
नागरिक उन्मुक्ति पार्टी कञ्चनपुरका अध्यक्ष नन्दकुमार राना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। सत्तारूढ नाउपा केन्द्रीय सदस्यसमेत रहेका राना पार्टी परित्याग गरेकै दिन माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
काठमाडौंमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टीका लगाएर उनी सिधै पार्टी प्रवेश गरेका हुन्। सो अवसरमा माओवादी कञ्चनपुरका नेता एवं बेलौरी नगरका मेयर पोतीलाल चौधरी, लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना, बेलौरी– ८ का वडाध्यक्ष विश्राम राना, माओवादी कञ्चनपुरका युवा नेता अमरसिंह चौधरी, दीपक तिमिल्सिना, लालबहादुर चौधरीसहितका नेताहरू उपस्थित थिए।
रानाले आजै पार्टी अध्यक्षलाई सम्बोधन गर्दै राजीनामापत्र बुझाएका थिए। नाउपामाथि विश्वास गरेजस्तो उत्पीडित, उपेक्षित समुदायको हितमा काम नगरेको उनको आरोप छ। नाउपाले मूल मर्मभन्दा परम्परागत संसदीय दलहरूको सिको गर्दै पद, पैसा, प्रतिष्ठा, व्यक्तिगत लाभमा केन्द्रित भएको उनले बताएका छन्।
त्यसअघि, नेकपा एमाले कञ्चनपुरका नेता रहेका बेलौरी नगरपालिका– ८ का तत्कालीन वडाध्यक्ष राना नाउपातिर लागेका थिए। नाउपा सुदूरपश्चिम प्रदेश र संघीय सरकारमा पनि सहभागी छ।