
पत्रकार दिलभूषण पाठकविरुद्ध समाचार प्रसारण गरेकै आधारमा पक्राउ पुर्जी जारी भएको छ। नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो।
पाठकले आफ्नो च्यानलमा प्रसारण गरेका हिल्टन होटेलसम्बन्धी समाचारलाई लिएर साइबर अपराधको मुद्दा चलाउन लागिएको हो। होटेलमा कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरको लगानीको विषयलाई लिएर पाठकले समाचार प्रसारण गरेका थिए। सोही विषयमा प्रहरीमा उजुरी गरिएको हो।
प्रहरी नेतृत्वले गृह मन्त्रालयसँग समेत छलफल गरेर पत्रकार पाठकविरुद्ध साइबर अपराध मुद्दामा अनुसन्धान अघि बढाएको हो। समाचारकै आधारमा यसरी फौजदारी मुद्दा लगाउन लागिएकोमा सञ्चारकर्मीले प्रहरीको कदमको आलोचना गरेका छन्।