Skip This
जिउँदै इँटाभट्टामा जलाइएका पिन्टुका बुवा श्रीनारायण सिंहको प्रतिक्रिया–उच्चको आदेशले नि:शब्द छु, अब सर्वोच्च जान्छु 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १५ बिहीबार
  • Friday, 30 May, 2025
मुख्य समाचार प्रिन्ट संस्करण

जिउँदै इँटाभट्टामा जलाइएका पिन्टुका बुवा श्रीनारायण सिंहको प्रतिक्रिया–उच्चको आदेशले नि:शब्द छु, अब सर्वोच्च जान्छु 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १५ बिहीबार १o:५१:oo

जिउँदै छोरो इँटाभट्टामा हालेर मार्नेलाई जिल्ला अदालतले जन्मकैद सुनाएपछि न्यायको अनुभूति गरेका पिन्टुका बुवा श्रीनारायण उच्चको फैसलापछि निःशब्द भएका छन् ।

न्यायिक लडाइँमा अनेक हन्डर खाँदै आएका उनले अब सर्वोच्चको ढोका ढकढक्याउने बताए । ‘उच्च अदालतको फैसलाले म निःशब्द भएको छु । जिल्लाबाट न्याय पाएको महसुस भएको थियो ।

तर, उच्चले त्यसलाई उल्ट्याइदिएको सूचना पाएँ । निराश बनाएको छ,’ उनले भने, ‘यो उमेरमा मैले आफ्नो पीडा कोसँग पोखौँ । यसबिचमा मैले अनेक हन्डर खाएँ । अब थप न्यायका लागि सर्वोच्च अदालत जानुपर्ला । उच्च सरकारी वकिल कार्यालयले त्यसको व्यवस्था गर्ला नि ।’ 

न्यायाधीशद्वयको आदेश
संकलित सबुत प्रमाणबाट मोहम्मद अफताब आलमको घरमा मिति ०६४/१२/२७ मा बम विस्फोट वस्तुनिष्ठ प्रमाणले पुष्टि हुन नसकेको, विस्फोटका घाइते भनिएका पिन्टु भनिने त्रिलोकप्रकाश सिंह र ओसी अफताबलाई वारदातस्थलबाट ट्याक्टरमा लगेर राजा इँटाभट्टामा हाली पोलिएको भन्ने ठोस सबुत प्रमाण वादीले पेस गर्न नसकेको र विधिविज्ञान परीक्षण प्रतिवेदनसमेत मृतकलाई इँटाभट्टामा पोलिएको अभियोग दाबी पुष्टि हुन नसकेको अवस्थामा सुरु अदालतले गरेको सजाय नमिलेको देखिँदा उल्टी भई सफाइ पाउने ।

कांग्रेस कोटाबाट न्यायाधीश बनेका थिए खुसीप्रसाद थारू : भ्रष्टाचार मुद्दामा गच्छदारलाई पनि दिएका थिए सफाइ

खुसीप्रसाद थारू कांग्रेस कोटाबाट न्यायाधीश बनेका हुन् । न्यायपरिषद्को २८ पुस ०७३ मा बसेको बैठकले उनीसहित ८० जनालाई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । प्रधानन्यायाधीश सुशीला कार्की थिइन् । त्यतिवेला अहिलेका गृहमन्त्री रमेश लेखकले ‘आफ्नो पार्टीका यति जना न्यायाधीश बनाउनैपर्छ’ भनेर आफूसँग आउँदा झगडा नै परेको प्रसंग कार्कीले सार्वजनिक रूपमै बोलेकी छिन् ।

थारूले विशेष अदालतको न्यायाधीश हुँदा ३ फागुन ०८० मा बालुवाटार जग्गा हिनामिना प्रकरणमा कांग्रेस नेता विजय गच्छदारलाई सफाइ दिएका थिए । संयुक्त इजलास भए पनि लिड थारूले नै गरेका थिए । कतिसम्म भने ‘बालुवाटार जग्गा प्रकरणको निर्णय प्रक्रियामा संलग्न गच्छदारलाई मुद्दा चलाएर कार्यपालिकाको स्वतन्त्रतामा हस्तक्षेप गरेको’ भन्ने टिप्पणी फैसलामा गरिएको थियो ।

‘गच्छदारको हकमा निजविरुद्धको कसुरमा संलग्नताका तथ्यगत आधार र मिसिल संलग्न सबुत प्रमाणलाई विशेष अदालतले दिग्भ्रमित पार्ने गरी नीतिगत निर्णय गर्ने हैसियतको व्यक्ति भनी गलत व्याख्या विश्लेषण गरी फैसला गरेको’ भन्दै अख्तियार सर्वाेच्च गएको थियो ।