
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपालमा पशुचौपायमा देखिने लम्पी स्किन र अफ्रिकन स्वाइन फिभर रोगको अवस्थाका विषयमा बुझ्न टोली गठन गरेको छ । पछिल्ला समय देशका केही स्थानका पशुचौपायमा लम्पी स्किन र अफ्रिकन स्वाइन फिभर देखिएको गुनासो आएपछि मन्त्रालयले त्यसबारे यकिन बुझ्न र आवश्यक समन्वय गर्न टोली गठन गरेको हो ।
ती रोगको वस्तुगत स्थिति अध्ययन गरी तत्काल नियन्त्रणका लागि प्रभावकारी उपाय पहिचान गर्न मातहतका निकायलाई परिचालन गरिएको मन्त्रालायले जनाएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा सोमबार बसेको सम्बन्धित अधिकारीको बैठकले पशु सेवा विभागअन्तर्गतका वरिष्ठ पशु चिकित्सकको नेतृत्वमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, प्रदेश मन्त्रालयअन्तर्गतका सम्बन्धित अधिकृत र स्थानीय तहसमेतको सहभागितामा टोली गठन गरी तत्काल रोग देखापरेका क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको हो ।
रोगको वस्तुस्थितिको दैनिक÷आवधिक रिपोर्टिङ पशु सेवा विभागले मन्त्रालयका पशु स्वास्थ्य महाशाखाका वरिष्ठ पशु चिकित्सक डा. तपेन्द्रप्रसाद बोहरालाई गराउने गरी फोकल प्वाइन्ट तोकिएको पनि मन्त्रालयले जनाएको छ । बैठकले वर्षायामको सुरुवात हुने क्रमसँगै देखा पर्न सक्ने लामखुट्टेलगायत किराबाट सर्ने पशुको रोगहरूको जोखिमलाई आकलन गरी रोग नियन्त्रण र खोप कार्यका लागि आवश्यक पर्ने खोपसहितका आवश्यक वस्तु र पारिश्रमिकसमेतको लागत तयार गर्न निर्देशनसमेत दिइएको हो ।