
छहारी युवा क्लबले राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको छ । बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा काठमाडौंको छहारीले भक्तपुरको एफसी रिएले क्लबलाई ३–० ले हरायो । दिनको अर्काे खेलमा नेपाल खेलकुद क्लबलाई १–० ले हराउँदै संकटा क्लबले विजयी सुरुवात गरेको छ ।
वर्षाबिच सम्पन्न समूह ‘ए’को खेलमा छहारीलाई जिताउन ललिता मण्डल, सुमित्रासिंह पाख्रिन र सनिमामाया लोले गोल गरेका थिए । खेलको प्लेयर अफ दी म्याच सुमित्रा भइन् । टोलीले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल गरेको थियो । जितसँगै छहारीले समूहमा ३ अंक जोडेको छ । एन्फा मैदानमा अत्यधिक वर्षा भएपछि खेल ३० मिनेट रोकिएको थियो । निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा मुख्य फिफा रेफ्री अञ्जना राईले खेल रोकेकी थिइन् ।
खेलको सातौँ मिनेटमै ललिताले छहारीलाई अग्रता दिलाइन् । १९औँ मिनेटमा सुमित्राले अग्रता दोब्बर बनान् । यसपटक रिएलेकी गोलकिपर जोश्ना श्रेष्ठले गल्ती गरिन् । सुमित्राले बक्सबाहिरबाट हानेको प्रहार जोश्नालाई लाग्दै गोल भएको थियो । ६२औँ मिनेटमा सनिमाले गोल गर्दै जित सुनिश्चित गरेकी हुन् ।
फिफाको सहयोगमा सुरु भएको प्रतियोगितामा सहभागी १४ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । सिंगल राउन्ड रोबिन पद्धतिको प्रतिस्पर्धापछि समूहका शीर्ष दुई टोलीले राष्ट्रिय महिला लिगमा सिधै स्थान पक्का गर्नेछन् । त्यस्तै, अंकतालिकाको तेस्रो स्थानमा अटाउने दुई टोलीमध्येको विजेता पनि महिला लिगमा छनोट हुनेछ । यहाँबाट छनोट भएका पाँच तथा विभागीय तीन टोली तथा पछिल्लोपटक राष्ट्रिय लिगको अन्तिम पाँचमा स्थान सुरक्षित गरेका वालिङ नगरपालिका र बागमती क्लबबिच राष्ट्रिय महिला लिग आयोजना हुनेछ ।
छनोटको समूह ‘ए’मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट्स फुटबल क्लब, आरएस रिसोर्ट एन्ड बिच फुटबल र एफसी रिएले तथा समूह ‘बी’मा न्युरोड टिम (एनआरटी), संकटा एफसी, बुटवल लुम्बिनी एफसी, एनबिएम पोखरा गल्र्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर र नेपाल खेलकुद क्लब छन् ।
संकटाको संघर्षपूर्ण जित
सहिद स्मारक ‘ए’ डिभिजन लिग टोली संकटा क्लबले नेपाल खेलकुद क्लबविरुद्ध १–० को कठिन जित दर्ता गरेको छ । दोस्रोपटक छनोट खेलिरहेको संकटालाई सातदोबाटास्थित एन्फा मुख्यालयमा जिताउन यशोदा शाहीले विजयी गोल गरिन् । उनले खेलको ६०औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । छहारीका रक्षकले क्लियर गरेको बललाई यशोदाले १८ यार्ड बक्सबाट सिधै जाली चुमाएकी थिइन् ।