मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २७ मंगलबार
  • Tuesday, 12 August, 2025
२o८२ श्रावण २७ मंगलबार १३:१४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमतीमा कांग्रेस विवाद : विश्वासको मत आजै लिने बानियाँको तयारी, केही दिन सार्न लामा पक्षको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २७ मंगलबार १३:१४:oo

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आजै संसद् फेस गरेर विश्वासको मत लिने तयारी गरेका छन् । पार्टीभित्र आन्तरिक किचलो उत्कर्षमा पुगेका वेला मुख्यमन्त्री बानियाँ संसद् फेस गरेर अघि बढ्ने तयारीमा छन् ।

कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रवक्ता सुरजचन्द्र लामिछानेका अनुसार मुख्यमन्त्री बानियाँ संसदबाट विश्वासको मतसम्बन्धी प्रस्ताव फेस गरेर अघि बढ्न तयारीमा छन् । पार्टीको निर्देशन पनि पहिलो विश्वासको मत लिएर बाँकी विषयमा सहकार्य गर्ने रहेकाले सोहीअनुसार मुख्यमन्त्री बानियाँ अघि बढेको उनको भनाइ छ  ।

‘संसद्को कार्यसूची बनिसकेको छ । साझेदार दल पनि प्रक्रिया अघि बढाउन तयार रहेको छ । सभामुखसँग पनि सहकार्य भएर विश्वासको मतसम्बन्धी प्रस्ताव अघि बढाउन कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर प्रक्रिया थालिएको छ,’ उनले भने, ‘त्यसैले अब पछि हट्ने वा सार्ने भन्ने अवस्था छैन । हामी पार्टी सभापतिको निर्देशनअनुसार नै अगाडि बढ्छौँ ।’ पहिले विश्वासको मत दिने र अन्य विषयमा छलफल गरेर मिलाउन सभापतिले दुवै समूहलाई निर्देशन दिएको उनको दाबी छ । 

पार्टीले माग सम्बोधन गर्ने सकारात्मका देखाउँदै गर्दा निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा समुह हठमा लागेर काठमाडौं बसिरहेको उनले बताए । पार्टीले निर्देशन गरेअनुसार ह्विप लगाएको अवस्थामा अनुशासन तोड्नु उचित नहुने उनको भनाइ छ ।

विगतमा पार्टीको अवस्था, सन्तुलन नमिलाई आफूअनुकूल मन्त्री नियुक्त गरेर हाल यसै हुनुपर्छ भन्नु उचित नरहेको उनले बताए । पार्टी र संसदीय दलबाट माग सम्बोधन गर्ने विषयमा छलफलका लागि तयारी भइरहेका बखत तत्काल यसै हुनुपर्छ भन्नु लामा समुहको अहमता भएको उनले बताए ।

बागमतीमा लामा पक्षको आग्रह– विश्वासको मत केही दिन पर सारौँ

यता बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिने विषयमा असन्तुष्ट रहेको पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा तामाङ पक्षले विश्वासको प्रस्ताव केही दिनका लागि पर सार्न आग्रह गरेको छ ।

मुख्यमन्त्री बानियाँले मंगलबार अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको छ । तर, लामा पक्षले पूर्वसहमति कार्यान्वयन नगरी विश्वासको मत प्रक्रियामा अघि बढ्न नहुने जनाएको छ ।

कांग्रेस–एमाले गठबन्धनबाट २० साउनमा मुख्यमन्त्री बनेका बानियाँलाई ६४ सांसदको समर्थन आवश्यक छ । तर, कांग्रेसका १४ सांसद लामा पक्षमा उभिँदै असन्तुष्टि जनाइरहेकाले मुख्यमन्त्री बानियाँलाई बहुमत सुरक्षित गर्न चुनौती थपिएको छ।

लामा नेतृत्वको समूहले कांग्रेस नेतृत्वसँग भएको पूर्वसहमतिअनुसार तीनजना मन्त्रीको तत्काल नियुक्ति र शपथको माग गर्दै आएको छ । माग पूरा नगरेसम्म विश्वासको मतमा समर्थन नदिने स्पष्ट सन्देश समूहले मुख्यमन्त्रीलाई दिएको दाबी छ।
‘हामीले हाम्रो विषय राखिसकेका छौँ, सभापति शेरबहादुर देउवाले मिलाउने प्रतिबद्धता जनाउनुभएको छ। तर साथीहरूले आफूलाई अपमानित भएको महसुस गरिरहेका छन्,’ लामा पक्षको भनाइ छ ।