रवास विभाग बेल्जियमका प्रमुख कृष्ण दाहालले बताए।
उनका अनुसार भेलामा बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्साल पनि सहभागी थिइन्। यसैगरी एनआरएनएका अध्यक्ष, कांग्रेस, एमाले, माओवादीसहित दलका प्रवास संगठनका प्रतिनिधि पनि सहभागी थिए।
उनीहरुले लामिछानेविरुद्ध राज्यले बढी नै अन्याय र अत्याचार गरेको भन्दै प्रतिशोधको राजनीतिक गर्न नहुने भनेर ऐक्यबद्धता जनाएका थिए भने राज्य सञ्चालकहरु सुध्रिनुपर्नेमा जोड दिएका थिए। ‘प्रतिशोधको राजनीति गर्नुहुन्न भन्नेमा सबै प्रवासी नेपालीको ऐक्यबद्धता छ,’ दाहाल भन्छन्, ‘प्रतिशोधविरुद्धको हस्ताक्षर अभियान युरोपभरि चलाउँछौ।’
भेलामा सहभागी हुन आएका रास्वपाको प्रवास विभाग अष्ट्रियाका प्रमुख विकास कार्कीका अनुसार सभापति लामिछानेमाथिको राजनीतिक प्रतिशोध र सरकारको अन्याय अत्याचारविरुद्ध हस्ताक्षर अभियानका साथसाथै पछिल्लो समय विभिन्न देशमा चलिरहेको भोट हाल्न देश फर्किने अभियानबारे पनि छलफल भएको थियो। कार्कीले अष्ट्रियामा पनि हस्ताक्षर अभियान चलाइने बताए।
बेल्जियम प्रमुख दाहालका अनुसार भेलामा चार सय बढी प्रवासी नेपाली विभिन्न देशबाट सहभागी थिए। सहभागीमध्ये अधिकांशले अभियानमा हस्ताक्षर गरेका छन्।