१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १२ सोमबार
  • Tuesday, 27 May, 2025
२o८२ जेठ १२ सोमबार o९:१२:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

लालु यादवले जेठा छोरा तेजप्रतापलाई पार्टी र परिवारबाटै गरे निष्कासन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १२ सोमबार o९:१२:oo

बिहारका पूर्वमुख्यमन्त्री एवं राष्ट्रिय जनता दल (आरजेडी)का नेता लालुप्रसाद यादवले जेठा छोरा तथा पूर्वमन्त्री तेजप्रताप यादवलाई पार्टीबाट ६ वर्षका लागि निष्कासित गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत लालुले यस्तो जानकारी दिएका हुन् । व्यक्तिगत जीवनमा ‘नैतिक मूल्य–मान्यतालाई बेवास्ता’ गर्दा यस्तो निर्मम कदम चाल्नुपरेको लालुले बताएका छन् । लालुले तेजप्रतापलाई परिवारबाट पनि निष्कासन गरेको बताएका छन् ।

‘जेठो छोराको गतिविधि, उसका सार्वजनिक व्यवहार र गैरजिम्मेवार आचरण हाम्रो परिवारको मूल्य–मान्यताअनुरूप छैन । वर्तमान परिस्थितिमा म उसलाई पार्टी र परिवारबाट हटाएको छु । अबदेखि पार्टी र परिवारमा उसका कुनै भूमिका हुनेछैन । उसलाई ६ वर्षका लागि पार्टीबाट निष्कासित गरिएको छ,’ लालुले भने । सार्वजनिक जीवनमा मर्यादा र आचरणको महत्व हुने गरेको उनले उल्लेख गरेका छन् । ‘मैले सधैँ सार्वजनिक जीवनमा मर्यादाको वकालत गरेको छु । परिवारका आज्ञाकारी सदस्यहरूले यसलाई पालना गरेका छन्,’ उनले भनेका छन् । छोराले आफ्नो व्यक्तिगत जीवनका बारेमा निर्णय लिन सक्ने पनि उनले बताएका छन् । ‘जोकोही पनि उनीसँग सम्पर्कमा रहन सक्छन् । उसले स्वतन्त्र रूपमा निर्णय गर्न सक्छ ।’ 

लालुले तेजप्रतापलाई कारबाही गर्नुअघि सामाजिक सञ्जालमा तेजप्रतापको पोस्टलाई लिएर विपक्षी दलहरूले आरजेडीमाथि चर्को आलोचना गरेका थिए । उनको फेसबुक टाइमलाइनमा अनुष्का यादव नाम गरेकी एक महिलासँग लामो समयदेखि सम्बन्धमा रहेको दाबीसहित पोस्ट गरिएको थियो । तेजप्रताप १२ वर्षदेखि अनुष्कासँग सम्बन्धमा रहेको पनि उल्लेख गरिएको थियो । 

‘म तेजप्रताप यादव हुँ र यो तस्बिरमा मसँगै देखिने युवती अनुष्का यादव हुन् । हामी दुवैले एक–अर्कालाई विगत १२ वर्षदेखि चिन्छौँ र एक–अर्कालाई गहिरो माया गर्छौँ । हामी सम्बन्धमा पनि छौँ । म यो कुरा तपाईंहरू सबैसँग लामो समयदेखि साझा गर्न चाहन्थेँ, तर सही शब्द फेला पार्न सकिनँ । आज, यो पोस्टमार्फत म तपाईंहरूलाई मेरो हृदय खोल्दै छु । मलाई आशा छ कि तपाईंहरू सबैले बुझ्नुहुनेछ ,’ पोस्टमा भनिएको छ । उक्त पोस्ट केहीबेरमै डिलिट गरिएको थियो । धेरैले आरजेडी नेताले बिहारका पूर्वमन्त्री चन्द्रिका राईकी छोरी ऐश्वर्यासँग किन २०१८ मा विवाह गरे भनेर सोधेपछि उक्त पोस्ट आलोचित बनेको थियो । तेजप्रताप र ऐश्वर्या विवाहको केही महिनापछि अलग भएका थिए ।
एनडिटिभीबाट