मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १८ आइतबार
  • Sunday, 03 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण १८ आइतबार o८:४४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काभ्रेपलाञ्चोकको भुम्लुका उपाध्यक्षलाई लागुऔषध मुद्दामा कैद सजाय भएको खुलासा

सर्वाेच्च अदालतले सात वर्षसम्म गरेन फैसला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण १८ आइतबार o८:४४:oo

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाका उपाध्यक्ष दावा लामा भनिने जितेन्द्रबहादुर तामाङलाई लागुऔषध मुद्दामा अदालतले दोषी ठहर गरी पाँच वर्ष कैद सजाय भएको खुलेको छ । सात वर्षअघि नै उच्च अदालतले उनलाई दोषी ठहर गरी सजाय सुनाएकोमा सर्वाेच्च अदालतबाट भने मुद्दा टुंगिन बाँकी छ । 

२ भदौ ०७१ मा लामालाई प्रहरीले काठमाडौंको जोरपाटीबाट १४.८ ग्राम खेरौ हेरोइनसहित पक्राउ गरेको थियो । जुन मुद्दामा उनले जिल्ला अदालतबाट सफाइ पाएकोमा उच्च अदालतले उनलाई पाँच वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला गरेको खुलेको छ । अदालतले दोषी ठहर गरेकै अवस्थामा उनी गाउँपालिका उपाध्यक्षमा कांग्रेसबाट उठेर जितेका हुन् ।

१६ असोज ०७५ मा उच्च अदालत, पाटनका न्यायाधीशद्वय नगेन्द्रकुमार सिवाकोटी र रामप्रसाद अधिकारीको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्टाउँदै दोषी ठहर गरेको थियो । उच्चको फैसलामा भनिएको छ, ‘प्रतिवादीमध्येका दावा लामा भन्ने जितेन्द्र तामाङका साथबाट लागुऔषध १४.८० ग्राम बरामद भएको कुरा बरामदी मुचुल्काबाट देखिएको र सो कुरालाई प्रतिवेदकले बकपत्रसमेत गरेको देखिएको अवस्थामा निज प्रतिवादीलाई आरोपित गरिएको लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा ४ खण्ड घ र च को कसुरमा ऐनको दफा १४(१)बमोजिम सजाय गर्नुपर्नेमा निजलाई अभियोग दाबीबाट सफाइ दिने गरी काठमाडौं जिल्ला अदालतबाट भएको ०७२/०८/२७ मा भएको फैसला सो हदसम्म मिलेको देखिन नआउँदा उक्त फैसला केही उल्टी भई प्रतिवादी दावा लामा भन्ने जितेन्द्र तामाङलाई अभियोग दाबीको कसुरमा लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४(१) र ६(१)बमोजिम पाँच वर्ष कैद र पाँच हजार जरिवाना हुने ठहर्छ ।’ उनीसँगै पक्राउ परेका प्रवीण खड्का र वीरेन्द्रबहादुर कुँवरसँग भने लागुऔषध बरामद नभएका आधारमा सफाइको फैसला भएको थियो । 

सो फैसलाउपर १९ चैत ०७५ मै सर्वाेच्च अदालतमा पुनरावेदन भएको थियो । सात वर्ष हुनलाग्दा पनि सर्वाेच्चले फैसला दिन सकेको छैन । गाउँपालिका उपाध्यक्ष तामाङ राजनीतिमा लाग्नुअघि गुन्डागर्दीलगायत विभिन्न अपराधमा पक्राउ परेका थिए । ०७१ म पनि गुन्डागर्दीको आरोपमा प्रहरीले पक्राउ गर्दा उनीसँग लागुऔषध भेटिएको थियो ।