Skip This
प्रधानमन्त्री कार्की–मोदी भोलि टेलिफोन वार्ता
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज १ बुधबार
  • Wednesday, 17 September, 2025
२o८२ असोज १ बुधबार o६:१८:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्री कार्की–मोदी भोलि टेलिफोन वार्ता

राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री कार्की नजाने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असोज १ बुधबार o६:१८:oo
  • टेलिफोन वार्ताको पूर्वसन्ध्यामा प्रधानमन्त्री कार्कीलाई भारतीय राजदूत नवीन श्रीवास्तवमार्फत मोदीको बधाई सन्देश, नेपाल र भारतबिचको मैत्रीपूर्ण सम्बन्ध र सहयोग अझ प्रगाढ बनाउने मोदीको प्रतिबद्धता

नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच बिहीबार (भोलि) द्विपक्षीय टेलिफोन वार्ता हुने भएको छ । नेपाल र भारतका परराष्ट्र मन्त्रालयबिचको आन्तरिक समन्वयपछि दुवै प्रधानमन्त्रीबिच वार्ता तय भएको हो । भारत भ्रमणको तयारी भइरहेको वेला जेन–जी विद्रोहमा केपी ओलीले राजीनामा गरेका थिए ।

भिडियो वार्ताको पूर्वसन्ध्यामा भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री मोदीले राजदूत श्रीवास्तवमार्फत समकक्षी कार्कीलाई बधाई सन्देश पठाएका छन् । श्रीवास्तवले मोदीको बधाई सन्देश हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘नेपाल र भारतबिचको मैत्रीपूर्ण सम्बन्ध र सहयोगलाई अझ प्रगाढ बनाउने भारतको प्रतिबद्धता पनि व्यक्त भएको छ,’ परराष्ट्रले भनेको छ । मोदीले पत्रमा दुई देशबिच गहिरो सम्बन्ध कायम रहेको र आगामी दिनमा कार्की नेतृत्वको सरकारसँग मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएको बताइएको छ ।

भारतीय राजदूतमार्फत प्रधानमन्त्री कार्कीले बधाई सन्देशका लागि धन्यवाद व्यक्त गर्दै बिहीबार पारस्परिक हितका विषयमा विस्तृतमा छलफल गर्ने जवाफ दिएकी छिन् ।

‘परिवर्तित सन्दर्भमा अन्तरिम सरकारका प्राथमिकताका विषयहरू र यसमा नेपालले भारतबाट गरेको सहयोग अपेक्षालगायतका सन्दर्भमा छलफल गर्ने तयारी छ,’ परराष्ट्र स्रोतले भन्यो, ‘भारत सरकारले यो परिवर्तनलाई समर्थन गरेको छ, प्रधानमन्त्री मोदीले खुलेर प्रशंसा गर्नुभएको सहजतामा हामी विशेषत: पुनर्निर्माण र आगामी चुनावका लागि सहयोगसहितका समग्र विषयमा छलफलको तयारी गर्दै छौँ ।’

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री कार्कीलाई सामाजिक सञ्जाल एक्समार्फत यसअघि नै बधाई दिएका थिए भने मणिपुरमा शनिबार एक कार्यक्रममा मोदीले कार्कीको नियुक्ति महिला सशक्तीकरणको अनुपम उदाहरण भन्दै प्रशंसा गरेका थिए । प्रधानमन्त्री कार्कीको शपथग्रहण समारोहमा पनि श्रीवास्तव सहभागी थिए । प्रधानमन्त्री कार्कीलाई पहिलो बधाई सन्देश जापानबाट आएको थियो भने पहिलो शिष्टाचार भेट भारतीय राजदूतले गरेका छन् ।

नयाँ परिस्थितिमा बनेको सरकारले छिमेक र मित्रराष्ट्रसँगको कस्तो नीति लिन्छ भन्नेमा चौतर्फी चासो छ । प्रधानमन्त्री कार्कीले बिबिसीलाई सोमबार दिएको अन्तर्वार्तामा आगामी ६ महिनाको समयसीमा रहे पनि छिमेकी देशहरूसँग परम्परागत सम्बन्ध कायम रहने बताएकी छिन् । ‘उत्तरमा भएको मित्रराष्ट्र चीन र दक्षिणमा भएको मित्रराष्ट्र भारतसँग हाम्रो सम्बन्ध कहिल्यै पनि बिग्रेको छैन,’ उनले भनेकी छिन्, ‘सबैसँग सौहार्द सम्बन्ध होस्, अझ मित्रवत् सम्बन्ध होस्, कहीँ–कतै विवाद नहोस् भन्ने हो ।’

जेन–जी पुस्ताको आन्दोलनअघि निवर्तमान प्रधानमन्त्री केपी ओली दसैँपछि भारत जाने तयारी थियो । सुरुमा ३१ भदौ र १ असोजमा ओली भारतको बोधगया जाने र प्रधानमन्त्री मोदीसँग त्यहीँ भेटवार्ता गरेर फर्किने कार्यतालिकामा छलफल भएको थियो । तर, मोदीको व्यस्तताका कारण ओलीको भ्रमण दसैँलगत्तै नयाँदिल्लीमा हुने गरी तयारी भइरहेको थियो । ‘नयाँ परिस्थितिमा दुई देशका प्रधानमन्त्रीबिच भिडियो वार्ता हुँदै छ,’ परराष्ट्रका एक उच्च अधिकारीले भने ।

राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री कार्की नजाने 
संयुक्त राष्ट्रसंघीय महासभाको ८०औँ सत्रमा नेपालको उच्चस्तरीय प्रतिनिधित्व नहुने भएको छ । समयको चापका कारण प्रधानमन्त्री सुशीला कार्कीको भ्रमण नहुने परराष्ट्रका एक उच्च अधिकारीले बताए । संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापाले महासभामा सहभागिता जनाउने तयारी छ । सेप्टेम्बर अन्तिम साता महासभामा उच्चस्तरीय छलफल हुँदै छ । ‘परिवर्तित परिस्थितिमा प्रधानमन्त्रीको भ्रमण सम्भव छैन । परराष्ट्रमन्त्रीको नियुक्ति भइसकेको छैन । स्थायी प्रतिनिधि (राजदूत) नेतृत्वको प्रतिनिधिमण्डल महासभामा सामेल हुने तयारी छ । यद्यपि, प्रधानमन्त्रीज्यूले यसबारेमा परराष्ट्रलाई निर्देशन गरिसक्नुभएकोचाहिँ छैन,’ परराष्ट्रका एक अधिकारीले भने । कार्की आउनुपूर्वका प्रधानमन्त्री केपी ओली महासभाका लागि न्युयोर्क जाने व्यवस्थापकीय तयारी पूरा भएको थियो ।