
प्रधानमन्त्री केपी ओलीले जनकपुरधाम अब आफ्ना पुरानाे लयमा फर्किन लागेको बताएका छन् । राजर्षि जनक विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई मंगलबार जनकपुरमा सम्बोधन गर्दै विश्वविद्यालयको कुलपति एवं प्रधानमन्त्री ओलीले इतिहासमा जनकपुरधाम ज्ञानभूमि, तपभूमि रहेको भए पनि कुव्यवस्थाको कारण बिचमा हराएको बताए । प्रधानमन्त्री ओलीले भने, ‘यहाँ सत्ययुगमा ज्ञानको छलफल हुन्थ्यो, विद्वताको छलफल हुन्थ्यो, दर्शनको छलफल हुन्थ्यो, त्यसको चार हजार वर्षपछि हामी फेरि त्यही स्थानमा आइपुगेका छौँ, खुसी लागिरहेको छ।’
हाम्रो शिक्षाको परम्परा प्राचीन रहे पनि त्यसको प्रचारप्रसारमा हामी पछाडि परिरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो। प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो पहिलो व्यवस्थित विश्वविद्यालय २८ सय वर्षअगाडि थियो जबकि पश्चिमा विश्वविद्यालयको परम्परा साढे ४ सय वर्ष पुरानो हुनुले पनि हाम्रो शिक्षा प्रणाली प्राचीन रहेकोे कुरालाई प्रमाणित गर्छ ।’ ‘कतिपयले हाम्रो पूर्वीय दर्शन अन्धविश्वासमा आधारित रहेको झुटा कुरा गर्छन्,’ प्रम ओलीले भने, ‘तर, पूर्वीय दर्शन अन्धविश्वासमा आधारित नभएर सिद्धान्तमा आधारित दर्शन रहेको छ।’
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सतिशकुमार सिंहले मधेशका छोरीहरू शिक्षामा पनि अब्बल रहेको दाबी गरे । १० जना उत्कृष्ट विद्यार्थीमा ६ जना छात्राले ‘ट्रिपल मेडल’ जित्नु नै छोरीहरू पढाइमा अब्बल रहेको पुष्टि गरेको बताए। मुख्यमन्त्री सिंहले प्रदेश सरकारले स्थापना गरेको विश्वविद्यालयलाई पनि संघीय सरकारले अनुदान दिनुपर्ने माग गरे।
दीक्षान्त समारोहका प्रमुख अतिथि प्राध्यापक राजेन्द्र विमलले शिक्षाले ज्ञान दिए पनि दीक्षाले ज्ञानमा रूपान्तरण ल्याउने गरेको बताए। करिब आठ वर्षअघि सञ्चालनमा आएको राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा दुई ब्याचका करिब ११४ जना विद्यार्थी दीक्षित भएका छन्।