
भजिट भिसामा मानव तस्करी गर्ने गिरोह कति शक्तिशाली छ भन्ने तथ्य पाँच महिनाअघि प्रहरी प्रधान कार्यालयले लिएको एउटा निर्णय एक दिन पनि टिक्न नसकेको घटनाले नै पुष्टि गर्छ । भिजिट भिसामा मानव तस्करी नरोकिएपछि प्रहरी प्रधान कार्यालयले त्रिभुवन विमानस्थलमा मानव बेचबिखन तथा अनुसन्धान ब्युरोको विशेष टोली खटाउने निर्णय गत ३ पुसमा गरेको थियो । निर्णयअनुसार ब्युरोको टोली केही घण्टा विमानस्थलमा खटियो पनि । तर, मानव तस्करीमा संलग्न गिरोहले दिएको दबाबपछि गृह मन्त्रालयको निर्देशनमा ब्युरोको टोली तत्काल विमानस्थलबाट फिर्ता हुन बाध्य भयो ।
बिहान १० बजे विमानस्थल पुगेको टोलीले केहीबेरमै ब्युरोबाट फर्किन दिर्नेशन आएपछि करिब दुई घण्टामै विमानस्थल छाडेको थियो । अहिले आएर गृहमन्त्री रमेश लेखकको सचिवालयसम्मै बिचौलियाको सिधा सम्पर्क रहेका तथ्यहरू खुल्दै गएका छन् ।
त्यसो त विमानस्थलका कर्मचारीले इन्स्पेक्टरको कमान्डमा खटिएको ब्युरोको टोलीलाई सुरुमै विमानस्थल हाताभित्र प्रवेशमै रोक्ने प्रयास गरेका थिए । जसको नेतृत्व सम्हालेका थिए, विमानस्थलस्थित अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराईले । उनै भट्टराई अहिले भिजिट भिसामा हुँदै आएको मानव तस्करी प्रकरणमा अख्तियारको अनुसन्धानमा छन् । भट्टराईलाई अख्तियारले पक्राउ गरेर उनका मोबाइल, ल्यापटपलगायतका डिभाइस
बरामद गरी अनुसन्धान गरिरहेको छ । उनलाई भने रिहा गरेको छ ।मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका प्रमुख एसएसपी दीपेन्द्र जिसीले विगतमा ब्युरोको टोली विमानस्थल खटिएको, तर पछि फिर्ता भएको बताए । ‘विगतमा ब्युरोको टोली विमानस्थलमा खटिएका रहेछन् । तर, उनीहरू केही घण्टापछि नै फिर्ता भएका रहेछन् । के करणले उनीहरू फिर्ता भएका हुन्, त्यस विषयमा भने मलाई जानकारी भएन,’ उनले भने ।
मानव बेचबिखन तथा अनुसन्धान ब्युरोको टोली विमानस्थलमा खटाउनुको उद्देश्य नै मानव तस्करी रोक्नका लागि हो । त्यसैले ब्युरोको उपस्थितिलाई विमानस्थल अध्यागमनका कर्मचारीले रुचाउँदैनन् । विमानस्थलमा ब्युरोको टोली जाने सूचनापछि रोक्ने उद्देश्यले अध्यागमन प्रमुख भट्टराईसहितका कर्मचारी गृह मन्त्रालयमै पुगेका थिए । उनीहरूकै ‘लबिङ’पछि ब्युरोको टोली अध्यागमन जानबाट रोकिएको थियो । ब्युरोको टोली केही घण्टा यात्रुहरूको भिडमा सुरक्षित रहेर पछि फर्किएका थिए ।
विमानस्थलमा ब्युरोको टोलीलाई सुरक्षाको बाहिरी घेरामा राख्ने भनिएको थियो । भिजिट भिसामा विदेश जान लागेका यात्रुको निगरानी गर्नुपर्ने मुख्य जिम्मेवारी थियो । शंंकास्पद देखिएकालाई नियन्त्रणमा लिने र अनुसन्धानपछि मात्रै उनीहरूलाई हिरासत मुक्त गर्नेसम्मको अधिकार दिने भनिएको थियो । सोहीअनुसारको निर्देशन प्रधान कार्यालयले लिखित रूपमै ब्युरोलाई दिएको थियो । तर, तत्काल गृह मन्त्रालयको दबाबमा प्रहरी उक्त निर्णयबाट ‘ब्याक’ हुन बाध्य भएको थियो ।
गृह मन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्य भने ब्युरोबाट खटिएको टोलीलाई विमानस्थलबाट फिर्ता गरिएको विषय जानकारीमा नभएको बताउँछन् । उनले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोको टोली गृहले फिर्ता गरेकोजस्तो त लाग्दैन । गृहमा बसेको म लामै अवधि भयो । ब्युरोकोे टोली फिर्ता भएको मेरो जानकारीमा भएन ।’
स्रोतका अनुसार भिजिट भिसामा खाडी देश जानेसँग अभ्यागमनमा ५० हजारसम्म र युरोपियन देश जानेसँग तीन लाख रुपैयाँसम्म असुली हुने गरेको छ । यसरी सेटिङमा दैनिक औसतमा सयजनालाई अध्यागमन कार्यालयले प्रस्थान अनुमति दिने गरेको छ । जसअनुसार दिनमै ५० लाखसम्म असुली हुने गरेको र त्यो पैसा विमानस्थलका कर्मचारीदेखि गृहमन्त्री लेखकसम्म पुग्ने गरेको स्रोत बताउँछ ।
सुरक्षाविद् तथा नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल त्रिभुवन विमानस्थल अध्यागमनमा कहीँ न कतै प्रहरीको उपस्थिति हुनुपर्ने बताउँछन् । उनले भने, ‘अध्यागमनबाट कलोसूचीमा नाम रहेका व्यक्तिहरू पनि छिरेका छन् । यही तबरले आतंककारी गतिविधिमा संलग्न हुनेहरू पनि सजिलै छिर्न सक्छन् । त्यसो हुँदा अध्यागमनको काम पासपोर्टमा छाप लगाउने मात्रै होइन, मुलुकको शान्तिसुरक्षासँग पनि यसले सम्बन्ध राख्छ । त्यसो हुँदा विमानस्थल अध्यागमनमा कहीँ न कतै प्रहरीको उपस्थिति हुनु जरुरी देखिन्छ ।’
चार वर्षअघि पनि खटाइएको थियो ब्युरोको टोली, अध्यागमन कर्मचारीकै विरोधपछि तत्कालीन गृहमन्त्री बालकृष्ण खाणले गरेका थिए फिर्ता
विमानस्थलमा मानव तस्करी मौलाएपछि चार वर्षअघि २६ फागुन ०७८ मा प्रहरी प्रधान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानव बेचविखन तथा अनुसन्धान ब्युरोको टोली खटाएको थियो । तर, सेटिङमा लागेका अध्यागमन कर्मचारी, बिचौलियालगायतको दबाबमा परेको गृह मन्त्रालय नेतृत्वले टोलीलाई चार दिनमै फिर्ता बोलाएको थियो । त्यतिबेला गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डे थिए । उनीहरू दुवै बहुचर्चित नक्कली भुटानी शरणार्थी काण्डमा पनि तानिए । हाल खाण धरौटीमा थुनाबाहिर छन् भने पाण्डे थुनामै छन् । विमानस्थलमा अहिले लागुऔषध नियन्त्रण ब्युरो, प्रधान कार्यालयमातहतको विशेष ब्युरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीसमेत खटिँदै आएका छन् ।
मानव बेचबिखन तथा अनुसन्धान ब्युरो प्रमुख एसएसपी दीपेन्द्र जिसीले भने–विगतमा ब्युरोको टोली विमानस्थलमा खटिएका रहेछ । तर, उनीहरू केही घण्टापछि नै फिर्ता भएका रहेछन् । के करणले उनीहरू फिर्ता भएका हुन्, त्यस विषयमा भने मलाई जानकारी भएन ।