
अन्तर्राष्ट्रिय यात्राको १८ वर्षपछि नेपाली महिला क्रिकेट टोलीले ऐतिहासिक सफलता हात पार्दै पहिलोपटक आइसिसी टी–२० महिला विश्वकपको ग्लोबल छनोटमा प्रवेश गरेको छ । अब नेपाली महिला क्रिकेटका लागि सन् २०२६ मा इंग्ल्यान्डमा हुने टी–२० विश्वकपको ढोका एक कदम मात्र टाढा छ । ग्लोबल छनोटमा १० टोलीबिच प्रतिस्पर्धा हुनेछ, जहाँ शीर्ष चार टोलीले टी–२० महिला विश्वकप २०२६ मा स्थान बनाउनेछन् ।
थाइल्यान्डमा जारी एसिया छनोट प्रतियोगितामा नेपालले सोमबार युएई (संयुक्त अरब इमिरेट्स)लाई पाँच विकेटले पराजित गर्दै ग्लोबल छनोटमा स्थान पक्का गरेको हो । यसअघि नेपालले लगातार ६ पटक प्रयास गर्दा पनि यो उपलब्धि हासिल गर्न सकेको थिएन । पछिल्लो ऐतिहासिक उपलब्धिपछि नेपाली क्रिकेटसम्बद्ध निकाय र समर्थक उत्साहित भएका छन् । यो सफलतालाई महिला क्रिकेटको विकासका लागि महत्वपूर्ण मोडको रूपमा हेरिएको छ ।
एसिया छनोटको समूहबाट नेपाल र आयोजक थाइल्यान्ड नै ग्लोबल छनोटमा स्थान बनाउन सफल भएका छन् । सुपर थ्रीमा लगातार दुई खेल हारेको युएई भने बाहिरिएको छ । समूह विजेताका लागि अब नेपाल र थाइल्यान्डबिच प्रतिस्पर्धा हुनेछ ।
सन् २००७ देखि सुरु भएको नेपाली महिला क्रिकेट टिमले पहिलोपटक ग्लोबल छनोटमा स्थान बनाएको हो । सन् २००७ देखि नेपाली टिमको सारथि पूर्वकप्तान रुबिना क्षेत्री र सीता रानामगर हुन् ।
यसअघि नै महिलाको यू–१९ टिमले विश्वकप खेलिसकेको छ । यो उपलब्धि अघिल्लो वर्ष मात्रै पूजा महतोको कप्तानीमा हात परेको थियो । पूजा अहिले सिनियर टोलीको उपकप्तान हुन् । यता, पुरुषको सिनियर टोलीले दुईपटक टी–२० विश्वकप खेलिसकेको छ । उमेर समूहले पनि निकैपटक विश्वकपमा स्थान बनाइसकेको छ ।
निर्णायक खेलमा कप्तान इन्दु बर्मा चम्किएपछि नेपाल तीन बलअघि नै जित निकाल्न सफल भयो । टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११४ रनको योगफल तयार पारेको थियो । प्रत्युत्तरमा नेपालले तीन बल बाँकी रहँदा पाँच विकेट गुमाउँदै जित निकाल्यो ।
नेपालका लागि कप्तान इन्दु बर्माले २८ बलमा दुई चौकासहित अविजित ३० रनको योगदान गरिन् । यसैगरी, रुबिना क्षेत्रीले २३, सम्झना खड्काले २१ र पूजा महतोले १३ रन बनाए । युएईका लागि मिसेल बोथ, सुरक्षा कोटे, वैष्णभी महेश र कप्तान ईशा ओजाले एक विकेट लिए ।
यसअघि युएईका लागि कप्तान ईशा ओजाले सर्वाधिक ३९ रन बनाएकी थिइन् । तीर्थ सतिशले २१, हिना होटचन्दनीले २० र लाभन्या केनीले १२ रन बनाएका थिए । नेपालका लागि मनीषा उपाध्यायले चार, कविता कुँवरले दुई तथा राजमती ऐरीले एक विकेट लिए ।
इंग्ल्यान्डमा आयोजना हुने आइसिसी टी–२० महिला विश्वकपमा स्थान बनाउन भने नेपालको अर्काे परीक्षा बाँकी नै छ । विश्वकपमा आयोजकसँगै टेस्ट राष्ट्रहरू अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, पाकिस्तान र श्रीलंकाको स्थान पक्का भैसकेको छ । वरीयताको आधारमा पाकिस्तान र श्रीलंकाले स्थान बनाएका हुन् ।
कुल १२ टोली सहभागी हुने टी–२० महिला विश्वकपमा चार स्थान ग्लोबल छनोटमार्फत तय हुनेछन् । ग्लोबल छनोटमा नेपाल र थाइल्यान्डसँगै बंगलादेश, अमेरिका र स्कटल्यान्डको सहभागिता सुनिश्चित भइसकेको छ । युरोप क्षेत्रबाट आयरल्यान्ड र नेदरल्यान्ड्सले छनोटमा स्थान बनाउने सम्भावना रहेको छ । अफ्रिकाबाट युगान्डा, जिम्बावे र नामिबियाजस्ता टोली प्रतिस्पर्धामा आउने अपेक्षा गरिएको छ । यी १० टोलीको प्रतिस्पर्धापछि मात्रै टी–२० महिला विश्वकप २०२६मा सहभागिता जनाउने अन्तिम चार टोलीको टुंगो लाग्नेछ ।
ग्लोबल छनोटमा प्रवेश गरेपछि कप्तान इन्दु बर्माले मिहिनेतको फल प्राप्त भएको प्रतिक्रिया दिइन् । ‘लामो समयको अन्तरालमा यो उपलब्धि पहिलोपटक हासिल गरेका छौँ । हामीले धेरै मिहिनेत गरेका थियौँ । त्यसको फल प्राप्त भएको छ । सम्भावनाको ढोका पनि खुलेको छ । उपलब्धिपछि सारा नेपाली खुसी भएका छन् । यो उपलब्धि सबै नेपालीमाझ समर्पित गर्न चाहन्छौँ ।’
क्यानसचिव पारस खड्काले आकस्मिक नभई संघर्षको परिणाम भएको बताए । ‘नेपाली महिला क्रिकेट टिमको आजको जित कुनै आकस्मिक परिणाम होइन, यो त उहाँहरूले ब्याट र बल समातेको पहिलो दिनदेखि नै सुनिश्चित भइसकेको भविष्य थियो । अडिग भएर अघि बढ्नुस्,’ उनले भने, ‘ क्रिकेट खेलेर के हुन्छ र ? भन्ने प्रश्नहरूका बिच राष्ट्रको प्रतिनिधित्व गर्दै आफ्नो जीवन खेलप्रति समर्पित गर्नु साँच्चै सजिलो कुरा होइन ।’
यस्तै, छनोट समिति संयोजक लेखबहादुर (एलबी) क्षेत्रीले २१ वर्षपछि आएको उपलब्धिले खेलाडीलाई मनोवैज्ञानिक रूपमा बलियो बनाएको बताए । ‘महिला क्रिकेट टिमले अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेको १८ वर्षपछि विश्वकप छनोटको ग्लोबल छनोटमा स्थान बनाउन सफल भएको छ । बाँकेबाट सुरु भएको महिला क्रिकेटले यो कालखण्डमा ठुलो आरोह–अवरोह बेहोर्न पुग्यो । पछिल्लो दुई वर्षमा क्रिकेट निकै राम्रो भएको छ,’ उनले भने, ‘केही खेलाडीले आफ्नो करियरको उत्तरार्धमा राम्रो प्रदर्शन गर्नुभएको छ । खेलाडीलाई मनोवैज्ञानिक रूपमा बलियो बनाएको छ । अब विश्वकपमा स्थान बनाउन स्तरीय मैदान र खेलाडीलाई निरन्तर खेल्ने वातावरण चाहिन्छ ।’
ग्लोबल छनोटमा स्थान बनाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली टिमलाई बधाई दिएका छन् । उनले यसलाई ऐतिहासिक उपलब्धि भन्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली छोरीहरूलाई बधाई ! २०२६ महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल पहिलोपटक प्रवेश गरेको छ । नेपालका लागि गर्वको क्षण हो । हार्दिक बधाई तथा शुभकामना ।’