
प्रधानमन्त्री केपी ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान् व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका छन् ।
पूर्वयोजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्र बैंकमा मेरो कोही ल्याउनुछैन । मेरिटोक्रेसीका आधारमा क्षमतावान् मान्छे ल्याउने हो । काम गर्न सक्ने मान्छे भए देशलाई भइहाल्छ । मेरो मान्छे भन्ने चाहिँदैन । म प्रधानमन्त्री हो, तर सरकारमा म मात्र छैन । त्यसैले म सकेसम्म मेरिटोक्रेसीलाई महत्त्व दिन्छु ।’
प्रधानमन्त्री ओलीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिस समितिको सिफारिसका आधारमा क्षमता भएका व्यक्ति नियुक्ति भएको स्पष्ट गरे । एक आयोगका अध्यक्षलाई मुख्यसचिव हुँदा चिनेकोबाहेक अरू पदाधिकारीसँग आफ्नो व्यक्तिगत चिनजान र सम्बन्ध नरहेको उनको भनाइ थियो ।
उनले पूर्वयोजनाकारहरूको संस्थाबाट आफ्ना सोच र अनुभवको आदान–प्रदान होस् भन्ने कामना गर्दै व्यक्तित्व टकराव नगरी संस्थाको दिगोपनाको कामना गरे ।