Skip This
पीडितले बचत फिर्ता मागेर निवेदन दिएका थिए, राज्यले रविविरुद्धको जाहेरीकर्ता बनाइदियो
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 07 August, 2025
मुख्य समाचार प्रिन्ट संस्करण

पीडितले बचत फिर्ता मागेर निवेदन दिएका थिए, राज्यले रविविरुद्धको जाहेरीकर्ता बनाइदियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:४३:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध जाहेरी दिएको भनेर खडा गराइएका सुप्रिम सहकारीका बचतकर्ताहरूले सार्वजनिक रूपमै पटक–पटक भनेका छन्– हामीले रविविरुद्ध जाहेरी नै दिएका छैनौँ ।

बचतकर्ताहरू नारायण पहराई, पूजा न्यौपाने र गीता आचार्यलगायतले रविलाई थुनाउन नभएर आफ्नो बचत फिर्ताका लागि निवेदन दिएकोमा किर्ते गरिएको भन्दै आपत्ति जनाउँदै आएका छन् । न्यौपानेले आफ्नो नाम रविविरुद्ध उजुरीकर्ताको रूपमा प्रयोग गरिएकोमा फेसबुकबाटै आपत्ति जनाएकी थिइन् ।

‘मैले कुनै व्यक्तिविशेषलाई उजुरी दिएकी छैन । तर, रवि लामिछानेसहितलाई उजुरी दिएको भन्दै मेरो नाम उजुरीकर्ताको पहिलो नम्बरमै राखिएको रहेछ । मैले ढिला मात्रै थाहा पाएँ । कसैलाई उजुरी नै नदिएको मान्छेलाई उजुरीकर्ता बनाइरहँदा प्रहरीले एकपल्ट जानकारीसम्म दिएन,’ उनले लेखेकी थिइन् । बचत फिर्ता पाऊँ भनेर प्रहरीमा दिएको निवेदन र कागजातको दुरुपयोग भएको उनको गुनासो छ । पहराई र आचार्यले पनि फेसबुकमा लेखेका थिए ।

‘रवि लामिछानेविरुद्धको मुद्दामा नारायण पहराईसमेतको जाहेरीले वादी नेपाल सरकार भनेर जसरी हाइलाइट भयो, त्यो मलाई चित्त बुझेन । कुनै व्यक्तिलाई थुन्ने भन्ने सहकारीपीडितको उद्देश्य होइन, पैसा फिर्ता पाउनुपर्छ भन्ने हो । पैसा फिर्ता र मुख्य व्यक्तिहरू पक्राउमा चासो नदिएपछि मैले फेसबुकमार्फत वास्तविकता बाहिर ल्याएको हुँ,’ गत वैशाखमै पहराईले फेसबुकमार्फत असन्तुष्टि जनाएका थिए, ‘म कोही व्यक्तिलक्षित थिइनँ, छैन । मेरो व्यक्तिलक्षित नगरिएको उजुरीलाई देखाएर र त्यसैका आधारमा मुद्दा दर्ता गराएर केहीले स्वार्थ पूरा गर्न खोजेका हुन् भने म अहिले पनि उजुरी/मुद्दा फिर्ता लिन राजी छु ।’

त्यस्तै, गीता आचार्यले फसेको बचत फिर्ता पाइन्छ कि भनेर दिएको निवेदनलाई कुनै व्यक्तिविशेषलाई उजुरी हालेको रूपमा प्रस्तुत गरिएकोमा सामाजिक सञ्जालबाटै विरोध गरेकी थिइन् । ‘...कसैको नाम नै दिएर हालेको पनि होइन र मैले कुनै आधिकारिक ठाउँबाट कुनै जानकारीसमेत पाएकी छैन । तर, उजुरीकर्ताको नामलिस्टमा मेरो नाम कसरी जोडिन पुग्यो, कृपया जानकारी र निष्पक्ष छानबिनको माग गर्दछु,’ उनले महिनौँअघि नै लेखेकी थिइन् । तर, पीडितले सार्वजनिक गरेका यस्ता तथ्यलाई नजरअन्दाज गरिएको छ ।

रविको पक्षमा २५ लाखभन्दा बढी हस्ताक्षर 
रास्वपा सभापति रवि लामिछानेको पक्षमा २५ लाखभन्दा बढी हस्ताक्षर संकलन भएको छ । लामिछानेमाथि राज्यले प्रतिशोध साधेको भन्दै रास्वपाले ७ असारदेखि हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ । अभियान संयोजक दीपक बोहराका अनुसार बुधबारसम्म २५ लाखभन्दा बढी हस्ताक्षर संकलन भइसकेको छ । ‘वडादेखि टोलसम्म, देशदेखि विदेशसम्म हस्ताक्षर अभियान चलिरहेको छ । सभापतिको पक्षमा जनऐक्यबद्धता बढिरहेको छ । जनताले प्रतिशोध नै हो भनेर समर्थन जनाएका छन्,’ उनले भने ।