
रास्वपाका शिशिर खनालले भ्रष्टाचार र बिचौलियाको संरक्षण गर्ने सरकारले मुलुक र लोकतन्त्रलाई दुर्घटनातर्फ लाने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै आफूहरूले भिजिट भिसा प्रकरणको कुरा उठाए पनि आवाजलाई निस्तेज पार्ने प्रयास भइरहेको बताए ।
उनले भने, ‘केही दिनअघि गृह मन्त्रालयका कर्मचारीले घुस लिइरहेको सूचना प्रहरीकहाँ पुग्छ । तर, गृहमन्त्रीलाई अप्ठ्यारो पर्छ भनेर छानबिन अघि बढ्दैन । लोकतन्त्र मास्न खोज्नेहरू आफूअनुकूलको कानुन बनाउँछन् । न्यायपालिकाको स्वतन्त्रतालाई कुण्ठित पार्छन् । कार्यकारी अधिकार बलियो बनाउँछन् र मिडियामाथि अधिकार जमाउन खोज्छन् ।’
उनले आफूहरूले भिजिट भिसा प्रकरणको कुरा उठाउँदै गर्दा लिचीबारीदेखि कुलिङ पिरियडमाथि बदमासीसम्मको कुरा आउँदासमेत कारबाही नभएको भन्दै आपत्ति जनाए ।