
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनका लागि निर्णायक कदम चाल्ने वेला आएको बताएका छन् । आइतबार ललितपुरमा आयोजित काठमाडौं उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना परियोजनाको रणनीतिक वातावरणीय मूल्यांकनसम्बन्धी सरोकारवालाको बैठकमा मन्त्री दाहालले यस्तो बताएका हुन् ।
‘काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला समेटिएको काठमाडौं उपत्यका नेपालको आर्थिक, सांस्कृतिक र प्रशासनिक गतिविधिको केन्द्र हो,’ उनले भने, ‘तर, यहाँको यातायात प्रणाली निकै दबाबमा छ । संघीय राजधानी एवं सांस्कृतिक विविधता र सम्पन्नतायुक्त क्षेत्र भएकाले पनि यहाँको यातायात व्यवस्थापन सहज र सुविधायुक्त बनाउनुपर्नेछ ।’
सन् २०१२ मा बनेको र सन् २०१७ मा अद्यावधिक गरिएको पछिल्लो गुरुयोजनायता यातायातको अवस्था निकै बिग्रिएको र बढ्दो सवारीसाधन, अव्यवस्थित सहरीकरण र अपर्याप्त पूर्वाधारका कारण अनावश्यक ट्राफिक जाम, ढिलाइ र वायु प्रदूषण बढेको मन्त्री दाहालको ठम्याइ छ । जसले गर्दा दैनिक यातायातका साथै आर्थिक उत्पादकत्व र जनस्वास्थ्यलाई पनि प्रभावित पारेको उनले बताए ।
उनले भने, ‘यदि हामीले अहिले पनि निर्णायक कदम नचालेमा अवस्था थप बिग्रनेछ, जसले उपत्यकामा बस्न योग्य र दिगोपनलाई खतरामा पार्नेछ । यो परियोजना छोटो र दीर्घकालीन समाधान खोज्ने हाम्रो अन्तिम अवसर हुन सक्छ ।’