Skip This
गृहमन्त्रीलाई मिटरब्याजपीडितको गुहार– न्याय नपाए आत्महत्या गर्छु 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १ बिहीबार
  • Thursday, 15 May, 2025
सौरभ यादव राजविराज
२o८२ जेठ १ बिहीबार १३:२१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गृहमन्त्रीलाई मिटरब्याजपीडितको गुहार– न्याय नपाए आत्महत्या गर्छु 

Read Time : > 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८२ जेठ १ बिहीबार १३:२१:oo

खुँखार मिटरब्याजी रामदेव साहबाट पीडितहरूले गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएका छन्। बिहीबार राजविराजमा गृहमन्त्री लेखकलाई भेटेर पीडितहरूले ज्ञापनपत्र बुझाएका हुन्। 

पीडितहरूले आफूहरू न्यायका लागि सडकदेखि अदालतसम्म पुगेको बताउँदै गृहमन्त्रीसँग पनि न्यायका लागि गुहार मागे। धेरै दिन भयो चारवटा एसपी आए जिल्लामा, तर अझैसम्म पक्राउ परेको छैन, गृहमन्त्रीसमक्ष मिटर ब्याजपीडितले अब न्याय नपाए आत्महत्याबाहेक कुनै पनि विकल्प नरहेको उनीहरूले सुनाएका छन् । उनीहरूले मिटरब्याजपीडितहरूको छलफलमा भएको समस्याबारे समेत ध्यानाकर्षणसमेत गराएका छन्।

विपन्नमाथि भएको अत्याचारबारे नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले साहुकार रामदेवलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिएका थिए। तर, निर्देशन दिएको तीन वर्ष बितिसक्दा पनि साह पक्राउ परेका छैनन्।

शीतल यादवले छोरालाई वैदेशिक रोजगारीमा पठाउन जग्गा राखेर साहसँग दुई लाख ७० हजार ऋण लिएका थिए। साहलाई अहिलेसम्म १२ लाख तिरिसकेका यादव भन्छन्, ‘अझै ४४ लाख तिर्न बाँकी छ, आन्दोलन गरेको यत्रो वर्ष भइसक्यो। राजविराजदेखि काठमाडौंसम्म गएँ। अझै न्याय पाएको छैन।’

यस्तै, बोदेबरसाइन नगरपालिका– ७ का मोहम्मद तैयव अलीले ०७१ सालमा छोरीको विवाहका लागि ३८ लाख ऋण लिएका थिए। अहिलेसम्म ९५ लाख रुपैयाँ तिरिसकेका उनी भन्छन्, ‘ऋण चुक्ता गरेपछि फिर्ता हुने गरी आफ्नो नाममा रहेको घरसहित एक बिघा १० कट्ठा जग्गा साहुको नाममा पास गरिदिएँ । अहिलेसम्म ९५ लाख तिरिसकेँ, तर साहुले जग्गा फिर्ता गरेको छैन। हेर्दाहेर्दै सुकुमवासी बनाइदियो।’

ठगी तथा आपराधिक विश्वासघात गरेको भन्दै साहुकार रामदेवसँगै उनकी श्रीमती शिवकुमारी, छोरा नन्दकिशोर, छोरीहरू रेणुकुमारी र अनुराधा, नाति २१ वर्षीय चन्दनकुमार तथा धनुषा खरिहानी टोल बस्ने कैलाश साह र पुष्पा साहविरुद्ध सप्तरीका १७ जनाले उजुरी दिएका थिए।

प्रहरीले तेलीका छोरा नन्दकिशोरलाई धरान बजारबाट र छोरी अनुराधालाई काठमाडौंबाट पक्राउ गरेको थियो। सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथप्रकाश अधिकारीको इजलासले ४४ वर्षीय नन्दकिशोर र उनकी दिदी अनुराधालाई २२ असार ०७९ सालमा  पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको थियो। सर्वोच्च अदालतको आदेशमा उनीहरू जनही ५०–५० लाख धरौटीमा थुनामुक्त भइसकेका छन्।

असार २६ गते धरानबाट पक्राउ परेकी शिवकुमारी पनि जिल्ला अदालतको आदेशमा २५ लाख धरौटीमा थुनामुक्त भइसकेकी छिन्। तर, रामदेवसहित अन्य पाँचजना भने अझै पक्राउ परेका छैनन्। रामदेवसहित छोरा विपिनकुमार, छोरी पुष्पा साह, नाति चन्दनकुमार साह र कैलाश साह फरार छन्।