१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १७ आइतबार
  • Wednesday, 11 June, 2025
प्रकाश पौडेल बर्दिया
२o८१ चैत १७ आइतबार o७:५६:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बर्दियामा ८९ प्रतिशत घरधुरी सुरक्षित खानेपानीको पहुँचबाहिर

Read Time : > 1 मिनेट
प्रकाश पौडेल बर्दिया
नयाँ पत्रिका बर्दिया
२o८१ चैत १७ आइतबार o७:५६:oo

नेपालको संविधानमा नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइको ग्यारेन्टी गरेको छ । तर, बर्दियामा ८९ प्रतिशत घरधुरी सुरक्षित खानेपानीको पहुँचभन्दा बाहिर छन् । खानेपानी आयोजनाका लागि आवश्यक पर्ने बजेट व्यवस्थापन नगर्दा अझै पनि ९४ हजार ६ सय ३० घरधुरीका उपभोक्ता पानीका लागि चापाकलमा निर्भर रहेको खानेपानी तथा सरसफाइ कार्यालय बर्दियाले जनाएको छ ।

कार्यालयका अनुसार ११ प्रतिशत (११ हजार छ सय ९६) घरधुरीका उपभोक्ता पानीको पहुँचमा छन् । अधिकांश नागरिक आइरन र आर्सेनिक मात्रा बढी भएको चापाकलको पानी पिउन बाध्य छन् । आइरन र आर्सेनिक भएको पानी पिउँदा स्वास्थ्यमा नकारात्मक असरसमेत पर्ने गरेको छ ।गुलरिया नगरपालिकामा ८२.८२ प्रतिशत, मधुवनमा ८२.३० प्रतिशत, ठाकुरबाबामा ८६.०८ प्रतिशत, बारबर्दियामा ९२.७७ प्रतिशत, बाँसगढीमा ९२.२५ प्रतिशत, राजापुर नगरपालिकामा ९७.५० प्रतिशत घरधुरीका उपभोक्ता सुरक्षित खानेपानीको पहुँचबाहिर छन् ।

गेरुवामा ९८.६० प्रतिशत र बढैयाताल गाउँपालिकामा ९९.२३ प्रतिशत उपभोक्ता सुरक्षित खानेपानीको पँहुचभन्दा बाहिर रहेको खानेपानी तथा सरसफाइ कार्यालय बर्दिया प्राविधिक छविलाल बास्तोलाले बताए । प्रदेश सरकारले खानेपानीको आयोजना निर्माण र निर्माण सम्पन्न हुने चरणमा रहेका आयोजनाका लागि चालू आर्थिक वर्ष १० करोड १९ लाख चार हजार रुपैयाँ विभिन्न खानेपानी आयोजनामा छुट्याएको उनले बताए । बास्तोलाले भने, ‘बजेटले पर्खाल निर्माण, विद्युतीकरण, ट्यांकी निर्माण, खानेपानी आयोजनाको कार्यालय निर्माण र खानेपानीको पाइप जडानका खानेपानी आयोजनाको मर्मत तथा विस्तार, सरसफाइ तथा ढल व्यवस्थापन लागि बजेट आएको हो,’ उनले भने ।

खानेपानी तथा सरसफाइ कार्यालय बर्दियाका कार्यालय प्रमुख वसन्तकुमार दुलालले खानेपानीको आयोजना सञ्चालन गर्दा बजेट अभाव, कार्यालय सञ्चालनका लागि जनशक्ति अभाव, सडक विस्तारका काम हुँदा खानेपानीको पाइपमा टुटफुट हुनु, ठेक्का निर्माणको काम समयमा सम्पन्न नहुनु, खानेपानीको आयोजना स्थानीय तहको प्राथमिकतामा नपर्नु लगाएको कारण पनि खानेपानीको आयोजनाको काम समयमा सम्पन्न नहुने समस्या रहेको बताए ।

उनले भने, ‘कार्यालयमा पाँचजना सबइन्जिनियरको दरबन्दी भए पनि एकजना मात्र सबइन्जिनियर हुनुहुन्छ, जसले गर्दा काम गर्न समस्या भएको छ । खानेपानी आयोजना सञ्चालनका लागि उपभोक्ताले पनि लगानी गर्नुपर्छ । तर, उपभोक्ता समिति सक्रिय नहुँदा समस्या आउने गरेको छ ।’खानेपानी आयोजना नहुँदा आर्सेनिक र आइरन भएको पानी पिउनुपर्ने बाध्यता रहेको गेरुवा गाउँपालिका–४ गिदरपुरका पुष्कर काफ्लेले बताए । ‘स्वच्छ पानीको अभाव हुँदा कैयौँ रोग लाग्छ भन्ने थाहा छ । तर, वर्षौँदेखि आर्सेनिक तथा आइरन भएको पानी पिउनुपर्ने बाध्यता छ । हाम्रो परिवारले मैले थाहा पाएदेखि नै चापाकलको पानी पिउँदै आएको छौँ,’ उनले भने ।

गुलरिया नगरपालिका–४ तुलापुरका अमरराज लम्सालले स्वच्छ र सुरक्षित खानेपानी अभाव हुँदा चापाकलको पानी पिउन बाध्य हुनुपरेको बताए । ‘चापाकलको पानीमा भाडा तथा सेता लुगा धुँदा भाडा तथा कपडा पहेँलो हुन्छ । यस्तो पानी पिउनु बाध्यता छ । खानेपानी आयोजनाको पानी पनि त्यस्तै छ । खानेपानी आयोजनाको ट्यांकी निर्माण गरेर मात्र हुँदैन । पानीलाई सफा र सुरक्षित गर्न फिल्टर पनि राख्न जरुरी रहेको छ,’ उनले भने ।’ बर्दियामा अझै पनि ५५ वटा खानेपानीका आयोजना आर्थिक अभावले निर्माण तथा सञ्चालन हुन सकेका छैनन् । खानेपानी आयोजनाका लागि छुट्याइएको बजेट कम हुँदा आयोजना सञ्चालन स्थलमा पर्खाल निर्माण, बोरिङ गाड्ने, पाइप बिछ्याउने काम मात्र भएको छ ।