
नारायणगढको सम्पूर्ण किताबले ‘सम्पूर्ण किताब उत्सव–२०८२’ गर्ने भएको छ। चितवनको साहित्य र किताब बजारको बेलीबिस्तार प्रस्तुत गर्न उत्सव गर्न लागिएको उत्सवका निर्देशक लेखराम सापकोटाले बताए।
शैक्षिक परामर्शदाता संस्था एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज चितवनको शीर्ष प्रायोजनमा किताब उत्सव गर्न लागिएको हो। असार १४ गते शनिबार गैंडाकोटस्थित द नारायणी रिसोर्टमा हुने उत्सवको यो पहिलो संस्करण हो।
उत्सव दिउँसो साढे १२ बजेदेखि साँझ ७ बजेसम्म चल्ने निर्देशक सापकोटाले जानकारी दिए। ५ वटा कृतिलाई एकैसाथ विमोचन गरेर उत्सव उद्घाटन गरिने सापकोटाले बताए। रामकृष्ण अनायासको गजलसङ्ग्रह ‘अनायास’, सरस्वती पौडेलको गजलसङ्ग्रह ‘प्रत्यूष’, किसान प्रेमीको गजलसङ्ग्रह ‘अञ्जानमा गयौ कि’, रमेश प्रभातको निसमालोचनासङ्ग्रह ‘अरु अलिकति फरक कुरा’ र भीम शर्मा सुवेदीको ‘कुण्डलिनी योग’ एकैसाथ विमोचन हुनेछन्।
कार्यक्रमको सुरुआतमा विद्वत् प्रवचन प्रस्तुत गरिने छ। डाक्टर एकनारायण पौड्यालले ‘चितवनको साहित्य ः गति र दिशा’ शीर्षकमा विद्वत् प्रवचन प्रस्तुत गर्नेछन्।
त्यसपछि विभिन्न ४ वटा शीर्षकमा बहस कार्यक्रम हुनेछन्। ‘के पढ्छन् बालबालिका ?’ शीर्षकको बहस कार्यक्रममा बालमनोविश्लेषक प्राडा कर्णबहादुर बानियाँसहित आशीर्वाद सापकोटा, अभिश्री कँडेल, रञ्जना बन्जारा र आभाष काफ्लेसँग आकाश पौडेलले छलफल गर्नेछन्।
त्यसैगरी ‘शिक्षकले किन पढ्ने ?’ बहस कार्यक्रममा महेन्द्र पौड्याल, बटुकलाल तामाङ, नवराज कँडेल र सामना पहाडसँग विपिन पाठकले छलफल गर्नेछन्। ‘चितवनको किताब बजार ः हिजो र आज’ बहस कार्यक्रममा पुस्तक व्यवसायीहरू रजनी मास्के, गुरुप्रसाद न्यौपाने सुशील, महेन्द्र कोइराला र लेखराम सापकोटासँग पत्रकार सूर्यप्रकाश कँडेलले संवाद गर्नेछन्।
त्यस्तै ‘कता जाँदैछ चितवनको साहित्य ?’ बहस कार्यक्रममा चितवनका खरा समालोचक रमेश प्रभातले एलबी क्षेत्री, उदय अधिकारी, शान्ति शर्मा र भूपिनसँग छ्लफल गर्नेछन्।उत्सवको अन्तिम कार्यक्रमस्वरुप ‘सम्पूर्ण काव्य सन्ध्या’ सञ्चालन गरिनेछ। चितवन, नवलपरासी र तनहुँका विभिन्न स्रस्टाका कविता एवम् गजल वाचन हुने यस शृङ्खलालाई कवि सिर्जन अविरलले सहजीकरण गर्नेछन्।
उत्सवमा चितवन र आसपासका क्षेत्रका साहित्यिक एवम् शैक्षिक व्यक्तित्वको विशेष उपस्थिति रहने उत्सवका सहनिर्देशक विनोदबाबु रिजालले बताए।