
पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर पुलसँगै खसेर घाइते भएका तीनजना कामदारको मृत्यु भएको छ । मेची राजमार्गमा पर्ने पाँचथरको हिलिहाङ र पाँचथर नगरपालिका जोड्ने हेवाखोलामा निर्माणाधीन बेलिब्रिज निर्माण गर्ने क्रममा शनिबार साँझ भाँचिएर खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले शनिबार बेलिब्रिज खस्दा घाइते भएका बाराको सिमरा उपमहानगरपालिकाका २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र सोही ठाउँका २२ वर्षीय प्रकाश चौधरीको ज्यान गएको जानकारी दिए ।
दुर्घटनापछि घाइते भएका उनीहरूलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पुर्याइएको थियो । सोही अस्पतालका चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको पाँचथर प्रहरी प्रमुख (डिएसपी) बुढाथोकीले बताए ।
शनिबार साँझ ६ बजे निर्माणाधीन बेलिब्रिज खसेको थियो । फिदिम नगरपालिका– ४ तर्फ राखिएको बेसदेखि ठेल्दै पारिपट्टि हिलिहाङ गाउँपालिका– ७ मा जग टेकाएको केहीबेरमै बेलिब्रिज खसेको हो ।
बेलिब्रिज भाँचिएर खस्दा ६ जना कामदार घाइते भएका थिए । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ भने दुईजना सामान्य छन् । उनीहरू सबैलाई उपचारका लागि नोबेल मेडिकल कलेज विराटनगर पुर्याइएको छ । दुर्घटनामा परेर बाराको सिमरा उपमहानगरपालिका– १२ घर भएका २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिशेक चौधरी घाइते भएका छन् ।
मेची राजमार्गअन्तर्गत पाँचथर खण्डमा रहेको हेवाखोलाको पक्की पुल पहिलोपटक ०८० असार २ गतेको बाढीले बगाएको थियो । हेवाखोलामा पहिलोपटक बेलिब्रिज बनाइएको थियो ।
सो बेलिब्रिज ०८१ गत असोज १२ गते आएको बाढीले पुनः बगाएपछि दोस्रोपटक पुनः बेलिब्रिज हाल्न संघीय सरकारले सडक डिभिजन इलाममार्फत प्रक्रिया अगाडि बढाएर दोभान सुपर सौगात लाइट बिल्डर्स जेभी नामक निर्माण व्यवसायी कम्पनीसँग सम्झौता गरेर काम गरिरहेको छ ।
पुल बगेपछि यहाँ ह्युमपाइपमार्फत डाइभर्सन गरेर यातायात आवागमन गराइँदै छ । यद्यपि, ठुलो वर्षा भएर खोलो बढ्नासाथ डाइभर्सन छोपिने र बग्ने जोखिम छ । बेलिब्रिज खसेसँगै वर्षायाममा पुनः मेची राजमार्ग भएर पाँचथर सदरमुकाम फिदिमदेखि ताप्लेजुङसँगै पाँचथरको हिलिहाङ, याङवरक र फालेलुङ सडक सम्पर्कविच्छेद हुने जोखिम देखिएको छ ।
७० मिटर लामो बेलिब्रिजलाई प्राविधिकहरूले (मोडुलर ब्रिज) भन्दै नेपालकै लामो भन्दै आएका थिए । अन्ततः काम सम्पन्न नहुँदै बेलिब्रिज भत्किएको छ । बेलिब्रिजका लागि तीन करोड ४९ लाख ३३६ रुपैयाँमा बनाउने जिम्मा दोभान सुपर सौगात लाइट बिल्डर्स जेभी नामक निर्माण व्यवसायी कम्पनीले काम गर्दै आएको छ ।