
अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई बधाई तथा शुभकामना दिएको छ।
बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको कार्यक्रममा अध्यक्ष पंकज नेम्वाङलगायतको एन्फा टिमले एनएसजेएफका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान-पत्र र खादा ओढाएर बधाई तथा शुभकामना दिएका हुन्।
एन्फाका अध्यक्ष नेम्वाङले पूर्वकार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको १०औँ स्मृति दिवसमा यो कार्यक्रम गरिएको जानकारी दिए। उनले भने, ‘ललित दाइ हुँदाको समयमा एन्फा र नेपाल खेलकुद पत्रकार मञ्चबिच सुनौलो सम्बन्ध थियो, त्यसैले यी दुई संस्थाबिच त्यत्तिकै सुनौलो, सुमुधर सम्बन्ध बनाउनुपर्छ भन्ने सोचाइसहित आजको दिन यो कार्यक्रम राखिएको हो।’
एन्फाका पूर्वकार्यवाहक अध्यक्ष तथा थ्रीस्टार क्लबका पूर्वअध्यक्ष श्रेष्ठको बिहीबार १०औँ स्मृति दिवस हो। एन्फा मुख्यालयमा बिहीबार बिहान नै श्रेष्ठको १०औँ स्मृति दिवसमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो।
खेलकुद पत्रकार मञ्चका नवनिर्वाचित अध्यक्ष निरञ्जन अधिकारीले मञ्चले नेपाल फुटबलको हरेक राम्रो पक्षमा सहयोग गरेको र गलत गरेको भए रचनात्मक आलोचना गर्न पनि नछोडेको बताए। अधिकारीले खेल अध्ययन र अनुसन्धानको पक्षमा काम गर्ने एनएसजेएफ एकेडेमीसँग मिलेर एन्फाले काम गर्न सकेमा पनि नेपाली फुटबललाई राम्रो हुने धारणा राखे।
यसैगरी, एन्फा महासचिव किरण राईले महिला फुटबलले लगातार राम्रो गरेपछि नेपालका प्रत्येक अभिभावकले आफ्ना छोरीहरूले प्रीति राई र सावित्रा भण्डारीले जस्तो खेलोस् भन्ने सपना देख्न थालेको र यही कारणले अहिले देशमा हजारौँको संख्यामा महिलाहरू फुटबलमा होमिएको बताए। उनले यसैलाई उदाहरण दिँदै फुटबलले महिला सशक्तीकरणमा ठुलो छलाङ मारेको दाबी गरे।
यसैगरी, एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले नेपालमा रहेका खेलकुद संघमध्ये एन्फामा खेल पत्रकारहरूको अझ बढी लगाव र चासो हुने गरेको भनाइ राखे। उनले फुटबल नेपालको नम्बर एक खेल भएकोले खेल पत्रकारहरूको त्यो फुटबलप्रतिको चासो हो भनी प्रस्ट्याए।