
नवौँ प्रधानमन्त्री (पिएम) कप भलिबल प्रतियोगिताको महिलातर्फ नेपाल पुलिस र पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब शीर्ष स्थानमा पुगेका छन् । पुलिसले न्यु डायमन्ड स्पोर्टस्लाई सेटका आधारमा पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । पुलिस र न्यु डायमन्डले समान ९ अंक जोडेका छन् । तर, न्यु डायमन्डको तुलनामा पुलिसले धेरै सेटमा जित निकालेको छ । तीन खेल खेलेकोे नेपाल एपिएफ क्लब ६ अंकका साथ तेस्रो स्थानमा छ । लिगअन्तर्गत महिलातर्फ आइतबार पुलिस र डायमन्डले जित निकाले ।
दुवैले लिगमा अहिलेसम्म समान तेस्रो जित हात पारेका हुन् । न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबमाथि ३–१ को जित निकाल्यो । आर्मीले पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरी न्यु डायमन्डलाई २५–२१ ले हरायो । न्यु डायमन्डले दोस्रो सेटपछि लय समात्यो । आर्मीले भने दोस्रो सेट गुमाएपछि पुनरागमन गर्न सकेन । न्यु डायमन्डले दोस्रो सेटमा आर्मीलाई २५–१४ ले हरायो । पहिलो दुई सेटको समाप्तिसम्म दुवैले १–१ को बराबरी गरे । न्यु डायमन्डले तेस्रो सेट २५–२१ र चौथो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै अपराजित यात्रा जारी राख्यो । आर्मीविरुद्ध डायमन्डकी सलिना बुढामगर प्लेयर अफ दी म्याच भइन् । लिगमा आर्मीको यो लगातार तेस्रो हार हो । अर्को खेलमा साबिक विजेता पुलिसले एपिएफलाई ३–१ ले पाखा लगयो । पुलिसले बलियो आर्मीविरुद्ध पहिलो सेट २५–१९ ले जितेको थियो । आर्मीले दोस्रो सेटमा पुलिसलाई चुनौती दिँदै २६–२४ ले पाखा लगायो । विभागीय डर्बीको पहिलो दुई सेट १–१ को बराबरीमा थियो । त्यसपछि पुलिसले तेस्रो सेट २५–१८ र चौथो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै आर्मीलाई निराश बनायो ।
हेल्प नेपालको चौथो जित
हेल्प नेपालले पुरुषतर्फ लगातार चौथो जित निकालेको छ । जितका साथ १२ अंक जोडेको हेल्प नेपाल शीर्ष स्थानमा रह्यो । चौथो जित निकाल्ने क्रममा हेल्प नेपालले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । हेल्प नेपालले २५–२१, २५–२० र २५–२२ ले विजयी भयो । समान चार खेलमा जित हात पारेको घरेलु टोली गण्डकी प्रदेश दोस्रो स्थानमा छ । हेल्प नेपालले सेटका आधारमा अगाडि रहेको हो ।