१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १४ बुधबार
  • Thursday, 29 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ १४ बुधबार o९:५२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भद्र अवज्ञा आन्दोलन गर्छौँ, तर राज्य दमनमा उत्रिने खतरा छ : राजावादी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १४ बुधबार o९:५२:oo

राजावादी दल र समूहले १५ जेठदेखि भद्र अवज्ञा आन्दोलन सुरु गर्दै छन् । ४५ वटा राजावादी–हिन्दुवादी दल र समूह एकीकृत भएर आन्दोलनको तयारी गरेका हुन् । भद्र अवज्ञा आन्दोलनमा दुई हजारभन्दा बढी स्वयंसेवक परिचालन गर्ने तयारी रहेको उनीहरूले जानकारी दिएका छन् । नेताहरूका अनुसार आन्दोलनका क्रममा मञ्च खडा गरेर सभा हुनेछैन । 

रत्नपार्कलाई केन्द्र बनाएर आन्दोलन निरन्तर अघि बढ्ने राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जनाएको छ । समितिका अनुसार आन्दोलनमा सहभागीहरू छातासहित उपस्थित हुनेछन् । जेठमा चर्को घाम र पानी पर्ने सम्भावना भएकाले छातासहित उपस्थित हुन आग्रह गरिएको नेताहरूले बताएका छन् । आन्दोलनको अग्रपंक्तिमा शीर्ष नेताहरू रहनेछन् । भद्र अवज्ञा आन्दोलनको जगतमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना तथा प्रदेश संरचना खारेज हुने विश्वास राजावादी–हिन्दुवादी नेताहरूको छ । 

समितिले राजधानीमा मंगलबार आयोजना गरेको सम्पादकहरूसँगको छलफलमा समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टले आन्दोलन शान्तिपूर्ण हुने दाबी गरे । राज्य पक्षबाट सिर्जना गरिएको त्रासदीपूर्ण अवस्था र राजावादीको आन्दोलनको प्रभावकारी अनुगमन गरी सत्यतथ्य समाचार सम्प्रेषण गर्न उनीहरूले आग्रह गरेका छन् । समिति संयोजक सुवेदीले आफूहरू निर्णायक आन्दोलनमा रहेको दाबी गरे । उनले आन्दोलन अहिंसात्मक हुने जिकिर पनि गरे । ‘हामीहरू निर्णायक आन्दोलनमा छौँ । हाम्रो आन्दोलन अहिंसात्मक हुन्छ,’ उनले भने । 

राप्रपा अध्यक्ष लिङ्देनले आन्दोलन शान्तिपूर्ण र सत्याग्रहमा आधारित हुने दाबी गरे । ‘हामी शान्तिपूर्ण कार्यक्रम गर्छौँ । आन्दोलन अहिंसात्मक र सत्याग्रहमा आधारित हुन्छ । जसरी हामीले गत २६ चैतमा बल्खुमा कार्यक्रम पूर्ण रूपले आयोजकको नियन्त्रणमा राखेका थियौँ । जत्रोसुकै विशाल र व्यापक भए पनि यो कार्यक्रम पूर्ण रूपमा हाम्रो नियन्त्रणमा हुन्छ,’ उनले भने । 

राप्रपा नेपालका अध्यक्ष थापाले आन्दोलनका लागि सर्वाधिक अनुकूल अवस्था बनेको दाबी गरे । ‘०६२/६३ को राजनीति परिवर्तनपछि राजावादी/हिन्दुवादी दल/समूह एक छौँ । हाम्रो विचारका लागि अहिले सर्वाधिक अनुकूल अवस्था बनेको छ,’ उनले भने, ‘एकातर्फ वैचारिक अस्तित्व नै समाप्त पार्न खोजिएको छ । वैचारिक अस्तित्वको रक्षाका लागि पनि आन्दोलनको विकल्प रहेन ।’ राष्ट्रिय शक्ति नेपालका अध्यक्ष विष्टले पनि भद्र अवज्ञा आन्दोलन शान्तिपूर्ण हुने दाबी गरे । ‘देश र जनताको हितमा आन्दोलन घोषणा गरेका हौँ । आन्दोलन शान्तिपूर्ण हुन्छ । यो नितान्त भद्र अवज्ञा आन्दोलन हो,’ उनले भने ।

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले रत्नपार्कमा आन्दोलन गर्ने घोषणा गरेपछि प्रधानमन्त्रीले त्यहीआसपास आफ्ना कार्यकर्तालाई जम्मा हुन र प्रतिवाद गर्न निर्देशन दिएर मुठभेड निम्त्याउन खोजेको आरोप सुवेदी, लिङ्देन, थापा र विष्टले लगाएका छन् । सुवेदीले सरकारको रबैया ठिक नभएको भन्दै शान्तिपूर्ण आन्दोलनको साक्षी बसिदिन पत्रकारहरूलाई आग्रह गरे । 

लिङ्देनले प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएको र सरकार मुठभेड निम्त्याउने तहको क्रियाकलापबाट अगाडि बढेको आरोप लगाए । ‘हामीले रत्नपार्कमा आन्दोलनको कार्यक्रम घोषण गर्‍यौँ । त्यसपछि प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई पनि त्यहीनजिकै जम्मा हुन र प्रतिवाद गर्न भनेर जुन मुठभेड निम्त्याउने तहको क्रियाकलाप सरकारको तर्फबाट अगाडि बढेको छ,’ उनले भने, ‘प्रतिपक्ष सशक्त हुने र विधिले काम गर्ने अवस्था भएको भए कि प्रधानमन्त्रीले उक्त अभिव्यक्ति फिर्ता लिनुपर्ने वा राजीनामा दिनुपर्ने हुन्थ्यो ।’