मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २० मंगलबार
  • Tuesday, 05 August, 2025
२o८२ श्रावण २० मंगलबार २२:३६:oo
Read Time : > 2 मिनेट
समाचार

पोखरामा मजदुरी गरिरहेका खिलबहादुरलाई भारत पुर्‍याएर मिर्गौला तस्करी

तस्करले मिर्गौला झिकेर कलंकीको सडकपेटीमा छाडेर भागेको खिलबहादुरले पत्तै पाएनन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २० मंगलबार २२:३६:oo

सिन्धुली दुधौली नगरपालिका– १ का ३५ वर्षीय खिलबहादुर भुजेल पोखरामा ज्यामी काम गर्दै आइरहेको थिए । सडक निर्माणसम्बन्धी काम गर्ने उनलाई असार पहिलो साता एकजना व्यक्तिले लोभ देखाए । काम गर्दै आइरहेको सडकको इन्जिनियरको दाइ हुँ भन्दै एक व्यक्तिले भुजेललाई भारतमा आकर्षक काम र पैसा पाइने भन्दै प्रलोभनमा पारे ।

दिनभरि ज्यामी काम गरेर पनि गतिलो कमाइ नभइरहेको अवस्थामा राम्रो तलब र कामको प्रलोभनले भुजेल सजिलै लोभिए र भारत जान तयार भए । ‘म ज्यामी काम गरिरहेको थिएँ, इन्जिनियरको दाइ हो भनेर एकजनाले परिचय दिए, विश्वास गरेँ । काम लगाइदिन्छु भारत जाऊँ भनेपछि पत्याएँ, त्यसपछि असार पहिलो साता गाडीमा बसियो, समय दिउँसोको ४ बजेको हुँदो हो, मलाई एउटा कारमा बसालिएको थियो । पछि अर्को गाडीमा बस्ने भनियो । केहीबेरमा बेहोस पारिएछ, होस खुल्दा त अर्को दिन भारत पुगिसकेछु । त्यहाँ सबै हिन्दी भाषामा कुराकानी गर्थे,’ उनले सुनाए, ‘एक महिनासम्म त होटेलमा काम पनि गरेँ, तर चौथो तलाबाट तल झर्न दिएनन्, घर जान्छु भनेपछि फेरि बेहोस बनाए । त्यसपछि के–के भए थाहै पाइनँ । एकैपटक १५ साउन दिउँसो ४ बजेतिर मात्रै ब्युझिएँ । ब्युझिँदा त कलंकीको सडकपेटीमा पो रहेछु । त्यहाँबाट अन्य मानिसको सहयोग मागेर कपनस्थित आफन्तकहाँ पुगेँ, आफन्तको सहयोगमा गाउँ सिन्धुली आएँ ।’ 

उनले होसमा आउँदा पेटको एक भागमा हल्का दुखेपछि के भएको रहेछ भनेर छाम्दा टाँका लगाएको घाउ देखेको बताए । त्यो घाउ कसरी भयो भन्ने यादै छैन । कोखामा अपरेशन गरिएको झै लामो घाउ र टाँका लगाइएको थियो । यस्तो देखेपछि मिर्गौला चोरी भएको हुनसक्ने अनुमान गरेको उनले सुनाए । ‘सुरुमा केही चस्किएजस्तो भयो, तर छाम्दा ठुलै घाउ थियो । अझ घर आइपुगेपछि राम्ररी हेरे, घाउ दिन प्रतिदिन दुख्न थाल्यो, त्यसपछि नजिकको स्वास्थ्य चौकीमा गएँ । चिकित्सकले मिर्गौला झिकिएको रहेछ, त्यसैको घाउ हो भन्नुभयो,’ भुजेलले भने, ‘यस्तो कसरी भयो मलाई थाहा छैन, सम्झदा सपनाझै लाग्छ, भारत गएको एक महिना त काम लगाइदिएको थियो, त्यसपछि के–के भयो मैले होस पाइनँ ।’ उनी १७ साउनमा सिन्धुलीको समिट माउन्ट हस्पिटल प्रालिमा जाँच गराउन समेत पुगेका थिए । त्यहाँ पुग्दा अस्पतालले देब्रे मिर्गौला नभएको पुष्टि गरेको छ । उक्त कुरा चिकित्सकले बिरामी पुर्जामा समेत उल्लेख गरेका छन् । 

भुजेलले आफूलाई काम लगाइदिन्छु भनेर भारत लगेको व्यक्तिको ठेगाना सोध्दा इन्जिनियरको दाई हो भनेको र अन्य ठेगाना थाहा नभएको बताए । उनका अनुसार भारत गएपछि ती व्यक्तिलाई दैनिकजसो तीन–चारजना व्यक्तिले भेटिरहेका हुन्थे । उनीहरूले बढी निगरानी गर्थे । तर, भारतको कुन ठाउँ हो भनेर यकिन नभएको र पढ्न लेख्न नआउने भएकाले ठाउँको नाम समेत थाहा पाउन नसकेको भुजेलले बताए । ‘त्यहाँ सबै हिन्दी बोल्थे, ठाउँ हेर्दा भारत हो भन्नेमा पक्का भयो, एक महिनासम्म काम गरेँ तर घर आउँछु भन्ने वेलामा बेहोस बनाइयो, मलाई काम गरेको पैसा पनि दिएनन ।’

आफ्नो मिर्गौला निकालिएको विषयमा भुजेलले प्रहरीमा उजुरी दिएका छन् । दुधौलीस्थित प्रहरी कार्यालयले अनुसन्धान थालेको जनाएको छ । भुजेलकी भाउजु सरिता भुजेलका अनुसार शरीरमा ठूलो आलो घाउ देखेपछि वरपर हल्ला मच्चिएको थियो । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो । ‘देवरसँग सोध्दा उहाँले कसरी यस्तो भयो भन्ने बारे बताउन सक्नु भएन, उहाँलाई बेहोस पारेर मिर्गौला निकालिएको बारे थाहा नै रहेनछ,’ उनले सुनाइन्, ‘उहाँको मिर्गौला निकालिएको भागको घाउ सुन्निएको छ, शरीरको एक भाग दुखेको छ भन्नुहुन्छ छ, प्रहरीलाई पनि जानकारी गराइसकेका छौँ ।’

घटनाका बारेमा नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरले स्थानीय प्रहरीले समन्वय गरिरहेको र यसबारेमा थाहा नभएको बताए । ‘त्यस्तो भएको हो भने गम्भीर घटना हो, तर, यसबारेमा मलाई थाहा छैन, स्थानीय प्रहरीले समन्वय गरिरहेको होला,’ उनले भने ।