
चितवनको भरतपुर महानगरपालिका–१६, शिवघाटस्थित नारायणी नदीको बिचभागमा फसेका २२ जनाको सशस्त्र प्रहरीको गोताखोरले सकुशल उद्धार गरेको छ।
नारायणी नदीमा बाँध बाँधी गिट्टी बालुवा निकाल्ने क्रममा बाँध फुटेर नदीको बिचभागको टापुमा फसेका उनीहरूको सकुशल उद्धार गरिएको हो।
उनीहरू नदीको बिच भागमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमान्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरूलाई बोटको सहायताले उद्धार गरेको हो। नदीको बाँध फुट्दा गिट्टी बालुवा लैजान प्रयोग भएको एउटा टिपर भने सोही ठाउँमा डुबेको छ।