
कृषिप्रधान देश नेपालको चामलमा परनिर्भरता झन्–झन् बढ्दै गइरहेको छ । सरकारले धान–चामलगायत खाद्य वस्तुको आयात प्रतिस्थापन गर्दै आत्मनिर्भर हुने घोषणा गरिरहँदा नेपालगन्ज नाकाबाट मात्रै एकै वर्षमा झन्डै ६ अर्ब रुपैयाँको चामल भित्रिएको छ ।
गत आर्थिक वर्ष ०८१/८२ मा नेपालगन्ज नाकाबाट पाँच अर्ब ९२ करोड २४ लाख रुपैयाँबराबरको ६ करोड ७६ लाख ८३ हजार किलो चामल आयात भएको छ । अघिल्लो आव ०८०/८१ मा भने चार अर्ब १२ करोड २६ लाख ६९ हजार रुपैयाँबराबरको तीन करोड ३७ लाख ३४ हजार किलो चामल आयात भएको नेपालगन्ज भन्सार कार्यालयको तथ्यांक छ ।
कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले चामलको आयात बढिरहेको बताए ।
नेपालगन्ज नाकाबाट अघिल्लो आवको तुलनामा गत आवमा ३०.३८ प्रतिशत अर्थात् एक अर्ब ७९ करोड ९७ लाख ६४ हजार रुपैयाँले बढी चामल आयात भएको उनले बताए ।
उक्त वर्ष मकै आयातमा कमी आए आए पनि मूल्य भने बढेको छ । गत आवमा दुई अर्ब १९ करोड ४४ लाख ८१ हजार मूल्यबराबरको पाँच करोड १० लाख ८९ हजार दुई सय ८१ किलोग्राम मकै आयात हुँदा अघिल्लो आवमा दुई अर्ब चार करोड १८ लाख १५ हजार मूल्य पर्ने पाँच करोड २४ लाख ५५ हजार तीन सय २० किलोग्राम मकै आयात भएको थियो ।त्यसैगरी, पिना आयातमा भने कमी आएको छ । गत आवमा एक अर्ब ७४ करोड ४१ लाख ४० हजार रुपैयाँबराबरको दुई करोड
७५ लाख ४७ हजार नौ सय ७० किलोग्राम भटमासको पिना आयात भएको छ । अघिल्लो आवमा दुई अर्ब ४१ करोड ८४ लाख ६५ हजारबराबरको तीन करोड ९४ हजार नौ सय ८० किलो भटमासको पिना आयात भएको थियो ।
त्यस्तै, रकमका आधारमा बढी आयात हुनेमा डिजेल (इन्धन) राखेको कार्यालयको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार गत वर्ष १३ अर्ब ८१ करोड ८५ लाख ६३ हजार रुपैयाँबराबरको डिजेल आयात भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा ५९ करोड ५८ लाख ९१ हजार रुपैयाँ कम मूल्यबराबरको डिजेल आयात भएको प्रमुख भन्सार अधिकृत पौडेलले जानकारी दिए । अघिल्लो आवमा १४ अर्ब ४१ करोड ४४ लाख ५४ हजार रुपैयाँबराबरको डिजेल आयात भएको थियो ।
खाना पकाउने एलपी ग्यास आयातमा पनि वृद्धि भएको कार्यालयले जनाएको छ । एक वर्षको अवधिमा पाँच अर्ब ४१ करोड ९० लाख २० हजार मूल्यबराबरको चार करोड ९४ लाख ३० हजार नौ सय ६० किलोलिटर खाना पकाउने एलपी ग्यास आयात भएको पौडेलले जानकारी दिए । उनका अनुसार अघिल्लो आवमा चार अर्ब ६४ करोड ४२ लाख ६५ हजार मूल्यबराबरको चार करोड ५५ लाख २५ हजार एक सय १० किलोग्राम एलपी ग्यास आयात भएको थियो ।
भारतबाट आयात हुने वस्तुमध्ये पेट्रोल चौथो नम्बरमा परेको छ । गत आवमा चार अर्ब ८२ करोड ३७ लाख आठ हजार मूल्यबराबरको ५५ हजार चार सय आठ किलोलिटर पेट्रोल आयात भएको प्रमुख भन्सार अधिकृत पौडेलले जानकारी दिए ।
कार्यालयका अनुसार गत आवमा तीन अर्ब १३ करोड १५ लाख ९८ हजार मूल्य पर्ने ६ करोड ६७ लाख ५५ हजार चार सय ६० किलोग्राम शुद्ध फलाम आयात भएको छ । अघिल्लो आवमा तीन अर्ब २९ करोड ९४ लाख ४१ हजार मूल्य पर्ने ६ करोड ५५ लाख ४२ हजार आठ सय ७० किलोग्राम शुद्ध फलाम आयात भएको प्रमुख भन्सार अधिकृत पौडेलले जानकारी दिए ।