१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २ शुक्रबार
  • Friday, 16 May, 2025
२o८२ जेठ २ शुक्रबार १५:२६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

उच्च अदालत विराटनगर धनकुटा इजलास धनकुटाद्वारा आजदेखि इ–बुलेटिन प्रकाशनको शुभारम्भ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २ शुक्रबार १५:२६:oo

उच्च अदालत विराटनगर धनकुटा इजलास धनकुटाले आजदेखि इ–बुलेटिन प्रकाशनको शुभारम्भ गरेको छ । अदालतले सम्पादन गर्दै आएका सेवाप्रवाहलाई आमनागरिकसामु पुर्‍याउने उद्देश्यले उच्च अदालत विराटनगर धनकुटा इजलासले इ–बुलेटिन प्रकाशनको शुभारम्भ गरेको हो ।

इ–बुलेटिन प्रकाशनको शुभारम्भ गर्दै उच्च अदालत विराटनगर धनकुटा इजलासका वरिष्ठतम् न्यायाधीश देशबहादुर सार्कीले अहिलेको सूचना प्रविधिको युगसँगै अदालतलाई पनि नागरिकको पहुँचसम्म पुर्‍याउने इ–बुलेटिन प्रकाशनको आरम्भ गरिएको बताए । नागरिकको आवश्यकता र सुझावको आधारमा इ–बुलेटिन सेवालाई आगामी दिनमा प्रभावकारी ढंगले विस्तार गर्दै लैजाने पनि न्यायाधीश सार्कीले बताए । 

उच्च अदालत पाटनले यसअघि इ–बुलेटिन प्रकाशन सेवा प्रारम्भ गरेको थियो भने उच्च अदालत विराटनगर धनकुटा इजलास धनकुटा दोस्रो रहेको छ । हरेक महिनाको २ गते मासिक रूपमा प्रकाशन गरिने इ–बुलेटिन सेवामा अदालतले सम्पादन गर्दै आएका हरेक गतिविधिलाई र न्यायलयसँग सम्बन्धित लेखहरू प्रकाशन गरिने उच्च अदालत विराटनगर धनकुटा इजलास धनकुटाका रजिस्ट्रार राजकुमार दाहालले बताए । अदालतलाई नागरिकमैत्री बनाउँदै सेवा प्रवाहलाई पारदर्शी र छिटोछरितो बढाउने अभियानअन्तर्गत इ–बुलेटिन प्रकाशनको प्रारम्भ गरिएको पनि रजिस्ट्रार दाहालले बताए ।

इ–बुलेटिन प्रकाशनको प्रारम्भको अवसर पारेर उच्च अदालत विराटनगर धनकुटा इजलास र मातहतका जिल्ला अदालतले आर्थिक वर्ष ०८१/८२ को वैशाख महिनासम्म सम्पादन गरेको मुद्दाहरूको विवरण पनि सार्वजनिक गरेको छ ।

जसमा हालसम्म उच्च अदालत विराटनगर धनकुटा इजलास र मातहतका जिल्ला अदालतमा परेका विभिन्न प्रकृतिका मुद्दामध्ये ६२.५१ प्रतिशत फैसला गरिएको जनाएको छ । जसमा उच्च अदालत विराटनगर धनकुटा इजलासमा गत साउनदेखि ०८२ वैशाख मसान्तसम्म परेका ३६८ वटा मुद्दामध्ये २८८ वटा फर्स्याेट भई ८० वटा मात्र बाँकी रहेको रजिस्ट्रार दाहालले बताए ।

त्यस्तै, मातहतका जिल्ला धनकुटा जिल्ला अदालतमा ६३५ वटा मुद्दा दर्ता भएकामा वैशाख मसान्तसम्ममा ३९४ वटा फैसला भएर २४१ वटा बाँकी रहेका छन् । तेह्रथुम जिल्ला अदालतमा ३८५ वटा मुद्दा दर्ता भएकोमा २४३ वटा फैसला भएर १४२ वटा बाँकी रहेको छ ।

संखुवासभा जिल्ला अदालतमा ५०८ वटा मुद्दा दर्ता भएकोमा २९१ वटा फैसला भई २१७ वटा बाँकी रहेको छ भने भोजपुर जिल्ला अदालतमा ४१४ वटा मुद्दा दर्ता भएकोमा २१५ वटा फैसला भई १९९ वटा बाँकी रहेको छ । दर्ता भएका मुद्दामध्ये भोजपुर जिल्ला अदालतमा कम मात्र फैसला भएको छ । सामान्यतया न्यायाधीशहरू अवकाश पाउनु एक महिना अगाडिदेखि नै मुद्दा नहेर्ने चलन रहेको छ । 

सोहीअनुसार भोजपुर जिल्ला अदालतका न्यायाधीशको अवकाश भएको र नयाँ न्यायाधीश भर्खरै मात्र सरुवा भई आएकाले लक्ष्यभन्दा कम मात्र मुद्दा फर्स्याेट भएको रजिस्ट्रार दाहालले बताए । भोजपुरमा चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म ५१.९० प्रतिशत मात्र मुद्दा फैसला भएको छ भने धनकुटामा ६२.०४ प्रतिशत, तेह्रथुममा ६३.१० प्रतिशत र संखुवासभामा ६२.५१ प्रतिशत मुद्दा फैसला भएको उच्च अदालत विराटनगर धनकुटा इजलास धनकुटाले जनाएको छ ।