
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई बदनाम गराउन षड्यन्त्र भइरहेको बताएका छन् ।
मोरङको उर्लाबारीमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादीप्रति जनविश्वास बढेसँगै घेराबन्दी गर्न र बदनाम गर्ने उद्देश्यले पार्टीभित्र र बाहिरबाट निरन्तर षड्यन्त्र भइरहेको बताएका हुन् ।
‘हामीले सरकारमा रहेर सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा महत्वपूर्ण काम गरेका छौँ । राम्रो काम गर्दा गर्दै षड्यन्त्रपूर्वक सरकारबाट बाहिरिनुपरे पनि हामी हाम्रो अभियान लिएर जनताको घरघरमा पुग्यौँ,’ प्रचण्डले भने, ‘जनतासँग बसेर दुःख–सुख बाँड्यौँ। यही कारणले माओवादी केन्द्रप्रति जनताको विश्वास झनै बलियो बन्दै गएको छ ।’
पूर्वी नेपालका झापा र मोरङमा माओवादी केन्द्रले अघिल्लो स्थानीय चुनावमा उल्लेखनीय सफलता हासिल गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा पार्टीले अझ राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।