१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १४ बुधबार
  • Thursday, 29 May, 2025
शिवहरि घिमिरे काठमाडाैं
२o८२ जेठ १४ बुधबार o६:o४:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

तापक्रम बढेपछि पहाड उक्लिँदै तराईका विषालु सर्प 

तराईका २६ जिल्ला सर्पदंशबाट बढी प्रभावित, गोमन, करेत, बाघेजस्ता विषालु सर्प पनि पहाडमा देखिन थाले

Read Time : > 4 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १४ बुधबार o६:o४:oo

तराईबाट पुगेका मात्रै होइन, पहाडी क्षेत्रमै पाइने पिट भाइपर (हरियो सर्प), गुरुबे सर्पको विष कडा हुन्छ

तराईका जिल्लामा पाइने विषालु सर्प पछिल्लो समय पहाड उक्लिन थालेका छन् । तातो हावा बढेसँगै तराईमा पाइने विभिन्न प्रजातिका विषालु सर्प पहाडी जिल्लामा देखिन थालेका हुन् । तराईमा पाइने करेत, गोमन, बाघे र रसेल भाइपर प्रजातिका सर्प निकै खतरनाक मानिन्छन् । यी सर्पहरूको टोकाइपछि तत्काल उपचार हुन नसके पक्षघात तथा मृत्यु नै हुने चिकित्सकहरू बताउँछन् । 

पछिल्लो समय यस्ता विषालु सर्प पहाडतिरसमेत उक्लिन थालेकाले सचेत हुनुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । उनका अनुसार पहाडी क्षेत्रमा समेत गर्मी बढ्न थालेपछि तराईका सर्प पहाड उक्लिन थालेका हुन् । ‘पछिल्लो समय पहाडी जिल्लामा विषालु सर्प बढ्दै छन् । तराईका गोमन, करेत, बाघेजस्ता सर्प पहाड चढ्न थालेका छन्, यो सबै जलवायु परिवर्तनका कारण भएको हो,’ उनले भने, ‘उपचार गराउन आएका बिरामीको टोकाइका आधारमा पहाडी जिल्लामा तराईका सर्प उक्लिएको पत्ता लागेको हो । अब सर्पको टोकाइसम्बन्धी उपचार थप व्यवस्थित पार्न अत्यावश्यक नै देखिन्छ, पहाडतिर यसको उपचार सहज बनाउनुपर्ने चुनौती छ ।’ 

बुढाथोकीका अनुसार सर्पको टोकाइ सबैभन्दा बढी तराईका जिल्लामा छ । तराईमा पहाडको तुलनामा बढी विषालु सर्प पाइने भएकाले टोकाइ दर पनि बढी भएको हो । तर, सर्पको टोकाइ र यसको संख्या र प्रकारबारे स्वास्थ्य मन्त्रालयमै यथेस्ट विवरण छैन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को नेपाल च्याप्टर र स्वास्थ्य मन्त्रालयको तथ्यांकमा एकरूपता छैन । सरकारी तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा सर्पको टोकाइ कम देखिन्छ । तर, डब्लुएचओ तथ्यांक हेर्दा सर्पको टोकाइ डरलाग्दो छ । 

डब्लुएचओका अनुसार सर्पको टोकाइबाट नेपालमा वार्षिक तीन हजारको मृत्यु हुन्छ । करिब ३७ हजारलाई सर्पले टोक्छ । तर, स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार एक वर्षमा सरदर १५० जनाको मृत्यु भएको देखिन्छ । गत वर्ष सर्पको टोकाइबाट १४६ जनाको मृत्यु भएको मन्त्रालयसँग रेकर्ड छ । चालू आवमा सर्पको टोकाइबाट १५० जनाको मृत्यु भइसकेको छ । गत आवमा आठ हजार १८१ जनालाई सर्पले टोकेको थियो । त्यसमध्ये एक हजार ४८८ लाई विषालु सर्प र ६ हजार ६९३ जनालाई विषरहित सर्पले टोकेका थियो । सो संख्या अस्पताल पुगेको मन्त्रालयको रेकर्डमा उल्लेख छ । 

चालू आवको हालसम्म आठ हजार आठ सय मानिसलाई सर्पले टोकेको मन्त्रालयले जनाएको छ । यो तथ्यांक अस्पतालको पहुँचमा पुगेका बिरामीको हो । तर अस्पतालमा नपुगेका बिरामीको संख्या पनि धेरै हुन सक्ने मन्त्रालयका प्रवक्ता बुढाथोकीले बताए । ‘सरकारी स्वास्थ्य संस्थाले रेकर्ड नराखेको र अस्पताल नै नपुगेको तथ्यांक पनि धेरै छ,’ उनले भने, ‘सर्पले टोकेपछि सबैभन्दा छिटो उपचारमा पुगे बाँच्न सकिन्छ, ढिलो भयो भने बाँच्ने सम्भावना न्यून हुन्छ ।’ उनले पछिल्लो समय तराईका जिल्लामा मात्रै नभएर पहाडी जिल्लाका मानिसलाई पनि सर्पदंशबाट बच्न अनुरोध गरे । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का जुनोटिक तथा अन्य सरुवा रोग नियन्त्रण शाखा प्रमुख डा. हेमन्त ओझाले तापक्रम बढेपछि तराईका विषालु सर्प पहाडमा चढेको बताए । ‘पृथ्वीको तापक्रम बढ्छ, त्यसको असर जीव–जनावरमा पनि पर्छ । डेंगु, मलेरिया पनि पहाड पुग्यो, सर्प पनि त्यसरी नै पहाडतिर उक्लन थाले,’ उनले भने, ‘अझ गाडीमा सामान लैजाँदा कतिपय तराईका सर्प पहाडमा पुगेको पनि पाइन्छ । नेपालमा १७ प्रकारका सर्प निकै घातक र टोकाइपछि विष लाग्ने र अंगभंग तथा मृत्यु नै गराउने प्रजातिका छन् ।’ 

देशभर १०६ वटा मात्रै सर्पदंश उपचार केन्द्र
हाल देशभर १०६ वटा सर्पदंश उपचार केन्द्र छ । यसबाहेक सबै ठुला अस्पताल, प्रादेशिक अस्पतालमा उपचार पाइन्छ । तर, यो उपचार सेवा स्थानीय स्वास्थ्य संस्था र चौकीमा नपुग्दा बिरामीले तत्काल सेवा लिन सक्दैनन् । सोहीकारण। पनि मृत्यु हुनेको संख्या उल्लेखनीय रहेको चिकित्सकहरू बताउँछन् । ‘सर्पदंश बढ्दो छ, उपचार सेवा सीमित छ, त्यसैले अब उपचारको पहुँच बढाउन आवश्यक छ,’ नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिलविक्रम कार्कीले भने, ‘कुन सर्पले टोक्दा बढी घातक हुन्छ भने जनचेतना फैलाउन पनि आवश्यक छ । मुख्य कुरा त सरकारले स्थानीयस्तरसम्म यो उपचार सेवा लैजानै पर्छ । धेरै मानिस उपचार नपाएर मृत्युवरण गरे पनि सरकार भने बेखबर छ ।’

सर्पदंश रोग विशेषज्ञ तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा. सञ्जीवकुमार शर्माले पनि सर्पदंशको घटना बढेकाले यसतर्फ सचेत हुनुपर्ने बताए । ‘सर्पको टोकाइबारे जति जनचेतना र उपचार सहज हुनुपर्दथ्यो, त्यति भएको पाइँदैन,’ उनले भने, ‘अझ सर्पदंशको घटना हेर्ने हो भने गरिब परिवारका व्यक्ति यसबाट पीडित छन्, उनीहरूको बसाइ पनि असुरक्षित भएकाले बढी पीडित छन् ।’ उनका अनुसार सर्पको टोकाइबारे धेरै भ्रम र धामीझाँक्रीजस्ता विकृतिले पनि धेरैको ज्यान जाने गरेको छ । 

यसअघि ‘नेसनल लाइब्रेरी अफ मेडिसिन’ले सन् २०२२ मा गरेको अध्ययनअनुसार नेपालमा ३७ हजार ६ सय ६१ जनालाई सर्पले टोकेको पाइएको थियो । तर, पछिल्ला वर्षहरू यसको टोकाइ बढेको हुन सक्ने भए पनि सरकारी तवरबाट अध्ययन–अनुसन्धान भने हुन सकेको छैन । अझ मृत्युको तथ्यांकसमेत सरकारले यकिन गर्न सकेको छैन । हाल नेपालमा सर्पदंशविरुद्ध प्रयोग भइरहेको ‘पोलिभेलेन्ट एन्टिभेनम’ औषधिले सबै सर्पको विषविरुद्ध काम गर्दैन । सोहीकारण, पनि कतिपयको उपचारकै क्रममा मृत्यु हुने गरेको छ । इडिसिडीका अनुसार पहाडी क्षेत्रमा पाइने पिट भाइपर अर्थात् हरियो सर्प, गुरुबे सर्पको विष कडा हुन्छ । 

नेपालमा पाइने विषालु सर्प

नेपालमा १७ प्रकारका सर्प निकै घातक र टोकाइपछि विष लाग्ने र अंगभंग तथा मृत्यु नै गराउने प्रजातिका छन्

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार एक वर्षमा सरदर १५० जनाको मृत्यु भएको देखिन्छ । विषालु सर्पको टोकाइपछि झन्डै २० प्रतिशत मात्रै बिरामी अस्पताल पुग्छन् । गत वर्ष सर्पको टोकाइबाट १४६ जनाको मृत्यु भएको मन्त्रालयसँग रेकर्ड छ । गत आवमा ८१८१ जनालाई सर्पले टोकेको थियो । त्यसमध्ये १४८८ लाई विषालु सर्प र ६६९३ जनालाई विषरहित सर्पले टोकेका थिए । सो संख्या अस्पताल पुगेको मन्त्रालयको रेकर्डमा उल्लेख छ । 

उपचार गराउन आएका बिरामीका आधारमा पहाडी जिल्लामा तराईका विषालु सर्प उक्लिएको पत्ता लागेको हो : डा. प्रकाश बुढाथोकी, प्रवक्ता, स्वास्थ्य मन्त्रालय
पछिल्लो समय पहाडी जिल्लामा विषालु सर्प बढ्दै छन् । तराईका गोमन, करेत, बाघेजस्ता सर्प पहाड चढ्न थालेका छन्, यो सबै जलवायु परिवर्तनका कारण भएको हो । उपचार गराउन आएका बिरामीको टोकाइका आधारमा पहाडी जिल्लामा तराईका सर्प उक्लिएको पत्ता लागेको हो । सर्पले टोकेपछि सबैभन्दा छिटो उपचारमा पुगे बाँच्न सकिन्छ, ढिलो भयो भने बाँच्ने सम्भावना न्यून हुन्छ । अब सर्पको टोकाइसम्बन्धी उपचार थप व्यवस्थित पार्न अत्यावश्यक नै देखिन्छ, पहाडतिर यसको उपचार सहज बनाउनुपर्ने चुनौती छ ।

ग्रामीण र अस्पताल नभएका क्षेत्रका मानिस सबैभन्दा बढी जोखिममा हुन्छन् :  प्राडा सञ्जीवकुमार शर्मा, सर्पदंश रोग विशेषज्ञ तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यवाहक उपकुलपति 

सर्पले अत्यधिक गर्मी वा बर्खामा बढी डस्छ । बर्खामा खेतीपातीसमेत गर्नुपर्ने हुँदा मानिस बढी घरबाहिर हुन्छन् । यही वेला सर्प सक्रिय हुने र मान्छे पनि खेतबारीमा काम गर्न निस्कनुपर्ने भएकाले सर्पदंशका घटना बढी हुन्छन् । नेपालमा पाइने ८९ प्रजातिका सर्पमध्ये १७ प्रजातिका सर्प विषालु मानिन्छन् ।

सर्पले टोकेको कम्तीमा एक घण्टाभित्र अस्पताल पुर्‍याइसक्नुपर्छ । सर्पदंशको घटना हेर्ने हो भने गरिब परिवारका व्यक्ति यसबाट पीडित छन्, उनीहरूको बसाइ पनि असुरक्षित भएकाले बढी पीडित छन् ।

ग्रामीण र अस्पताल नभएका क्षेत्रका मानिस सबैभन्दा बढी जोखिममा हुन्छन् । घरवरपर सफा राख्ने, फोहोर चिजवस्तु नराख्ने, भुइँमा नसुत्ने, सुत्नैपरे झुल प्रयोग गर्नेलगायत सावधानी अपनाउन सके सर्पको टोकाइबाट बच्न सकिन्छ ।

अहिले तराईका सर्प पहाडतिर पनि उक्लिएको पाइन्छ, पहाडमा गर्मी बढ्न थालेको छ, हावा तातो हुन थालेको छ, त्यसैले त्यहाँ सर्पहरू पनि बसाइँ सर्दै छन् । सर्पको टोकाइपछि उपचारका लागि नेपालमा पछिल्लो समय विषसमेत उत्पादन गरिन्छ ।