१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ११ सोमबार
  • Monday, 28 April, 2025
शिवजी यादव, पालिका अध्यक्ष
२o८१ चैत ११ सोमबार o६:१७:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज डिजिटल संस्करण

दलितको घरमा डोजर लगाउने पालिका अध्यक्षको संरक्षणमा जसपा नेपाल

रिहा गर्न जिल्ला प्रशासनमा ज्ञापनपत्र

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ११ सोमबार o६:१७:oo
  •  शिवजी र दिलीपलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट पाँच दिन म्याद थप
  •  जाहेरी फिर्ता लिन पीडितलाई प्रलोभन र दबाब

सिराहामा महायज्ञका नाममा दलितको घर भत्काउने गाउँपालिका अध्यक्षको बचाउमा जनता समाजवादी पार्टी (जसपा) नेपाल लागेको छ । जसपाले औरही गाउँपालिका अध्यक्षसमेत रहेका पार्टी जिल्ला सदस्य शिवजी यादवलाई थुनामुक्त गर्न माग गर्दै आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र नै बुझाएको हो ।

सिराहाको अर्नमा गाउँपालिका अध्यक्षसमेत रहेका जसपा जिल्ला अध्यक्ष अशोककुमार यादव नेतृत्वको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बराललाई ज्ञापनपत्र बुझाउँदै शिवजीसहित गिरफ्तार भएका सबैलाई थुनामुक्त गर्न माग गरेको छ ।

महायज्ञका लागि मण्डप बनाउने भन्दै डोजर लगाएर औरहीका दीपक मल्लिक (डोम) को घर भत्काएपछि महायज्ञ आयोजक समिति अध्यक्षसमेत रहेका शिवजी र समिति सचिव रहेका औरही– ५ का पूर्ववडाध्यक्ष एवं जनमत पार्टीका पालिका अध्यक्ष दिलीपकुमार यादव गत शुक्रबार पक्राउ परेका थिए । उनीहरूलाई हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालतले आइतबारै पाँच दिन म्याद थपेको छ । दीपकको घरमा डोजर चलाउन निर्देशन दिने महायज्ञका मूलपुजारी बजरंगी बाबा भने फरार छन् । 

पीडित दीपकले शनिबार जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा उनीहरू तीनैजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । तर, जसपाले भने निर्वाचित जनप्रतिनिधिलगायत व्यक्तिमाथि राजनीतिक प्रतिशोध साधिएको आरोप लगाएको छ । ‘झुटा मुद्दामा अध्यक्षजस्तो मर्यादित व्यक्तिलगायत अन्य व्यक्तिलाई थुनिएको र उनीहरू चढेर आएको मोटरसाइकलसमेत राखिएको हुँदा अध्यक्षलगायतलाई अविलम्ब स–सम्मान थुनामुक्त गर्न माग गर्दछौँ,’ ज्ञापनपत्रमा भनिएको छ ।

त्यति मात्र होइन, जसपाले आन्दोलनको पनि चेतावनी दिएको छ । ‘आन्दोलन गर्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थिति र क्षतिको जिम्मेवार जिल्ला प्रशासन, जिल्ला प्रहरी र सम्बन्धित सरोकारवालाहरू हुने जानकारी गराइन्छ,’ प्रशासनमा जसपाले बुझाएको ज्ञापनपत्रमा भनिएको छ । अदालती प्रक्रियामा गइसकेको मुद्दाको अनुसन्धानमा पार्टीको तर्फबाट सहयोग गर्नुपर्ने होइन र ? भन्ने प्रश्नमा अध्यक्ष अशोककुमारले ‘पार्टीको कुरा ज्ञापनपत्रमा जे छ त्यही हो’ भन्दै थप बोल्न चाहेनन् । ‘ज्ञापनपत्रमा जे छ त्यही हो, अहिले बैठकमा छु, पछि कुरा गरौँला’ भन्दै उनले फोन काटिदिए । 

जनता आवास कार्यक्रममार्फत बनाइएको दुईकोठे पक्की घर भएको ठाउँमा विष्णु महायज्ञ लगाउने भन्दै बजरंगी बाबाको निर्देशनमा पालिका अध्यक्ष शिवजी र पूर्ववडाध्यक्ष दिलीपकुमारले गत १० फागुनमा जेसिबी लगाएर दीपकको घर भत्काएका थिए । उनको परिवारलाई बिजुली र खानेपानीसमेत नभएको गल्फुधारको डिलमा बनाइएको सुरक्षित बाँसको कटेरोमा विस्थापित गराएका छन् । 

शिवजी र दिलीपलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट पाँच दिन म्याद थप
औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीपकुमार यादवलाई हिरासतमा राखेर अनुसन्धान गर्न सिराहा जिल्ला अदालतले आइतबार पाँच दिनको म्याद दिएको छ । अदालतका स्रेस्तेदार निरज पोखरेलका अनुसार न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा पहिलोपटक अनुसन्धानका लागि हिरासतमा राख्न पाँच दिन अनुमति दिइएको हो । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी रमेश पण्डितले फरार पुजारीको पनि खोजी भइरहेको बताए । 

जाहेरी फिर्ता लिन पीडितलाई प्रलोभन र दबाब
दीपक मल्लिक र उनको परिवारलाई जाहेरी फिर्ता लिन दबाब आउन थालेको छ । किटानी जाहेरी दर्तापछि दीपक र उनकी पत्नी अनितादेवीलाई पालिका अध्यक्षका छोरा रुकेश यादव, ज्वाइँ इन्द्रदेव यादवसहित जसपाका स्थानीय नेताले ‘एक कट्ठा नम्बरी जग्गा किनिदिने, पक्की घर बनाइदिने, खानेपानी, बिजुलीसहितको व्यवस्था गरिदिने’ प्रलोभन दिइरहेका छन् ।

मौखिक कबोलप्रति विश्वास नभए निश्चित समय किटान गरी कागज गरिदिने र तोकिएको समयभित्र काम नभए पुनः त्यही कागजले मुद्दा जोड्न सकिन्छ भन्दै फकाइरहेको पीडित परिवारनिकटले बताए । पालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई म्याद थपका लागि अदालत लगिने भएपछि आइतबार दिनभर श्रीमती, छोराछोरी र केही आफन्तसहितले सिराहा सदरमुकामै रहेका पीडित दीपकलाई विभिन्न ढंगले प्रलोभन र दबाब दिएर बयान फेर्न लगाउने प्रयास गरेका थिए ।

 १७ चैतदेखि औरही– ५ मा १० दिनसम्म गर्ने भनिएको विष्णु महायज्ञस्थलको पूर्वदक्षिण कुनामा घर रहेको डोम परिवारलाई पालिकाकै जेसिबी प्रयोग गरी १० फागुनमा उठीवास गराइएको घटना मिडियामार्फत उजागर भएको थियो । त्यसपछि गाउँपालिकाको संयन्त्र नै लागेर पीडितको घर भत्काएको भोलिपल्ट ११ फागुनको मिति राखेर फर्जी मन्जुरीनामा बनाई ६ चैतमा पीडितलाई ‘जग्गाको प्रमाण हो’ भन्दै झुक्याएर सही गराइएको खुलिसकेको छ । 

 सिराहा घटनाका दोषीमाथि कारबाही गर्न माग 
कांग्रेसले सिराहाको औरही– ५ मा विष्णु महायज्ञ आयोजना गर्ने उद्देश्यले दलित समुदायका दीपक मल्लिकको घर भत्काउने कार्य सामाजिक रूपमा निन्दनीय र कानुनी रूपमा दण्डनीय अपराध भएको टिप्पणी गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार पार्टी मुख्यालय सानेपामा बसेको बैठकले घटनामा दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ । यस्ता घटना भविष्यमा निरुत्साहित गर्न पनि सरकारसँग कांग्रेसले आग्रह गरेको छ । जातीय भेदभाव र छुवाछुतजन्य कार्यविरुद्ध सामाजिक अभियान सञ्चालनमा लाग्न पार्टीपंक्तिलाई आह्वान गरेको छ ।