
इरानमा भएका आक्रमणमा इजरायलले वरिष्ठ सैन्य नेता र आणविक कार्यक्रमसँग सम्बद्ध प्रमुख व्यक्तिहरूको हत्या गरेको छ । यसबाहेक इरानी हवाई सुरक्षा प्रणालीलाई कमजोर बनाउँदै थप सैन्य लक्ष्यमा प्रहार गरेको र कम्तीमा एक आणविक अड्डामा आक्रमण गरेको देखिन्छ । इजरायलले यसलाई पूर्वसावधानीका रूपमा व्याख्या गरे पनि यो बढ्दो खतराविरुद्ध गरिएको परम्परागत निवारक कारबाही हो, जसले कानुनी र कूटनीतिक विवाद जन्माउँछ । तर, इजरायलका लागि यस्तो भिन्नताले खास अर्थ राख्दैन किनभने यसले अघिल्लो दशकमा पनि इराक र सिरियाविरुद्ध सीमित मात्रामा भए पनि यस्ता कारबाही गरिसकेको छ । यसबाहेक इरानविरुद्ध कारबाही गर्नु इजरायलभित्र लोकप्रिय मानिने सम्भावना बढी हुन्छ । गाजायुद्ध, लोकतन्त्रमा अदालतको भूमिकाबारे विवाद र धर्मनिरपेक्षताविरुद्ध धार्मिक सन्तुलनलगायत विषयमा गहिरो विभाजन भएका इजरायलीका लागि इरानमाथिको हमला एक साझा सहमति बन्ने विषय हो ।
इजरायलले अहिले यो कारबाही किन गर्यो भन्ने अझै स्पष्ट छैन । प्रधानमन्त्री नेतन्याहुका अनुसार इरानले हालै समृद्ध युरेनियमलाई हतियारमा रूपान्तरण गर्ने अभूतपूर्व कदम चालेको छ । तर, सरकारले नयाँ खुफिया सूचना पाएको थियो वा नयाँ मूल्यांकन गरेको थियो कि थिएन भन्ने अझै खुलेको छैन । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए)का अनुसार इरानले अपारदर्शी रूपमा उच्च मात्रामा समृद्ध युरेनियम उत्पादन गरिरहेको थियो । यद्यपि, अमेरिकी गुप्तचर अधिकारीका अनुसार इरानले आणविक हतियार उत्पादन गर्ने निर्णय भने गरिसकेको छैन । इजरायली अधिकारीका भनाइमा आधारित रिपोर्टले अमेरिका आक्रमणको योजनाबारे पहिल्यै जानकार थियो र यसलाई रोक्ने प्रयास गरेन भन्ने देखाउँछ । अमेरिकाले इरानमाथि हमला गर्न हरियो वा पहेँलो बत्ती देखाएको हुन सक्छ, तर अघिल्ला वर्षमा झैँ रातो बत्ती भने देखाएको छैन ।
अमेरिकाले इजरायललाई इरानमाथि हमला गर्न हरियो वा पहेँलो बत्ती देखाए पनि रातो बत्ती भने देखाएको छैन
यता अमेरिकी अधिकारीले इजरायली कारबाहीबाट आफूलाई टाढा राख्ने प्रयास गर्दै इजरायलले एकतर्फी रूपमा कारबाही गरेको र इरानले अमेरिकी फौजमाथि जवाफी हमला गर्न नहुने स्पष्ट पारेका छन् । भविष्यमा इरानविरुद्ध इजरायललाई अमेरिकाले कति सहयोग गर्नेछ वा इरानी प्रत्याक्रमणबाट कति जोगाउनेछ भन्ने अझै प्रस्ट छैन । स्मरण रहोस्, राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः सत्तारोहण गर्नुअगावै अमेरिका–इरान आणविक वार्ता फेरि जीवन्त हुने सम्भावना हाल निकै टाढा देखिन्छ भनेका थिए । कारबाहीको सफलता मूल्यांकन गर्न हतार गर्नु हुँदैन । यसका लागि मुख्य विषय इरानलाई कति क्षति पुग्यो, पुनर्निर्माणमा कति समय लाग्छ र सैन्य तथा आणविक नेतृत्व कति प्रभावित भयो भन्ने हो । यसबाहेक आक्रमणले इरानी शासन व्यवस्थामा प्रभाव पार्छ कि पार्दैन भन्ने प्रश्न पनि विचारणीय छ र सम्भवतः यही उद्देश्यले कारबाही गरिएको हुन सक्छ ।
दोस्रो महत्वपूर्ण पक्ष इरानको भविष्यमा हुने प्रत्याक्रमणको दायरा हो । सुरुवातमा इरानले करिब सयवटा ड्रोन प्रक्षेपण गर्यो, जसबाट इजरायल राम्रै तयारीका कारण जोगियो । तर, पछि इरानले ब्यालिस्टिक मिसाइलको लहर चलायो । अब मुख्य प्रश्न भनेको इरानले इजरायल वा विश्वभर रहेका इजरायली लक्ष्यविरुद्ध थप के कदम चाल्नेछ भन्ने हो । र, यससँगै इरानको सीमित विकल्प र कमजोरी पनि उजागर भएको छ ।
मध्यपूर्वबाट आफ्ना कर्मचारी फिर्ता बोलाएको अमेरिकाविरुद्ध इरानले कारबाही गर्छ कि गर्दैन भन्ने पनि खुल्न बाँकी नै छ । उसले खाडी मुलुकविरुद्ध प्रतिक्रिया जनाउने सम्भावना पनि नकार्न सकिँदैन । यद्यपि, सम्बन्ध सुधारको प्रयास भइरहेकाले यदि इरानले ऊर्जा क्षेत्रमा अवरोध गर्यो भने त्यो खाडीमा उसकै स्थानलाई खतरा पुग्न सक्छ । तेलको मूल्य अझै बढ्न सक्छ, जसले पश्चिमी मुलुकमा आर्थिक दबाब र इरानको राजस्वमा वृद्धि ल्याउन सक्छ । त्यो पनि यस्तो वेला जब इरानमाथिको प्रतिबन्ध हट्ने सम्भावना टाढिएको छ ।
यसबाहेक इजरायलले आणविक कार्यक्रमसँग सम्बन्धित पहिचान गरिएका वा शंकास्पद अड्डामा थप सैन्य आक्रमण गर्न सक्ने सम्भावना पनि छ । र, यसबारे इजरायली प्रधानमन्त्री नेतन्याहु र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुवैले पहिल्यै चेतावनी दिइसकेका छन् । यस्तो कदमले पनि फेरि मूल्यांकन खोज्छ, अर्थात् के हासिल गरियो र त्यसको सम्भावित परिणाम के हुनेछ । हाल भएका आक्रमणलाई निरुत्साहित गर्न इरानले अब के गर्ने भन्नेबारे गम्भीर निर्णय गर्नुपर्नेछ ।
इरानले आफ्नो आणविक प्रयासलाई दोब्बर बनाउने वा आणविक कार्यक्रमलाई नष्ट गर्न गाह्रो हुने स्थानमा पुनर्संरचना गर्ने वा अझै पनि आइएइएसँग सहकार्य जारी राख्ने भन्नेमा निर्णय गर्नुपर्नेछ । यसमा थप जटिलता थप्ने विषय भनेको आणविक हतियार विकासमा अनुभव भएका चीन, रुस र उत्तर कोरियाजस्ता बाह्य साझेदारले इरानलाई सहयोग गर्छन् कि गर्दैनन् र गर्छन् भने अमेरिका र इजरायलको प्रतिक्रिया कस्तो हुन्छ भन्ने हो ।
सैन्य कारबाही नै उपलब्ध सर्वोत्तम नीति थियो कि थिएन भनेर निर्णय गर्नुअघि अमेरिका र इरानबिच के–कस्तो सम्झौता गर्न सकिन्थ्यो र त्यसलाई कसरी प्रमाणित गर्न सकिन्थ्यो भन्ने विषयमा थप जानकारी आवश्यक छ । यसले आक्रमण टार्न सकिन्थ्यो–टारिनुपथ्र्यो वा टार्न सकिन्नथ्यो भन्ने विषयमा इजरायल र इरान दुवैको राजनीतिक प्रतिक्रियालाई प्रभावित पार्न सक्छ । हालका लागि, के भयो र भविष्यमा के हुन सक्छ भन्नेबारे प्रश्न धेरै छन्, तर उत्तर निकै कम छन् । र, अहिलेलाई द्वन्द्वग्रस्त मध्यपूर्वको यो पछिल्लो अध्यायको सुरुवात मात्र हो भन्न सकिन्छ ।
(हास अमेरिकी थिंकट्यांक काउन्सिल अन फरेन रिलेसन्सका इमिरेट्स अध्यक्ष हुन्) प्रोजेक्ट सिन्डिकेटबाट