
मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको सफल परीक्षण भएको छ । सोमबार गरिएको परीक्षण सफल भएको हो ।
खानेपानी ट्यांकी परीक्षण र स्थलगत अनुगमनमा पुगेका मन्त्री यादवले अब बर्षातको समयमा पनि काठमाडौंवासीलाई स्वच्छ खानेपानी निरन्तर आपूर्ति हुने विश्वास व्यक्त गरे ।
उनले भने, ‘काठमाडौंमा पानी बितरणका लागि रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको आज सफल परिक्षण भएको छ । वर्षायाम सुरु भएसँगै उत्पन्न हुने जोखिमलाई मध्यनजर गर्दै अब वैकल्पिक उपायस्वरूप रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङमार्ग हुँदै काठमाडौँमा आपूर्ति गरिने व्यवस्था गरेका छौं ।’
वर्षायाममा रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङ मार्गबाट पठाइने र काठमाडौंबासीलाई उक्त खोलाको पानी बाह्रै महिना निर्वाध रुपमा बितरण गरिने मन्त्री यादवले जानकारी दिए ।
वर्षातको समयमा मेलम्चीको पानी काठमाडौँमा पथान्तरण गर्न नसकिने अवस्थामा मेलम्चीकै टनेलबाट रिर्बामाबाट दैनिक पाँचदेखि सात करोड लिटर पथान्तरण गर्न सकिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई रत्नप्रसाद लामिछानेले जानकारी दिए ।
विगतमा वर्षा र बाढीका कारण मेलम्ची सुरुङ बन्द गर्नुपरेको इतिहासलाई ध्यानमा राख्दै, यसपालि प्रविधि र पूर्वतयारीमा विशेष ध्यान दिइएको कार्यकारी निर्देशक ई लामिछानेले बताए । ०७८ सालको विनाशकारी बाढीले मेलम्चीको मुहान क्षेत्रमा पुर्याएको क्षतिपछि बर्षायामको समयमा नियमित खानेपानी आपूर्तिमा गम्भीर अवरोध उत्पन्न भएको थियो ।