
सिराहाको नरहा गाउँपालिका–३, चोहर्वास्थित सिराहा पब्लिक स्कुलका संस्थापकले साँझको रिङमा (खाना खानुअघिको प्रार्थना गर्ने स्थान) नआएको भन्दै विद्यार्थीलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ। स्कुलका संस्थापक रामप्रकाश यादवले गत सोमबार साँझ ९ कक्षाका विद्यार्थीलाई निर्घात कुटपिट गरेका हुन्।
कुटपिटबाट घाँटीमा चोट लागेपछि १४ वर्षीय विद्यार्थी अतिनेशकुमार यादवको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ। उक्त स्कुलमा उनी आइतबार मात्रै भर्ना भएका थिए। उनी सिराहा नगरपालिका–२२, हकपाडाका रामवृक्ष यादवका छोरा हुन्।
विद्यालयकै होस्टेलमा बसेका यादवलाई सोमबार बेलुका रिङमा समयमा नआएको भन्दै संस्थापकले लाठी, जुत्ता, मुक्काले निर्घात कुटपिट गरेको बाबु रामवृक्ष यादवले बताए। ‘शौचालय गएकाले रिङमा आउन केही ढिला भएको रहेछ। तर, संस्थापक यादवले लाठी, जुत्ताले हानेपछि भुइँमा ढलेछ,’ उनले भने, ‘भुइँमा ढलेपछि पनि जुत्ताले घाँटीमा टेकेर शरीरका विभिन्न ठाउँमा अन्धाधुन्ध लाठी वर्षाएका रहेछन्।’
कुटपिटबाट बेहोस भएका अतिनेशलाई संस्थापक यादवले नै गोलबजार–१० बस्ने भिनाजु कैलाश यादवलाई बोलाएर आफैँ बेहोस भएको भन्दै जिम्मा लगाएको सुनाए। ‘बेहोस अवस्थामै तीनजनाले बोकेर चोहर्वास्थित निजी स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि राति १० बजेतिर थप उपचारको लागि सदरमुकाम सिराहास्थित प्रादेशिक अस्पताल पुर्याएपछि मात्र मलाई थाहा भयो। पढाइ राम्रो हुन्छ भनेर होस्टेल राखेको छोराको धन्न ज्यान लिएनछन्,’ उनले भने ।
आज एमआरआइको रिपोर्ट आएको र घाँटीको नसामा गम्भीर चोट लागेको भन्दै अस्पतालले १० दिनको औषधि दिएर डिस्चार्ज गरेको बुबा रामवृक्ष यादवले बताए। चिकित्सकले पछि शल्यक्रिया पनि गर्नुपर्ने हुन सक्ने बताएको उनको भनाइ छ।
उक्त घटनाको विषयमा प्रारम्भिक जाँचबुझ गरिएको भए पनि औपचारिक उजुरी नपरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक राजेशराज पुरीले कुटपिटबाट घाइते भई उपचाररत विद्यार्थीको अवस्थाबारे निरन्तर जानकारी लिइरहेको बताए। ‘तर उजुरी परेको छैन,’ उनले भने, ‘कुटपिटमा संलग्न भनिएका संस्थापनलाई बोलाएका छौँ, काम विशेषले सिराहाबाहिर छु भन्दै बिहीबारसम्म आएका छैनन्।’