१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 16 June, 2025
गणेश लम्साल विराटनगर
Invalid date format o६:३७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कोशी प्रदेशमा अवैध बिउविजनको बिक्री छ्यापछ्याप्ती

वर्षौँदेखि भारतीय गुणस्तरहीन बिउविजनको मारमा पर्दै आएका कोशीका किसान नेपालका उत्पादकले पनि सूचीकृत नभएका अवैध बिउविजन बिक्री–वितरण गर्न थालेपछि थप मारमा

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format o६:३७:oo

कोशी प्रदेशका सहर–बजारमा अवैध बिउविजन छ्यापछ्याप्ती बिक्री हुने गरेको पाइएको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयको टोलीले झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लामा अनुगमन गर्दा सूचीकृत नभएका अवैध बिउविजन बिक्री हुने गरेको पाइएको हो । 

प्रदेश बिउविजन समिति संयोजक तथा प्रदेश कृषि मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार १६ जेठमा अनुगमन गर्दा संयुक्त टोलीले सुनसरीका विभिन्न स्थानबाट धान र तरकारीको अवैध बिउ बिक्री भइरहेको फेला पारेको हो । उनका अनुसार अवैध तरिकाले बिउ बिक्रीका लागि बजारमा पठाउनेमा राष्ट्रिय बिउविजन कम्पनीमा दर्ता भएर नाम चलेका गैरसरकारी बिउविजन उत्पादन कम्पनी छन् ।

मन्त्रालयको अनुसन्धानअनुसार राष्ट्रिय बिउविजन कम्पनी प्रालि मोरङ, कृषक बिउ उत्पादक समूह गौरादह– ६ झापा, भूमि सिड मोरङ, विराटनगर, कञ्चन बिउ उत्पादक उद्योग प्रालि, मेचीनगर झापा, मेची कृषक बहुमुखी सहकारी संस्था लि. मेचीनगर झापा, तमोर बिउ उत्पादक बिर्तामोड– ७ झापा, इस्ट–वेस्ट सिड कम्पनी विराटनगरलगायतले अवैध र कम गुणस्तरीय बिउविजन बिक्री गर्ने गरेको फेला पारेको हो ।

कृषि सामग्री कम्पनी लिमिटेड इटहरीबाट पनि बिउ व्यवसाय प्रमाणपत्र नभएका व्यसायीलाई पनि बिउविजन उपलब्ध गराउने गरेको पाइएको छ । अनुगमनका क्रममा व्यवसायको अनुमति नलिई र नवीकरण नगरी अवैध बिउविजन बिक्री गर्ने व्यवसायीहरू अनुगमनमा आएको थाहा पाएपछि पसल बन्द गरेर भाग्ने गरेका छन् । 

कोशी प्रदेश कृषि मन्त्रालयका अनुसार केन्द्रीय बिउविजन ऐन, २०४५ र प्रदेश बिउविजन ऐन, २०८१ अनुसार नेपालमा सूचीकृत तथा दर्ता नगरिएका कुनै पनि बिउविजन बिक्री–वितरण गर्न पाइँदैन । तर, विक्रेताले किसानलाई झुक्याएर सूचीकृत नभएका र भारतबाट आयात भएका कम गुणस्तरीय अवैध बिउ उत्पादक र विक्रेताले मिलेर बिक्री–वितरण गर्दै आएका छन् । अनुगमन टोलीका अनुसार नेपाली बिउ उत्पादकहरूले नै सूचीकृत नभएका बिउ उत्पादन गरेर बजारमा पठाउने गरेका छन् । 

कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले प्रदेश बिउविजन ऐन, २०८१ र प्रदेश जीवनाशक विषादी ऐन, २०८१ जारी गरेको छ । मन्त्रालयले ऐन कार्यान्वयन गर्न बिउविजन प्रयोगशाला, कृषि ज्ञान केन्द्र र मन्त्रालयको बाली विकास अधिकृत र बिउ निरीक्षकसहितको टोलीलाई बिउविजनको उत्पादन र बिक्री–वितरणको अनुगमनका लागि खटाउन थालेको छ । प्रदेशमा गुणस्तरीय सूचीकृत बिउविजन किसानलाई उपलब्ध गराउन निरन्तर अनुगमन जारी रहने मन्त्रालयका कृषि प्रसार अधिकृत योगेन्द्र यादवले बताए । उनका अनुसार अनुगमनका क्रममा अवैध रूपमा र म्याद गुज्रेका र कम गुणस्तरीय बिउविजन बिक्री गरेको फेला परेका कम्पनी र व्यवसायलाई आइन्दा गल्ती नगर्ने सर्तमा कागज गराइएको छ । 

प्रदेश बिउविजन ऐनअनुसार स्रोत र मूल अनि वर्णशंकर बिउ उत्पादन गर्न र बिक्री–वितरण गर्न अनुमति लिएर नियमित नवीकरण गरेको हुनुपर्छ । ऐन पालना नगर्नेलाई २५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवानासहित कम्पनीको दर्तासमेत खारेज हुन सक्ने व्यावस्था छ ।