
विपत् न्यूनीकरण तथा व्यवस्थापनमा सशस्त्र प्रहरीले स्थानीय नागरिकसँग मिलेर विपत् स्वयंसेवक टोली बनाउन थालेको छ । स्थानीय तहसँग समन्वय गरी विपत्सम्बन्धी आधारभूत तालिम दिएर देशैभरका वडामा विपत् व्यवस्थापन स्वयंसेवक टोली बनाउने प्रक्रिया अघि बढाएको हो ।
हरेक वडामा ३५ जनाको विपत् स्वयंसेवक टोली तयार गर्ने सशस्त्र प्रहरीको लक्ष्य छ । विभिन्न पालिकामा यससम्बन्धी तालिम सुरु भइसकेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल स्वयंसेवकको अभियानले विपत्बाट हुने सम्भावित क्षति धेरै कम गर्न सकिने बताउँछन् । ‘नागरिकसँगको सहकार्यले मात्र विपत्को जोखिम न्यूनीकरण कम गर्न सकिन्छ भनेर हामीले स्वयंसेवकको अवधारणा सुरु गरेका हौँ,’ उनले भने, ‘स्थानीय तहसँग मिलेर हरेक वडामा विपत् स्वयंसेवक तयार गर्छाैँ ।’
राजु अर्याल, आइजिपी सशस्त्र प्रहरी
नागरिकसँगको सहकार्यले मात्र विपत्को जोखिम न्यूनीकरण कम गर्न सकिन्छ भनेर हामीले स्वयंसेवकको अवधारणा सुरु गरेका हौँ । स्थानीय तहसँग मिलेर हरेक वडामा विपत् स्वयंसेवक तयार गर्छाैँ ।
विपत् स्वयंसेवक परिचालनसम्बन्धी कार्यविधि हालै गृह मन्त्रालयले स्वीकृत गरेसँगै विपत् व्यवस्थापनमा स्वयंसेवक अवधारण कार्यान्वयन गर्न लागिएको हो । कार्यविधिअनुसार हरेक वडामा स्थानीय तहसँग मिलेर तालिम दिई स्वयंसेवक टोली खटाइनेछ । तालिमका लागि भने स्थानीय तहले नै व्यक्ति छनोट, तालिम खर्च र विपत् व्यवस्थापनसम्बन्धी सामग्रीको व्यवस्थापन गर्नुपर्ने हुन्छ । एकैपटक सबै वडामा तालिम दिन नसकिने भएकाले क्रमशः सञ्चालन गरिने सशस्त्रले जनाएको छ ।
१८ दिने तालिमको पाठ्यक्रमसमेत तयार भइसकेको सशस्त्रका प्रवक्ता डिआइजी कालिदास धौबजीले बताए । उनका अनुसार उपत्यकाकै पालिकाबाट यसको अभ्यासको तयारी भइरहेको छ । विपत् व्यवस्थापनमा यो योजना नयाँ हुनुका साथै प्रभावकारी पनि हुने सशस्त्रको दाबी छ । विपत्सम्बन्धी सचेतनादेखि, सुरक्षा निकायसँग समन्वय र उद्धारसम्म यस्तो स्वयंसेवक टोलीलाई खटाउने लक्ष्य राखिएको छ । विपत् ठुलो समस्या बन्दै गएकाले स्थानीय तहलाई यसमा जिम्मेवार र नागरिकलाई पनि उत्तरदायी बनाउन यस्तो कार्यक्रम सुरु गरिएको प्रवक्ता धौबजी बताउँछन् ।
देशभरका सशस्त्र प्रहरी कार्यालयमा मनसुनजन्य विपत् न्यूनीकरणको तयारी
सशस्त्रले देशभरका कार्यालयमा मनसुनजन्य विपत् न्यूनीकरण तथा उद्धारका लागि पनि तयारी थालेको छ । टोलटोलमा विपत् सूचक राख्नेदेखि, सशस्त्र प्रहरीका सबै युनिटमा विपत् व्यवस्थापनका आधारभूत सामानको व्यवस्थापन गर्ने, विपत्सम्बन्धी अनुशिक्षण तथा अभ्यास सञ्चालन गर्न थालिएको छ ।
अघिल्ला वर्षहरूमा भएको विपत्का घटनालाई विश्लेषण गर्दै आगामी दिनमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि अवलम्बन गर्नुपर्ने उपायबारेमा मंगलबार प्रधान कार्यालय हलचोकमा छलफल भएको थियो । ‘विगतका कमजोरीबाट पाठ सिकेर कुनै गल्ती नहोस् भनेर देशैभरि पूर्वतयारीमा जोड दिइएको छ,’ डिआइजी धौबजी भन्छन्, ‘तालिमदेखि स्रोतसाधनको व्यवस्थापनमा सक्रियता बढाइएको छ ।’
सशस्त्र प्रहरीका युनिटमध्ये विपत् व्यवस्थापन साधनस्रोत सम्पन्न, कम साधनस्रोत भएका र नभएका गरी ३ तहमा विभाजन गरेर साधनस्रोत नभएका युनिटमा तत्काल आधारभूत सामग्री व्यवस्थापन गर्न थालिएको छ । छलफल कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विपत् व्यवस्थापनको लागि स्थानीय स्रोतसाधनको अधिकतम प्रयोग गर्न र सामान पुगेन भनेर पन्छिने छुट कसैलाई नभएको बताए ।
‘विपत्को समयमा सरकार छ, सुरक्षाकर्मी छन् भन्ने आमजनतामा भरोसा हुनुपर्छ,’ उनले भनेका छन्, ‘परिचालन ढिला नहोस् र सम्बन्धित ठाउँमा पुग्न अलमल नहोस् भनेर आफ्नो जिम्मेवारी क्षेत्रभित्र सबै युनिटले विपत् जनचेतना तथा रेस्पोन्स पेट्रोल (गस्ती) सञ्चालन गरी आफ्नो एरियाबारेमा जानकार रहनुहोला ।’
सशस्त्र प्रहरी बलको हाल कुरिनटारमा विपत् व्यवस्थापन तालिम शिक्षालय तथा काठमाडौं उपत्यकामा विपत् व्यवस्थापन गण छ । यसैगरी, धनकुटाको मूलघाट, बाराको निजगढ, धादिङको आदमघाट, सिन्धुलीको खुर्कोट, मकवानपुरको कुलेखानी, म्याग्दीको बेनी र नारच्याङ, दाङको भालुवाङ, सुर्खेतको चिप्ले र डडेलधुराको अमरगढीमा विपत् व्यवस्थापन बेस स्थापना गरिएको छ ।
सशस्त्रसँग हाल विपत् व्यवस्थापन तालिमप्राप्त जनशक्ति २ हजार ४ सय ८५ जना छन् भने गोताखोर १ सय ८ छन् । त्यस्तै, ३३ मोटरबोट तथा ९१ र्याफ्टबोट रहेको र यो पर्याप्त नहुँदा समस्या रहेको सशस्त्रका अधिकारी बताउँछन् ।
१ सय ८ गोताखोरहरूलाई आवश्यक उपकरणसहित सातै प्रदेशमा रहेका बाहिनी मुख्यालयहरू तथा सशस्त्र प्रहरी बल, नेपाल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, उपत्यकाको सिनामंलगस्थित २० नं. विपत् उद्धार गण, विपत् व्यवस्थापन बेस खुर्कोट र सिन्धुलीमा तैनाथ गरिएको छ ।
सशस्त्र प्रहरीले अब प्रत्येक दर्जाको आधारभूत तालिममा अनिवार्य रूपमा १५ दिनको विपत् व्यवस्थापन तालिम सञ्चालन गर्ने योजना बनाएको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।